स्थानीय निर्वाचनमा कांग्रेसको रणनीति

भुवन पोख्रेल
यतिखेर जनअपेक्षा पूरा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ । विपी प्रधानमन्त्रीमा निर्वाचित भएपछि १५ वर्षभित्र हरेक नेपालीलाई आफूजस्तै मध्यम वर्गीय परिवारमा रुपान्तरण गर्ने अठोटका साथ अघि बढेको इतिहास साक्षी छ । विपीको दीर्घकालीन सोच र अठोटलाई सार्थक बनाउन र लोकतान्त्रिक समाजवादलाई सार्थक बनाउन आजको कांग्रेसको भूमिका अपरिहार्य छ ।

नागरिक तहमा अझै पनि समस्या यथावत छन्, बेरोजगारी, असमानता र भेदभाव जस्ता समस्या ज्यूँका त्यू छन् । यस्ता विकराल समस्या समाधान गर्नका लागि पार्टीले दीर्घकालीन रणनीति र कार्ययोजना तर्जुमा गरी अघि बढ्नुपर्ने आवश्यकता छ । नेपाली कांग्रेसको चौधौ महाधिवेशनले नयाँ नेतृत्व मात्रै चयन नगरी पार्टीभित्र देशभरि युवा जोश, जाँगर, आशा र उत्साह जगायो । संविधान कार्यान्वयनको अभ्यासस्वरुप संघीय संरचना अनुसार बनेको पार्टी विधानअनुसार कांग्रेसले समावेशी समानुपातिक सिद्धान्तका आधारमा तल्लो तहदेखि केन्द्रीय तहसम्म नेतृत्व चयन ग¥यो ।

अब देशमा छिट्टै स्थानीय चुनाव हुँदैछ । स्थानीय निर्वाचनको मिति सरकारले बैशाख ३० गते तोकिसकेको छ । ती चुनावमा नेपाली कांग्रेसले नेपालका सामाजिक, आर्थिक रुपान्तरणको खाका र कार्यदिशा बोकेर जनतामाझ जानुपर्दछ । जनताको परीक्षाको घडीमा नेपाली कांग्रेस खरोरुपमा उत्रिनुपर्दछ । जनताले पार्टीहरुको परीक्षा लिइरहेका छन् । उक्त परीक्षामा नेपाली कांग्रेसले आफूलाई अब्बलरुपमा सावित गर्नुपर्ने चुनौतीको डिलमा पार्टी उभिएको छ । स्थानीय निर्वाचन पार्टीका लागि अवसर र चुनौतीको रुपमा खडा भएको छ । मुलुकको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वका लागि पार्टी एकढिक्का भएर जुट्नुपर्दछ ।

सर्वसत्तावादी र अधिनायकवादी सोचलाई भत्काउन, समावेशी लोकतन्त्रलाई सफल बनाउन नेपाली कांग्रेसले आफ्नो सशक्त भूमिका खेल्नुपर्छ । जिल्ला–जिल्लामा कांग्रेसलाई संगठित, क्रियाशील र जनमुखी बनाउन निर्वाचन कांग्रेसका लागि अवसर हो । समाज रुपान्तरणका लागि कांग्रेसका सबै एकजुट हुनुको विकल्प छैन । संविधान निर्माणको नेतृत्व लिएको पार्टीले यसको सफल कार्यान्वयन गर्ने पनि उत्तिकै भूमिका खेल्नुपर्दछ । संवैधानिक व्यवस्थाअनुसार मुलुकका तीनै तहका निर्वाचन पूरा गराउनुपर्छ । आवधिक निर्वाचन यथासमयमै गराएर जनतालाई लोकतन्त्रको अनुभूति दिलाउनुपर्छ ।

यी चुनावी अभियानहरुमा पार्टी कार्यकर्ता एकढिक्का भएर अग्रसर हुनुपर्छ । जनताको जनमत बटुलेर देशलाई उज्यालो बाटोतर्फ अघि बढाउने स्वर्णीम अवसर कांग्रेसले कदापि गुमाउनु हुँदैन । अघिल्लो निर्वाचनमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई भारी बहुमत दिएर जिताएका थिए । कम्युनिष्ट पार्टीहरु सरकारमा पुगेपछि जनमतलाई अपमान गरी संविधानलाई लत्याएर, प्रजातन्त्रलाई कुल्चेर अघि बढेकाले जनविश्वास गुमेको छ । जनताको आशा र भरोसा देशको सबैभन्दा जेठो, पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसतर्फ देखिएको छ । मुलुकलाई सही कार्यदिशातर्फ अघि बढाउनका लागि कांग्रेसको रणनीतिक भूमिका आवश्यक छ ।

पछिल्लो समय स्थानीय तहदेखि केन्द्रीय तहसम्म नेपाली कांग्रेसमा युवाहरुको लहर बढेको छ । यो युवाहरुको लहरलाई समात्न सक्नुपर्छ । नयाँ पुस्तालाई विपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका सम्बन्धमा प्रशिक्षण दिनु जरुरी छ । युवा पुस्ता प्रशिक्षित हुने मौका पाए भने नेपाली कांग्रेस जीवन्त बन्न सक्छ । युवाहरुको मन, मुटु र ढुकढुकीमा बस्ने पार्टी बन्न सक्छ । गौरवशाली इतिहास बोकेको देशकै ठूलो पुरानो पार्टी इतिहसका गाधा गाएर मात्र जीवन्त बन्न सक्दैन ।

