मेरो खुशी : छोरी नै मेरो पहिलो खुसी…

जीवनका उकाली–ओरालीहरुमा मेरा जीवनमा दुःख र सुखका खासै अनुभव त भएनन् तर जीवन संघर्षमा केही खुसीहरु भने मैले संगालेको छु । मेरो पहिलो खुसी पहिलो सन्तान छोरी नै हो । साविक तुलसीपुर–४ हाल तुलसीपुर–७ पातु निवासी लक्ष्मण केसीले भने ।

मिजालीला कर्मशील तथा सबैका मनमा बस्न सफल केसीले आफ्नो पहिलो खुसी घरमा लक्ष्मीको रुपमा छोरी जन्मदा लागेको सुनाए । वि.सं. २०६१ सालमा पहिलो सन्तानको रुपमा छोरी जन्मदा आफू जीवनमा पहिलो खुसी प्राप्त भएको सुनाए । ‘नेपालगञ्ज अस्पतालमा मेरो छोरीको जन्म भएको थियो, त्यो दिन म धेरै खुसी भएको थिए, मैले त्यो खुसी त्यही अस्पतालमा साटे मेरो पहिलो खुसी मेरो छोरी हो, त्यही लेखिदिनुहोला’, केसीले भने । उनले छोरी जन्मिएपछि त्यहाँका स्वास्थ्यकर्मीहरुलाई खुसीयालीमा लड्डु बाँडेको पनि सम्झिए ।

राजनीतिज्ञ, समाजसेवी तथा हाल तुलसीपुर खानेपानीका सदस्यसमेत रहेका केसीले दोस्रो खुुसी साविक तुलसीपुर–४ को वडा नागरिक मञ्चको संयोजक हुँदा लागेको सुनाए । त्यतिबेला जनप्रतिनिधिहरुविहीन भएको अवस्थामा जनप्रतिनिधिको रुपमा वडामा हुने हेरक विकास निर्माणमा अग्रसर हुन पाउँदा र गाउँ टोलमा हुने साना–ठूला विकास निर्माणमा आफूले महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको सुनाए ।

उनले सानो–तिनो बजेटमा वडामा जनसहभागिताका उल्लेखनीय काम गरेको सम्झिए । ‘त्यतिबेला हामीहरु सबै मिलेर गाउँमा बाटो–घाटोदेखि पुलपुलेसा समेत बनाएका थियौ, अहिले पनि धेरैले त्यतिबेला खेलेको भूमिकाको प्रशंसा समेत गर्नुहुन्छ म त्यसमै खुसी छु’ उनले भने । केसीले वडामा समान विकास गरेको भन्दै वडावासीले सम्मान गर्दा अर्को खुसी मिलेको सुनाए । ‘हामीले वडालाई खुल्ला दिसामुक्त अभियान होस् वा बालविवाह, बालश्रममुक्तदेखि सानातिना विकासका लागि खेलेको भूमिकाको जनताले मूल्यांकन गरी मलाई फुलमाला लगाएर सम्मान गर्नुभएको थियो, त्यो दिन म निकै खुुसी भएको थिए’, केसीले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ ‘क’ को प्रदेश अध्यक्षसमेत रहेका केसीले अर्को खुसी वि.सं. २०६८ सालमा राप्रपाको जिल्ला सदस्यमा नसोचेको मत ल्याएर विजय प्राप्त गर्दा लागेको सुनाए । राप्रपाको जिल्ला अधिवेशन घोराहीमा भएको र आफूले पनि जिल्ला सदस्यमा उम्मेदवारी दिएर अत्यधिक मतले विजय हुँदा खुसी लागेको सुनाए । ‘मेरो उम्मेदवारी दिने तयारी कुनै थिएन, घोराहीमा जिल्ला अधिवेशन थियो, त्यहीँ गएको बेला मैले पनि जिल्ला सदस्यमा लड्ने निर्णय गरेँ तयारीविना नै निर्वाचनमा होमिँदा नसोचेको मत लिएर विजय भए, म त्यस दिन पनि निकै खुसी भएको थिए’, केसीेले भने ।

