नारायणप्रसाद श्रेष्ठ
भर्खरै केही समयअघि सहिद सप्ताहको नाममा हामीले सहिदहरुको त्याग, बलिदान र उनको अदम्य सहासको कदर गर्दै उनीहरुको सालिकमा माल्र्यापण गरी मनायौं । सहिद हाम्रा आदर्श हुन् । उनीहरुले देखाएको बाटोमा लागी राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो भनी हामीले सहिदप्रति सम्मान जाहेर ग¥यौं ।
सहिदले लेखेको इतिहासलाई स्मरण गर्दै उनीहरुले देखाएको वीरता र सहासी कदमको खुलेर प्रशंसा ग¥यौं । नेपाल र नेपालीको अस्तित्वप्रति सहिदले गरेको त्यागको बारे एकअर्काप्रति विचारको सम्प्रेषण ग¥यौं, गरायौं । शान्तिपूर्ण राजनीतिक आन्दोलनले ल्याएको राष्ट्रिय स्वाधिनता र स्वाभिमानको इतिहासलाई सम्झँदै नयाँ सन्ततिलाई जानकारी गर्ने र गराउने कार्यसमेत ग¥यौं, गरायौं । हामी नै राष्ट्रिय स्वाधिनताको संरक्षक हौं र हामीबाटै राष्ट्रिय जागरण बढाई स्वतन्त्र र सार्वभौम राष्ट्रिय परिवेश निर्माण गर्न सक्छौं भनी सहिदप्रति श्रद्धासुमन अर्पण ग¥यौं । विचार आदान–प्रदान ग¥यौं ।
नेपाल र नेपालीको अस्तित्व र पहिचान नेपालीको विश्वास र आचरणमा अडिएको कुरा सबैलाई जानकारी गराउन यस अवस्थामा खोजियो । झिकी कटक गर्नु, जाई कटक नगर्नू भन्ने आदर्शलाई आत्मसात गर्दै सत्य र विश्वास नै राष्ट्रिय जागरण ल्याउने उत्तम विकल्प भनी सहिद सप्ताह मनायौं । यसरी सहिद सप्ताह मनाउँदा सहिदको सपना पूरा गर्न हामी कति लागिपरेका छौं ? सहिदले देखाएको बाटोमा के हाम्रो मानसिकता पुगेको छ ? के हामीले हाम्रो स्वतन्त्र अस्तित्वलाई स्वीकारी हाम्रा भावनाहरु मुखरित गरेकै हौं ? ऐतिहासिक सत्यलाई केलाएर के सहिदको बलिदानीपूर्ण कार्यलाई आत्मसात् गर्न सक्षम भएका छौं ? यी प्रश्नहरु अनुत्तरित छन् ।
शान्त र आदर्श समाजमा हुर्कन चाहने नेपालीको आकांक्षा उसको चारित्रिक प्रदर्शनले देखाइसकेको छ । म मरे केही हुँदैन, राष्ट्र बाँचिरहोस् भन्ने सहिदको सपना आदर्श गतिमा उन्मुख भएको कुरा छिपेको छैन । जबसम्म नेपाल र नेपालीको अस्तित्व उचो रहन्छ तबसम्म नेपालीको शिर ठाडो भइरहन्छ । यही सत्यलाई आत्मसात् गर्दै परापूर्वकालदेखि संयम र धैर्य गरी राष्ट्रिय स्वाधिनताका लागि लागिपरेको नेपालीको वीरतापूर्ण इतिहास विश्वसामु वर्तमान समयसम्म त्यत्तिकै सम्मानित भएर रहेको छ । आफ्नो अस्तित्वको पहिचानसँगै कर्तव्यनिष्ठ नेपाली सहास र वीरताको इतिहास नेपाली पहिचान भएर आइरहेको छ ।
अनुशासन र कर्तव्यनिष्ठ आचरणबाट नै चारित्रिक विचारहरु प्रवाह भइरहेको नेपालको गौरवमय इतिहास नेपालीको अनुशासित जीवनशैली बनिसकेको छ । राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार भई बफादार नेपाली आचरणको अतुलनीय उदाहरण बनेर प्रस्तुत भएको छ । विगतदेखि वर्तमान समयसम्मलाई हेर्ने हो भने नेपाली कहिल्यै कोहीबाट झुक्नु नपरेको इतिहास अविछिन्न प्रस्तुत भइरहेको छ ।