आशलाग्दो भविष्य र समुन्नत वर्तमानले मात्र पार्टीलाई मूर्तरुपमा अघि बढाउन मद्दत गर्छ । अब कांग्रेसलाई युवाहरुले कमजोर बन्ने छुट दिने छैनन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धन बनेपछि कांग्रेसको शक्ति क्षीण भयो । संसद्मा प्रतिपक्ष छ कि छैनजस्तो परिस्थिति सिर्जना भयो । तत्कालीन प्रम केपी ओलीसँग प्रचण्ड र माधवकुमार नेपालको खटपट बढ्दै जाँदा संसद् दुई–दुईपटक विघटन हुन पुग्यो । सर्वोच्च अदालतले दुबै पटक संसद पुनःस्थापना गरी देउवालाई प्रममा सपथग्रहण गराउन आदेश दिएपछि ओली बालकोट फर्किन बाध्य भए । यो सरकार नेकपाको टुटफुटले निर्माण भएको हो ।

ओली सरकारले देशलाई संविधानको लिकबाहिर लैजान खोजेकाले कांग्रेसको नेतृत्वमा सरकार गठन हुने अवसर जुरेको हो । नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारले जनतालाई आशा, उत्साह र भरोसा जगाउन सक्यो भने आगामी निर्वाचनमा उसको परिणाम देख्न सकिन्छ । गठबन्धन सरकारबाट नागरिकले धेरै अपेक्षा गरेकै छैनन् । नागरिकले गरेको अपेक्षा भने संविधान र कानुनले कोरेको मूलमर्ममा हिँड्नु भन्ने मात्र हो । समयमा आवधिक निर्वाचन गरुन् भन्ने मात्र हो । सरकार स्थानीय निर्वाचनको मिति तोकेर लोकतन्त्रको सम्मान गरेको छ । संविधान र कानुनको मान राखेको छ ।

गठबन्धन सरकारले नागरिकको जिउधनको रक्षा गर्ने, सुशासन ल्याउने, भ्रष्टाचार न्यूनीकरण गर्ने, विकासका मूल फुटाउने, महामारीबाट जनतालाई जोगाउने, महंगी नियन्त्रण गर्ने, बेरोजगारी समस्या कम गर्नेजस्ता कार्यतर्फ अर्जुनदृष्टि पुराउन सक्यो भने आगामी निर्वाचनमा जनमत प्राप्त गर्न सक्छ । देशमा लोकतन्त्र आएर पनि नागरिकले लोकतन्त्रको अनुभूति गर्न नपाउँदा यी दलहरुप्रति जनताको आशा, उत्साह र भरोसा उड्दै गएको छ । नेपाली कांग्रेस अब जनतामाझ पुगेर आशाको सञ्चार गर्नुपर्ने देखिन्छ ।

सरकारले स्थानीइ तहको निर्वाचनको मिति तोकिसकेपछि विगत ५ बर्षदेखिको स्थानीय लोकतान्त्रिक अभ्यासले निरन्तरता पाउने आशा जागेको छ । घरदैलोको सरकारको शासनका सबल एवं दुर्बल पक्षका लेखाजोखा नागरिकले गर्ने छन् । असल काम गरेका दल वा जनप्रतिनिधिलाई पुरस्कृत र गलत नियतले शासन चलाउनेलाई दण्डित गर्ने अवसर मतदाताले प्राप्त गर्नेछन् । दिगो र जवाफदेही लोकतन्त्र स्वचालित र भरपर्दो हुन्छ किनभने स्थानीय सरकार लोकतन्त्रको जग हो । यो वा त्यो बहानामा यसलाई कुण्ठित गर्न पाइँदैन । स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त आवधिक निर्वाचन लोकतन्त्रको पूर्वशर्त हो ।

राजनीतिक दलहरुलाई चुनावी तयारीमा चुट्नुमात्र नभई आफ्नो राजनीतिक दलको उच्च छवि बनाउनु पनि थप चुनौती छ । आचारसंहिता पालन र स्वच्छ निर्वाचन गर्न दलहरुले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्छ । स्थानीय निर्वाचनबाट जनताले सुशासन, विकास र पूर्वाधार बन्न सकून भन्ने स्थानीय जनताको अपेक्षा । संविधानले तीन तहका संघीय, प्रदेश र स्थानीय तहको सरकारको परिकल्पना गरे पनि स्थानीय सरकार, संघीय सरकारको छायाँमा परेको छ । नागरिकको घर आँगनमा रहेको स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्र जनअपेक्षा र विकास निर्माणका कार्यले गति लिनसक्छ ।

