खेमराज रिजाल
छिल्लीकोट(दाङ), २१ माघ । हामी सामुदायिक होमस्टे ग्राम युनिट नं. २ मा प्रवेश ग¥यौं । त्यहाँ होमस्टेको सचिवालय पनि रहेछ । सञ्चालक परबीर पुन । पत्रकार राकेश, निराजन, दीपक र म त्यहाँ प्रवेश गरिरहँदा बाँसले बारेको भान्सामा कोदो र मकै पाक्दै थियो ठूलो डेक्चीमा, सायद पाहुनालाई सत्कार गर्ने कोदोको झोल तयार पार्न ।
बाटुलो आँगनमा चारवटा प्लाष्टिकका कुर्सीहरु थिए । सञ्चालक परबीर पुन हाम्रो प्रतिक्षामा थिए, सायद साथी राकेशले पहिल्यै जानकारी गराएका रहेछन् । खाना खाइवरी गोबरले पोतेको भान्सामा एक कुंडे दूधबाहेक केही तयारी खाजा÷खाना थिएन । भान्साको पालीमा एउटा मादल झुण्ड्याइएको थियो, मादलकै तुनामा मुरली । कोठामा थिए खैचडी, घरबुनाका मगर संस्कृतिका पहिरनहरु सजाइएका । छमछम गर्ने पाउजु अनि मगर नृत्यका बेला लगाइने अन्य सामग्रीहरु पनि ।
‘भर्खरै चल्न सुरुमात्रै गरेका थियौं, कोरोनाले फेरि भताभुंग बनायो, होमस्टेका गतिविधिहरुलाई, आशा छ कोरोना मत्थर भएपछि होमस्टेलाई फेरि दौडाउने छौं बेगको गतिमा’, छिल्लीकोट सामुदायिक होमस्टे ग्राम युनिट नं. २ का सञ्चालक पुनले भने । पुनकै अनुसार स्थानीय सरकारसँगको सहकार्य र केही दातृ निकायको सहयोगमा उनीहरुले छिल्लीकोटमा होमस्टे सञ्चालनमा ल्याएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले पाहुनाहरुका लागि सुत्ने बिछौना र बाद्यवादनका सामग्रीहरु सहयोग गरेको छ । कारितास नेपालले पनि अन्य केही सहयोग गरेपछि छिल्लीकोटबासी होमस्टे सञ्चालनमा हौसिएका हुन् ।
महंगो छैन, छिल्लीकोट तुलसीपुर र घोराहीका होटल लजजस्तो । घरमा आउने आफन्तलाई जस्तै सेवा दिन्छन् उनीहरुले पाहुनालाई पनि । स्थानीय उत्पादनकै स्वाद छिल्लीकोट होमस्टे ग्रामको विशेषता हो । कोदोको ढिडो, सिस्नुको तरकारी टिमुर र मालागेडीको मसलाको स्वादमा, नास्तामा फापर वा मकैको रोटी, लोकल कुखुराको मासु, अनि पाहुनाको माग भए स्थानीय रैथाने खसीबोकाको मासुको स्वाद पनि ।
सादा खानाको दाम प्रतिव्यक्ति १ सय २० रुपैयाँ, मासु खानाको प्रतिव्यक्ति प्रतिछाक ३ सय रुपैयाँ उनीहरुले तोकेका छन् । घरपालुका झोलको मूल्य भने उनीहरुले बताएनन्, त्यो त आवश्यकता अनुसार हुने मात्रै भने परबीरले । उनीहरुले पाहुनालाई एक रात सुत्न दिएको चार्ज प्रतिव्यक्ति १ सय रुपैयाँ लिने गरेको बताए ।
सामान्य कुराकानीपछि हामी छिल्लीकोट सामुदायिक होमस्टे युनिट नं. १ मा झ¥यौं, केही ओरालोमा । मंगलवार दिनभर छिल्लीकोटमा घाम लागेको थिएन, उनीहरुले त्यसलाई दाङबाट उडेर आएको हुस्सु भन्दा रहेछन् । मौसम चिसो छ । आँगनकै अंगेनोमा सल्लाका दाउरा बलिरहेका छन् ।
होमस्टे सञ्चालक जीवराज रेउलेलाई पिक्निक स्पट निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाएका रहेछन्, गाउँलेहरुले । अचेल रेउले त्यसैमा व्यस्त हुँदारहेछन् । हामी पुगेको केहीबेरमै कामबाट फर्के रेउले । गाइको दही, कोदोको झोल र लोकल अण्डाले स्वागत गरे । किनकि कोरोना बढेसँगै अरु थोकको व्यवस्था रहेनछ होमस्टेमा । पाहुना पनि त्यहाँ जान छाडेका रहेछन्, गाउँलेले नै आग्रह गरेपछि ।
‘जुनबेला होमस्टे राम्रोसँग चलिरहेको थियो, पहिलो महिनामै मैले खर्च कटाएर २७ हजार नाफा कमाएको थिएँ’, होमस्टे सञ्चालक रेउलेले पत्रकारहरुलाई उत्साहित हुँदै भने । आँगनभरी विभिन्न प्रजातिका लोकल कुखुराहरुले चारो खोजिरहेका थिए । रेउलेले होमस्टे सुरु भएको पहिलो महिनामै २५ हजार लगानी गरी जम्मा ५७ हजार कमाएका थिए । उनको होमस्टेमा एक रात बिताउनका लागि बढीमा ८ जना अटाउने ठाउँ छ ।