विश्व समाजले नेपाली वीरता र सहासको खुलेर स्वागत गरिरहेका छन् । नेपाल स्वतन्त्र र अविभाज्य भूपरिवेष्ठित राज्य हो र सगरमाथा यहाँको चिनारी हो भनी विश्वमानचित्रमा नेपालको गरिमामय इतिहास कोरिएको छ । स्वाभिमानी वीर नेपाली गाथाको खुलेर प्रशंसा गरेको इतिहास विश्वसामु छ । यसरी राष्ट्रिय स्वाधिनताका लागि मरिमेट्ने नेपाली पहिचानको चिनारी भएको इतिहास हुँदाहुँदै पनि वर्तमानमा आएर नेतृत्वको अहंवादी चिन्तन र स्वार्थपरक राजनीतिक स्वार्थले नेपाली पहिचान कमजोर हुँदै गएको छ ।
२०६२।०६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय राजनीतिमा तथा विकासका पहलुमा जुन किसिमका अपेक्षा नेपाली जनमानसमा आएको थियो, राष्ट्रिय स्वतन्त्रताका लागि नेपालीले जे–जति सहास र धैर्यता देखाएका थिए त्यो वर्तमानमा आएर कुण्ठित हुन पुगेको छ । राजनीतिक स्वतन्त्रता मात्र नै सबै हो भन्ने राजनीतिक संकुचित विचारले जसरी राष्ट्रिय चिन्तन वर्तमानमा प्रवाह भइरहेको छ, त्यसले ल्याउने परिणाम निकै टिठलाग्दो भएर देखापर्ने अवस्था छ । राज्य सञ्चालन विधि केवल राजनीतिकमात्र होइन, यसमा अरु निकायको पनि त्यत्तिकै जिम्मेवारी हुन्छ भन्ने राजनीतिक चिन्तन कमजोर भएको छ । केवल जोर–घटाउको राजनीतिकले विकासका संरचनाहरु दिनप्रतिदिन टिठलाग्दो अवस्थामा छ ।
राज्य औद्योगिक क्रान्तिमा होइन, वर्ग स्वार्थभित्रको राजनीतिक वृत्तमा अलमलिएको छ । व्यापार, व्यवसाय ऋणात्मक रहेको छ । राष्ट्रको आर्थिक अवस्था वैदेशिक सहयोग र रमिटान्समा भर परेको छ । राष्ट्रिय चिन्तनमा रोजगारीप्रतिको सोच केवल विदेशी भूमिमा पसिना बगाउन उत्प्रेरित गर्ने खालको देखिन्छ । स्वदेशमै रोजगारीको अवस्था बढाउने सोच केवल कागजी पानाभित्र सीमित रहन पुगेको छ । प्रशासनिक संयन्त्रसमेत राजनीतिको छायाँ बनेर जताजता नेता उतैउतै बगिरहेको छ । सुशासन तथा विकासका पूर्वाधार राजनीतिको गोटीचालभित्र सञ्चालन भइरहेको छ ।
प्रशासक केवल नेताको चाकडी र चाप्लुसीमै रमाउन थालेको अवस्था देखिन्छ । जागिर बचाउने धुन र क्षणिक स्वार्थ लिने दाउमा कतिपय प्रशासकको बुद्धि–विवेकसमेत गौण बनेको छ । प्रतिस्पर्धाको माध्यमबाट आफूलाई अब्बल बनाउन सक्षम प्रशासक पनि नेताको पिछलग्गु भएर नेता जे भन्छन्, त्यतैतिर दौडिएको देखिन्छ । नीति–निर्माणसमेत राजनीतिको छायाँभित्र गुम्सिन पुगेको छ । सरकार जनताद्वारा, जनताका लागि, जनताबाट नै शासित हुनुपर्छ भन्ने मान्यताअनुसार जिम्मेवारी बोकेको नेताको नेतृत्व हुनुपर्ने त्यस्तो अवस्था देखिँदैन ।