वि.सं. २०४७ मा मावि तुलसीपुरको राप्रपा विद्यार्थी इकाई कमिटीको अध्यक्ष हुँदै विद्यार्थीको हकहितका लागि काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । केसीले पाँचौं खुसी चुनौतीका बीच पनि तुलसीपुर खानेपानीको निर्वाचनमा अत्यधिक मतले तुलसीपुर खानेपानी सरसफाई उपभोक्ता समितिको सदस्यमा चुनाव जित्दा लागेको सुनाए । तुलसीपुर खानेपानीमा मलाई पार्टीले नेतृत्व गर्न पठाएको थियो, म सदस्यमा निर्वाचन लड्ने भएपछि चुनाव के हुने भन्नेमा चिन्ता थियो तर तुलसीपुरवासीले प्रदान गरेको अत्यधिक मतले म विजय भए त्यसदिन पनि निकै खुसी लागेको थियो’, केसीले भने ।

त्यस्तै खुसी सँगसँगै खानेपानीमा निकै चुनौती पनि भएको भन्दै अत्यधिक चिन्ता पनि लाग्ने गरेको सुनाए । ‘एकातिर खानेपानीमा निर्वाचित हुँदा खुसी छु, अर्कोतिर चिन्ता पनि छ कतै हामीहरु पनि असफल हुन्छौँ कि भनेर’, केसीले भने । उनले उपभोक्ताले दिएको मतलाई मध्यनजर गरी खानेपानीलाई नमुनायोग्य बनाउन आफ्नो भूमिका हुने बताए । त्यस्तै सञ्चार क्षेत्रमा पनि काम गरेका केसीले चार बर्ष रुपरेखा साप्ताहिक, नेपालीपत्र, गोर्खा एक्सप्रेस र सिमारेखा साप्ताहिक मा पत्रकारिता काम गरेको भन्दै जनतालाई सुसूचित गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।

‘त्यो बेला अहिलेजस्तो सञ्चारको विकास भएको थिएन विभिन्न कठिनाइँका बीच पनि मैले पत्रकारिता गरेर जनतालाई सुसूचित गर्ने अवसर मिल्यो त्यो पनि मेरो लागि जीवनमा अर्को खुसी थियो । पत्रकारिता पनि उनले विभिन्न व्यवसाय गरेको र २०५७ सालदेखि यातायात व्यवसायी भएर यस क्षेत्रमा यातायातको विकासमा काम गर्न पाउँदा पनि खुसी मिलेको सुनाए । वि.सं. २०५७ सालदेखि तुलसीपुर टेक्सी तथा मिनीमाइक्रो व्यवसायी समितिको कोषाध्यक्षमा रहेर काम गरेको र दूरदराजमा यातायात नपुगेको स्थानमा यातायात सञ्चालन गरेकोमा पनि खुसी व्यक्त गरे ।

त्योसँगै गल्ला तथा रसायनिक मलको व्यापार लामो समय गरेको भन्दै जनतालाई व्यापारसँगै सेवा गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै हाल तेलमिल सञ्चालन गरेको भन्दै व्यापार व्यवसायसँगै सामाजिक सेवा र दुःखी गरिबको सेवा गर्न पाउँदा पनि खुसी मिलेको सुनाए । उनले बुवाको स्मृतिमा प्रावि डाँडापातुमा अध्ययनरत छात्रछात्रालाई हरेक वर्ष न्यानो कपडा सुईटर वितरण र मावि रक्षाचौरमा ११ बढी नम्बर ल्याउने १ जना छात्र र १ जना छात्रालाई हरेक बर्ष नगद छात्रवृत्ति प्रदान गर्न पाउँदा पनि निकै खुसी मिलेको सुनाए ।

‘विद्यार्थीदेखि गाउँघरमा छरछिमेकमा हुने विभिन्न सामाजिक कार्यका साथै अन्य सहयोग गर्न पाउँदा म निकै खुसी छु’ उनले भने । समाजमा तथा कुनै पनि ठाउँमा सामाजिक काम गर्दा राजनीतिको गन्ध आउने काम नगरेको र आफूले गरेका हरेक कामले अरुलाई सन्तुष्टि मिल्ने गरेको भन्दै केसीले आफू खुसी हुने गरेको सुनाए । उमेरले ५० पुगेका केसीले परिवारमा श्रीमती, दुई छोरीहरुले आफू सामाजिक काममा लाग्दा सधै सहयोग गर्ने गरेको भन्दै पारिवारिक खुसी पनि आफूलाई मिलेको सुनाए । ‘राजनीति तथा समाजसेवामा लाग्दा मैले सबैको साथ र सहयोग पाएको छु, म त्यसैमा खुसी छु’, केसीले भने ।
प्रस्तुती : बालाराम खड्का