धमाधम जलाइँदै म्याद गुज्रेका सामान

तुलसीपुर, २१ माघ । तुलसीपुर उपमहानगरपालिकाको बजार अनुगमनको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ । अघिल्ला बर्षसम्म पर्वलक्षित अनुगमनलाई फराकिलो बनाउँदै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापन शाखाले म्याद नाघेका सामानहरु धमाधम जफत गरेर तत्काल जलाएर नष्ट गर्न थालेको बताइएको छ । जलाइएका सामानहरुको मुचुल्का सम्बन्धित व्यवसायीलाई समेत उपलव्ध गराइएको छ । यसै मुचुल्काका आधारमा व्यवसायीहरुले सम्बन्धित सप्लायर्सबाट आफ्ना म्याद गुज्रेका सामानहरुको सोधभर्ना पाउने छन् ।

अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–१८ को मुख्य बजार बिजौरीमा दुई दिनसम्म लगातार अनुगमन गरी बजारबाट जफत गरिएका म्याद गुज्रेका सामानहरु स्पटमै नष्ट गरिएको अनुगमनमा सहभागी तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखा प्रमुख रेखा शर्माले बताइन् । दुई दिनको अनुगमनका क्रममा बिजौरी क्षेत्रका विभिन्न पसलहरुबाट जफत गरिएका उपभोग गर्न नमिल्ने खालका विभिन्न कस्मेटिक सामानहरु, डेरीजन्य तथा पाउरोटी उद्योगका उत्पादनहरु, घर रंगाउने विभिन्न इनामेलहरु, दालमोट, चिउरा, चाउचाउ, विस्कुटलगायत दर्जनौं प्रकृतिका उपभोग्य सामग्रीहरु स्थानीय प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरुसमेतको सहभागितामा नष्ट गरिएको हो ।

यसअघिका अनुगमनमा व्यवसायीलाई एक पटकलाई भन्दै सच्चिन आग्रह गरिँंदै आए पनि अबका अनुगमनले त्यो छुट नदिने पनि उपमहानगरपालिकाले जनाएको छ । बजारमा उपभोक्ता एवं व्यवसायीहरुमा सचेतनाको अवस्थामा केही सुधार आए पनि बजार अझै पनि पूर्ण रुपमा सिस्टममा चल्न नसकेको आफूले पाएको अनुगमन संयोजक रेखा शर्माले बताइन् । बजार अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–१८ का वडासचिव रामकुमारी मरासिनीले अझै पनि बजार पूर्णरुपमा व्यवस्थित नभैसकेकाले अनुगमनले बजारमा क्रमिक सुधार आउँदै गरेको बताएकी छिन् ।

‘कतिपय अवस्थामा उपभोक्ता एवं व्यवसायीमा अझै पनि आवश्यक सुधार देखिन सकेको छैन, अनुगमनले सचेतना एवं व्यवसाय सञ्चालनमा कानुनी प्रक्रियाको अनुभूति पनि व्यवसायीलाई गराएको छ’, वडासचिव मरासिनीले भनिन् । सो अवसरमा किराना पसल, फेन्सी पसल, फलफूल पसल, होटल तथा रेष्टुरेण्टहरु, मदिराजन्य सामग्रीका पसललगायत दुई दर्जन जति पसलहरुमा निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा उपभोक्ता हकअधिकार संरक्षण मञ्च दाङका नेता तथा मानवअधिकारकर्मी केशवकुमार शर्माले बजार सुधारका लागि निरन्तर अनुगमन र जानी–जानी त्रुटि गर्नेहरुलाई सम्बन्धित ऐनबमोजिम कारबाही गर्न पनि आवश्यक रहेको बताए ।

अनुगमनका क्रममा बिजौरीमा म्याद नाघेका सामानहरुको समस्यासँगै स्थानीय पालिकामा दर्ताविनै व्यापार व्यवसाय सञ्चालनको अवस्था अत्यधिक देखिएको छ । बिजौरीमा करीब ५० प्रतिशत व्यापार व्यवसाय तुलसीपुर उपमहानगरपालिकामा दर्ता भएको पाइएको छैन । अनुगमन टोलीले त्यस्ता व्यवसायीलाई सात दिनभित्र उपमहानगरपालिकामा व्यापार व्यवसाय दर्ता गर्न र नवीकरण नगरेकालाई पनि तत्काल नवीकरण गर्न निर्देशन समेत गरेको छ ।

अधिकांश व्यवसायीहरु आन्तरिक राजश्व कार्यालय, मूल्य अभिबृद्धि कर, जिल्ला घरेलु कार्यालय तथा सम्बन्धित उद्योग वाणिज्य संघमा दर्ता भएर पनि उपमहानगरपालिकामा भने दर्ता भएका छैनन् । व्यवसाय दर्ताबाट उपमहानगरपालिकाले आन्तरिक राजश्वमा पनि केही सुधार हुने अपेक्षा गरेको छ ।