व्यवस्था साधन हो साध्य होइन भन्ने थाहा हुँदाहुँदै पनि नेताको रवैया, व्यवस्थालाई स्वार्थपूर्ति गर्ने भ¥याङको रुपमा प्रयोग गरेको देखिँदैछ । व्यवस्थालाई साध्य बनाउन नेतृत्वको राजनीतिक चरित्र असल र निष्ठावान् हुनुपर्नेमा त्यसो नभइरहेको स्थिति छ । राजनीतिक स्वरुप बदलियो तर नेताको सोच र चिन्तन केवल कमाउ, खाऊ, मोज गर भन्दै अगाडि बढेको अवस्था छ । संघीय, प्रादेशिक र पालिकाले पु¥याउनुपर्ने सेवा कागजमा सीमित हुन पुगेको अवस्था देखिँदैछ । उपल्लो नेताको टिका थाप्ने परम्पराले इमानदार कार्यकर्ताको विचार गुम्सिन पुगेको छ ।
जनताको घरदैलोमा सिंहदरबार पु¥याउने उद्देश्य केवल कागजभित्र सीमित छ । नत नीति राम्रो बन्न सक्यो, नत राज्य आत्मनिर्भर रहने दिशातर्फ अघि बढ्ने सोच विकसित हुन सक्यो । स्वार्थकेन्द्रित राजनीतिका कारण परिस्थितिले अर्कै मोड लिएको छ । त्यस्तो अवस्थामा सहिदको बलिदानीपूर्ण इतिहास कसरी साकार हुने हो निकै गम्भीर विषय सिर्जना भएको छ ।
अहिले राजनीतिक चिन्तनबाट विरक्तिएका तथा रोजगारी एवं औद्योगिक अवस्था कमजोर हुँदै गएको परिस्थितिले युवा जनशक्ति स्वदेशमा रहन–बस्न नसकिरहेको अवस्था छ । दुई छाक खान र एकजोर लगाउनकै लागि दैनिक हजारौं नेपाली विदेशिन बाध्य हुन पुगेका छन् । के यै हो नेपाली राजनीतिमा सहिदले देखेको सपना ? दिनहुँ समाचारमा रोग, भोकले छटपटिएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुको दैनिकी कहानी कारुणिक हुँदै गरेको विभिन्न सञ्चार माध्यमबाट प्रशासन भइरहेको छ ।
खानकै लागि ज्यानमा हत्केलामा राखी जोखिमपूर्ण कार्य गर्न नेपाली बाध्य भइरहेको अवस्था छ । के यही हो परिवर्तन ? परिवर्तन केवल नेताको अरौटे–भरौटेलाई मालामाल बनाउन भएको हो त ? विदेशीको इशारामा राष्ट्रिय स्वाभिमानलाई बेच्न पनि पछि नपर्ने नेताको नीति नै के राज्यनीति हो ? तसर्थ समय अझै घर्किसकेको छैन । आशाको दियोमा अझै तेल सकिएको छैन । यस अवस्थामा नेताको घैंटोमा घाम लाग्न जरुरी छ ।
जुन तत्वबाट नेपाली राजनीति परिचालन हुने अवस्था देखिएको छ, त्यसलाई पहिचान गर्न नेता स्वयं जुर्मुराउन परेको छ । नेता भनेका जनताका आशाका केन्द्र हुन्, उनीहरु नै भ्रष्ट र चरित्रहीन भए राष्ट्र कसरी अघि बढ्न सक्ला ? स्वाभिमानी नेपालीको इमानदारीपनको हविगति के होला ? सहिदले देखेको सपना के होला ? त्यसैले वर्तमान समयमा नेताले सुझबुझपूर्ण राजनीतिक चरित्र प्रदर्शन गर्ने समय आएको छ । कोही मरेर सहिद भए भने कोही राष्ट्रिय राजनीति र सार्वभौम स्वतन्त्र राष्ट्रका लागि जिउँदो सहिद बन्न समयले अवसर दिइरहेको छ । यसलाई नेतृत्वले सफल गराउनुपरेको छ । यसले नै हामीलाई हाम्रो भविष्य निर्धारण गर्दछ ।