दिउँसो आउने र फर्कनेलाई उनीहरुले होमस्टेका पाहुनाभन्दा रहेनछन् । उनीहरुले एकछाक होमस्टेमा खानपान गरे पनि भ्रमणकर्ता मात्रै बन्दारहेछन् त्यस्ता पाहुना । रेउलेको घरको आँगनमै क्याम्प–फायर पनि हुन्छ रे चिसो मौसममा । पाहुनाको चाहनाअनुसार क्याम्प फायर पनि चलाउने गरेको रेउलेले बताए । ‘एक÷दुई जना अम्रिकन पाहुना तथा पोखराको डाँडाघरे वाइन कम्पनीका ७ जना पाहुना पनि मेरोमा एक रात बसेर गएका हुन्’, रेउलेले भने– ‘अरु पाहुना त धेरैजसो दाङ जिल्लाकै ।’
रेउले र पुनजस्तै गाउँभरी ८ वटा सामुदायिक होमस्टे दर्ता भैसकेका रहेछन् । सबै होमस्टेमा खानपान, बसोबास र मनोरञ्जनको शुल्क समान तोकिएको रहेछ । छिल्लीकोट आउने पाहुनाहरुलाई पालैपालो सबै होमस्टेमा बाँडिने रहेछ ।
कसैले बढी र कसैले पाहुना पाउँदै नपाउने अवस्था भने रहेनछ । ‘यहाँ कम्तीमा एक रात बस्न आउने पाहुनाको हरेक दिन रेकर्ड राख्ने गरेका छौं, सबै होमस्टेलाई आलोपालो पाहुना राख्न व्यवस्थापन हुन्छ’, होमस्टे सञ्चालन सचिवालयका संयोजक परबीर पुनले भने । उनीहरुले पाहुनालाई कसरी सत्कार गर्ने ? के–कस्ता सेवाहरु पाहुनाले खोजिरहेका हुन्छन् भन्ने सिक्न नेपालका विभिन्न होमस्टेहरुको पनि अवलोकन गरिसकेको बताए ।
त्यसैका आधारमा छिल्लीकोटमा विशेषगरी अर्गानिक स्थानीय उत्पादनको स्वाद र मगर संस्कृतिको मनोरञ्जन पाहुनालाई उपलव्ध गराउँदै आएको अर्का होमस्टे सञ्चालक पूर्ण पुनले बताए । एक रात बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले छिल्लीकोटमा दुर्लभ बनस्पति मालागेडीको वन, मालिका–कालिकाको मन्दिर, ऐतिहासीक छिल्लीकोट दरवार, यहाँको पुरातात्विक धार्मिक इतिहास, छिल्लीकोट राज्यको ऐतिहासिक पृष्ठभूमि, सयौं चराचुरुंगीहरुको प्राकृतिक मनोरम गुञ्जनलगायत विभिन्न रमणीय स्थानहरुको अवलोकन गर्न सक्ने स्थानीयबासीहरुको भनाइ थियो ।
पर्यटकको बसाइलाई लम्ब्याउन छिल्लीकोटमा भ्यू टावर निर्माण सम्पन्न भैसकेको छ । यहाँबाट दाङ जिल्लाको समथर भू–भाग मात्र होइन सफा मौसम भएको समयमा भारतको तुलसीपुर बजारमा रेलले बत्ती बाल्दै कुदेको दृश्य पनि देख्न सकिन्छ । उत्तरतर्फको सेताम्मे हिमालले पनि त्यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ । पछिल्लो समयमा छिल्लीकोटले सडक यातायातबाट रोल्पाको डुब्रिङ, होलरी, दहवन र ऐतिहासिक धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारीलाई पनि जोडिसकेको छ । आशा छ, यो एउटा पर्यटकीय पदयात्राको पनि एउटा गन्तव्य हुनेछ, निकट भविष्यमै ।
तीनै तहका सरकारहरुले यसलाई पर्याप्त सहयोग गरेको अवस्थामा यो एउटा पश्चिम नेपालकै गतिलो पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगीले बताए । उनले छिल्लीकोटमा निर्माण भइरहेका संरचना सबै निर्माण सम्पन्न भएर सञ्चालनमा आउन केही समय लाग्ने बताउँदै त्यस क्षेत्रमा सहजरुपमा सडक यातायात पुराउन स्थानीय सरकार मात्र नभएर तीनै तहका सरकारको सहकार्यको आवश्यकता रहेको पनि बताएका छन् । उनले छिल्लीकोटमा पर्यटकहरुलाई थप आकर्षण गर्न रोपवे (जिपलाइन) निर्माणको काम सुरु भइसकेको र त्यहाँ केवलकार सञ्चालनका लागि पनि प्रारम्भिक सर्वे भइसकेको पनि बताएका छन् । आशा छ, छिल्लीकोट चाँडै नै नेपालकै ऐतिहासिक पर्यटकीय गन्तव्य बन्नेछ ।