निर्वाचनमा होमिँदा नेताहरुले जनतामाझ आश्वासनका पोका बाँड्ने र चुनाव जितिसकेपछि आफ्ना घोषणा बिर्सेर जनमतको अपमान गर्ने प्रवृत्ति बढेको छ । अब दलहरु जनताको परीक्षाको घडीमा छन् । जनताले जनप्रतिनिधि सकारात्मक र नकारात्मक भूमिका र कार्यहरुको मूल्यांकन गरी राम्रो काम गर्नेलाई फेरि अवसर दिने र नकारात्मक काम गर्नेलाई बहिष्कार गर्ने अवसर जुरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत भोगविलास र साधनस्रोतको दोहन गर्ने र जनताको इच्छा अकांक्षालाई कुल्चेको देखिएको छ ।

जनतालाई उनीहरुको अपेक्षाअनुसार स्थानीय जनप्रतिनिधिहरुले सन्तोषजनक काम नगरेका कारण कतिपय स्थानीय तहका जनप्रतिनिधिसँग जनता असन्तुष्ट छन् । हिजो खुट्टामा चप्पल लगाएर हिँड्ने जनप्रतिनिधिहरु स्थानीय जनतालाई करको दायरा बढाएर आफूहरु गाडी, मोटरसाइकल चढ्ने हैसियत बनाइसकेका छन् । स्थानीय जनप्रतिनिधिको निर्वाचनमा आफूले गरेका प्रतिबद्धता बिर्सने प्रवृत्तिका कारण स्थानीय तहका जनता रुष्ट छन् । स्थानीय सरकार ऐन कानुन र संविधान त नचली मनोमानी गर्ने स्थानीय तहकमा जनताले असल नेतृत्व छनोट गर्ने अवसर पाएका छन् ।

आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसपालि जनताले सुशासन कायम गर्न सक्ने र सक्षम जुझारु नेतृत्व चुन्नुपर्ने बेला आएको छ । लोकतन्त्रको चराको रुपमा क्रियाशील स्थानीय सरकारको उपदेयता धेरै कमजोरीको बाबजुद पनि समाजमा स्थापित भएको छ । तर मूल प्रश्न पाँच वर्षको यो स्थानीय सरकारको अनुभव के हो ? नीतिगत अप्ठ्यारा के–के हुन् ? व्यावहारिक अप्ठ्यारा के–के हुन् ? आदि विषयमा समीक्षा हुन जरुरी थियो । यस विषयमा बहस हुन जरुरी थियो ।

स्थानीय जनप्रतिनिधिहरुको कार्यको समीक्षा र मूल्यांकन आउँदै गरेको स्थानीय तहको निर्वाचनमा हुनेछ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस स्पष्ट खाका र मार्गनिर्देशन बोकेर जनतामाझ आउनुपर्छ । कांग्रेस कस्तो रणनीति लिएर अघि बढ्ने भन्ने विषयमा नेता र कार्यकर्ताबीच गम्भीर छलफल र बहस हुन जरुरी छ ।अहिले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले जनताको विश्वासको मत प्राप्त गरी आफूलाई अब्बल दर्जामा उतार्नु चुनौतीको सामना गर्नुपर्ने छ । स्थानीय चुनाव कांग्रेसका लागि चुनौतीमात्र नभई जनविश्वास जुटाउने गतिलो अवसर पनि जुटेको मान्नुपर्छ ।

जनतामाझ चुनावी रणनीतिको प्रष्ट खाका लिएर अघि बढ्न सक्ने हो भने कांग्रेसको जित सुनिश्चित छ । बाम गठबन्धनको सरकारले स्थानीय तहमा चुनाव जितिसकेपछि आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा नेताहरुसँग स्थानीय जनता असन्तुष्ट छन् । जनप्रतिनिधिप्रतिको जुन आशा र भरोसा उनीहरुले राखेका थिए त्यो टुटिसकेको छ । यस्तो जनताको निराशापूर्ण अवस्थामा जनताले आगामी ५ वर्षको स्थानीय सरकारको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा सम्पन पनि सक्छन् । जनतालाई विकल्पको रुपमा नेपाली कांग्रेस पनि हुनसक्छ ।

नेपाली कांग्रेस बामगठबन्धनको विकल्प होइन । निर्विकल्प तथा उत्तम विकल्प बन्ने अवसर आएको छ किनभने बाम गठबन्धन छिन्न–भिन्न बन्न पुगेको छ । पार्टीभित्रको अन्तरकलहका कारण यसको लाभ नेपाली कांग्रेसलाई मिल्छ भनेर कांग्रेस ढुक्क भएर बस्ने होइन । वास्तवमा जनताले कम्युनिष्टसँग रुष्ट भएर कांग्रेसलाई मत दिन्छन् भन्ने सोच राख्नु हुँदैन । कांग्रेस कार्यकर्ता र नेताहरुले जनताको अभिमतको रक्षा गर्ने जनआकांक्षाको सम्बोधन गर्ने, जनप्रतिनिधिहरुले जनतालाई सन्तुष्ट पार्ने, जनभावनाअनुकूलका काम गरेर राष्ट्रलाई समृद्धिको बाटोमा डोराउने ग¥यो भने नेपाली कांग्रेसले गुमाएको जनविश्वास बटुल्न सक्नेछ ।