स्थानीय निर्वाचन–२०७८ : स्थानीय तहमा राजनीतिक जोड–घटाउ सुरु

बालाराम खड्का
तुलसीपुर, २७ माघ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै स्थानीय तहको निर्वाचनको चुनावी सरगर्मी सुरु भएको छ । आगामी बैशाख ३० गते निर्वाचनको घोषणासँगै चुनावी सरगर्मी सुरु भएको हो ।

राजनीतिक दलहरुले निर्वाचनको जोड घटाउ पनि सुरु गरिसकेका छन् । निर्वाचनको मिति घोषणासँगै सबैतिर खुसीयाली पनि छायाँको छ । लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएको भन्दै अब आउने नयाँ जनप्रतिनिधिले फरक भिजन र मिसनका साथ विकास गर्न सक्छन् कि भन्नेमा जनताहरु रहेका छन् । आगामी ५ बर्षका लागि अब जनताको नयाँ म्यान्डेटबाट जनप्रतिनिधिहरु चुनिने भएपछि जनताहरु पनि उत्साही भएका छन् ।

जिल्लाका स्थानीय तहको अब हुने निर्वाचनका लागि कसले कुन दलबाट टिकट पाउने भन्ने बारे पनि बहस सुरु भएको छ । राजनीतिक दलका नेताहरु पनि त्यसको तयारीमा जुटेका छन् । विगतका चुनावहरुमा जनतालाई चुनावमा विकासका आश्वासनका पोका बाँड्ने तर व्यवहारमा त्यसलाई पूरा नगर्ने प्रवृति फेरि पनि नदोहोरियोस् भन्ने आम नागरिकको अपेक्षा छ ।

जनप्रतिनिधिहरुले ५ बर्षभित्र गरेका कामको पनि समीक्षा सुरु भएको छ । जनतालाई विकास समृद्धि र शान्ति दिन्छौं भनेर चुनावमा विभिन्न चुनावी एजेण्डाहरु बनाए पनि कतै पूरा भएका छन् भने कतै पूरा हुन सकेका छैनन् । यस विषयमा पनि सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक कार्यक्रममा जनताहरुले आलोचनासमेत पोख्ने गरेका छन् ।

स्थानीय तहले केही गौरवका योजनाहरु ल्याएर पूरा गरे पनि केही भने पूरा हुन नसक्दा जनतामा निराशा पनि छाएको छ । अब हुने निर्वाचनबाट सुशासन, विकास, पूर्वाधारका कामहरु अगाडि बढाउने तथा जनहितमा काम गर्ने नेतृत्व आवश्यक रहेको भन्दै अहिले चियापसल होस् वा चौतारामा स्थानीय निर्वाचनकै चर्चा हुने गरेको छ । जनताको अपेक्षा अनुरुप काम गर्ने जनप्रतिनिधि आवश्यक भएको नागरिकहरु बताउँछन् ।

हिजोका गलत कुराहरुलाई चिर्दै नयाँ सोच भएकाहरुलाई अब पार्टीले पनि टिकट दिनुपर्ने एक थरीएको बुझाई छ । ‘अब आउने चुनावमा भिजन र मिसन भएकालाई दलहरुले टिकट दिनुपर्र्छ, हामीले खोजेको विकास हो’, तुलसीपुर उपमहानगरपालिका–४ का स्थानीय रामबहादुर खड्काले भने । उनले विगतमा विभिन्न आश्वासनका पोकाहरु जनतालाई बाँढेर त्यो अहिले पूरा हुन नसकेको बताए ।

त्यस्तै जनतालाई विकास समृद्धि र शान्ति दिन्छौं भनेर चुनावमा विभिन्न चुनावी एजेण्डाहरु बनाए पनि सबैतिर बेथिति र विकास भद्रगोल भएको भन्दै अब त्यसलाई पूरा गर्ने जनप्रतिनिधिको खाँचो भएको स्थानीय जुद्धबीर नेपालीले बताए । ‘हामीले चाहेको समृद्धि र विकास हो, यहाँ त कसरी आफूले कमाउने भन्नेमा ध्यान छ, त्यो राम्रो होइन’, उनले भने ।

त्यस्तै संघीयतासँगै तीन तहको सरकार भए पनि केन्द्रकै मुख ताक्नुपर्ने भएकाले सोचेअनुरुप विकास हुन नसकेको जानकारहरु बताउँछन् । ‘विकास नभएको होइन भएको छ तर दिगो र जनतालाई प्रत्यक्ष लाभ हुने विकासको हामीहरुले आशा गरेका हौं त्यो हुन सकेको छैन अब आउने जनप्रतिनिधिहरुले त्यसतर्फ सोच्न जरुरी छ’, स्थानीय यमप्रकाश केसीले भने ।

त्यस्तै चुनाव आउने समयमा भोटकै लागि विकास सुरु भएको पनि एक थरीको भनाइ छ । ‘४ बर्षसम्म नभएको विकास अहिले सुरु भएको छ त्यो पनि चुनाव आउने बेला गाउँ–गाउँमा ग्राभेल सुरु भएको छ’, एकजना स्थानीयले भने । ४ बर्षसम्म कानमा तेल हालेकाहरु अहिले चुनाव आउने बेला जुर्मुराएको उनीहरु बताउँछन् । त्यस्तै जिल्लाका साना ठूला दलहरु पनि अब चुनावी तयारीमा जुटेका छन् ।

सरकारमा रहेको दलहरुदेखि प्रतिपक्षी दलहरुले चुनावकै तयारीमा विभिन्न टोल गाउँ कमिटी गठन गरिरहेको छन् भने चुनावी रणनीति पनि अब तयारी गर्ने तरखरमा रहेका छन् । यसअघि निर्वाचित केही जनप्रतिनिधिहरु फेरि पनि चुनाव लड्ने तयारी छन् भने केही विश्राम लिनेमा छन् । आफूहरुले सुरु गरेका विकास निर्माणदेखि अन्य योजनाहरु पूरा गर्न पनि आफूहरु आउन आवश्यक ठानेको उनीहरु बताउँछन् । ‘हामीले केही योजनाहरु सुरु गरेका छौं, त्यसलाई पनि पूरा गर्न पनि फेरि हाम्रो आवश्यकता छ’, एकजना जनप्रतिनिधिले भने ।

गत निर्वाचनमा धेरैजसो स्थानमा विजय हासिल गरेको ठूलो दल नेकपा एमालेले फेरि पनि चुनाव आफ्नो पक्षमा पार्ने जिल्लामा तयारी गरेको छ भने सरकारका रहेको अर्को ठूलो दल नेपाली कांग्रेस पनि पहिलेको निर्वाचनमा आफ्नो सिट गुमाएको स्थानमा चुनाव यसपाली आफ्नो पक्षमा पार्ने तयारीमा लागेको छ । औपचारिकरुपमा दलहरु चुनावको तयारी सुरु नगरे पनि निर्वाचनको मिति घोषणासँगै आफ्नो तयारी भने गरेका छन् ।