विजय जिएम
अहिले राजनीतिक वृत्तमा एमसीसीको बारेमा चर्चा चलिरहेको छ । स्थानीय चुनाव कहिले गर्ने भन्ने सन्दर्भमा गठबन्धन दलहरुबीच सहमति भएको छ । सत्ता गठबन्धन दलहरु स्थानीय चुनाव जेठमै गर्न सहमत भएका छन् । तर अझैसम्म सरकारले निर्वाचनको मिति तोक्न सकेको छैन ।
सत्ता गठबन्धन दलहरु निर्वाचन ऐन संशोधन गरेर २०७९ को फाल्गुनमा तीनै तहको चुनाव गर्ने तयारीमा थिए । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रपति र निर्वाचन आयोगको दवावका कारण सत्ता गठबन्धनका दलहरु स्थानीय चुनाव जेठमै गर्न राजी भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रचण्ड र माधव नेपाललाई चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने आश्वासन दिएर स्थानीय तहको चुनाव जेष्ठको अन्तिम साताभित्र गर्न सहमत गराएका छन् । तर निर्वाचन आयोग जेष्ठ ४ गते नै निर्वाचन गर्ने पक्षमा छ ।
अहिले गठबन्धन दलहरुबीच एमसीसीको विषयमा विवाद सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पास गर्ने पक्षमा छन् । एमसीसी पास नगर्ने हो भने गठबन्धन नै भङ्ग गर्नेसम्मको चेतावनी दिएका छन् । एमसीसीकै कारण गठबन्धन सरकार संकटमा परेको छ । सत्ता गठबन्धन भत्किने प्रबल सम्भावना छ । सत्ता गठबन्धन भत्किएर कांग्रेस र एमालेबीच गठबन्धन भयो भने कुनै अनौठो हुनेछैन् ।
सत्ता गठबन्धन दलहरुबीच एमसीसीको विषयमा एकमत छैन् । एमसीसीको विषयमा माओवादी र एकिकृत समाजवादीको समान धारणा छ । एमसीसी हुबहु पास गर्ने पक्षमा छैनन् । तर सत्ता र स्वार्थको लागि सत्ता गठबन्धन दलहरु मिलेर एमसीसी पास गर्ने बलियो सम्भावना पनि छ । एमसीसीको मुद्दा गठबन्धन दलहरुबीच पेचिलो विषय बनेको छ । एमसीसीकै कारण राजनीतिक दलहरुबीच ध्रुवीकरण हुने सम्भावना बढेको छ ।
राजनीतिमा नयाँ परिस्थिति सृजना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन दलहरुलाई एमसीसी पास नगर्ने हो भने गठबन्धन नै भङ्ग गर्ने चेतावनी दिएर गठबन्धनभित्रका दलहरुलाई दबाव दिएका छन् । देउवा सत्ता गठबन्धनलाई निरन्तरता दिने हो वा एमसीसी पास गर्ने हो दोधारमा छन् । प्रचण्डलाई पनि एमसीसी पास गर्ने हो कि गठबन्धनलाई निरन्तरता दिने हो दुविधामा छन् । एमसीसी पास गर्ने हो भने पार्टीभित्रको शक्ति सन्तुलनमा असर पर्ने देखिन्छ । पार्टी नै फुट्ने सम्भावना पनि छ ।
जनमत पार्टी विरुद्धमा जाने देखिन्छ । पार्टीका नेता तथा कार्यकर्ता अरु पार्टीमा जान सक्छन् । प्रचण्डलाई पार्टी नेता तथा कार्यकर्ता र चिनीयाँ दबाव छ । चिनीयाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र प्रचण्डबीचको पछिल्लो पटकको कुराकानीलाई चिनीयाँ दबाबको रुपमा लिन सकिन्छ । प्रचण्डले सत्ता गठबन्धनलाई निरन्तरता दिनकै लागि मध्यमवर्गीय बाटोको रुपमा एमसीसीका केही बुँदा संसोधन गरेरै भएपनि एमसीसी पास गर्ने पक्षमा छन् । तर अहिले एमसीसी पास गरेर जेष्ठमा चुनावमा जानु भनेको खुकुरीको धारमा हिड्नु जस्तै हो । एमसीसीकै कारण सत्ता गठबन्धन भत्किएर कांग्रेस र एमालेको गठबन्धन सरकार बन्नु भनेको माओवादी र एकिकृत समाजवादीलाई चुनावमा फाइदा हुनु हो ।
अहिले राजनीतिक दलहरु डर र त्रासमा छन् । सबै दलहरु सुरक्षित बाटो खोजिरहेका छन् । कांग्रेसलाई कम्युनिस्टहरु मिल्ने हुन कि भन्ने डर छ । २०७४ सालको स्थानीय चुनावमा माओवादी र कांग्रेस गठबन्धन गरेका थिए । तर प्रतिनिधि सभाको चुनावमा प्रचण्डले गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गरेका थिए । विगतको अवस्था दोहोरिन सक्ने सम्भावना छ । माओवादी र एकिकृत समाजवादीलाई गठबन्धन भत्किने डर छ ।
एमालेलाइ अहिलेको गठबन्धन सरकार चुनावसम्म निरन्तरता रह्यो भने २०७४ सालको चुनावमा कांग्रेसलाई जस्तै एमालेलाई पनि पत्तासाफ बनाउँछन कि भन्ने डर छ । राजनीतिक दलहरुको लागि एमसीसी गलाको पासो जस्तै भएको छ । एमाले वर्तमान गठबन्धन भत्काउन जुनसुकै मूल्य चुकाउन पनि तयार छ । अमेरिकी दबाबका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई जसरी भए पनि एमसीसी पास गर्ने बाध्यता छ । शेर बहादुर देउवाको बाध्यतालाई बुझेर नै एमाले एमसीसीको अस्त्र प्रयोग गरेर सत्ता गठबन्धन तोड्ने तयारीमा छ ।
सत्ता गठबन्धन तोड्ने शर्तमा एमाले शेर बहादुर देउवालाई समर्थन गर्ने पक्षमा छ । जनतालगायत अन्य राजनीतिक दलको तीव्र विरोधका वावजुद्ध पनि कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ । एमाले एमसीसीको विषयलाई सत्ता गठबन्धनसँग जोडेर निर्णय गर्ने पक्षमा छ । सत्ता गठबन्धन तोड्ने शर्तमा एमसीसी पास गर्ने पक्षमा छ ।
एमसीसीको विषयमा एमालेको द्धैध चरित्र देखिएको छ । एमाले सत्ता गठबन्धन भत्किने निश्चित भयो भने एमसीसी पास गर्ने पक्षमा छ । यदि सत्ता गठबन्धन मिलेर एमसीसी पास गरेको खण्डमा एमाले एमसीसी पास नगर्ने पक्षमा छ । चुनावमा एमसीसीको मुद्दालाई लिएर कथित राष्ट्रवादीको नारा लगाउने मानसिकतामा छ ।
स्थानीय चुनाव र एमसीसीको मुद्दामा कांग्रेस र एमालेबीच समान धारणा छ । जनता समाजवादी पार्टीको बाबुराम पक्ष पनि एमसीसी पास गर्ने हतारोमा छ । कांग्रेस गठबन्धन तोड्न तयार हुने हो भने एमसीसी पास हुन्छ । तर प्रधानमन्त्री शेर बहादुर देउवाको लागि उत्तम विकल्प भनेको अमेरिकासँग एमसीसीको म्याद थपको लागि पहल गरेर गठबन्धनलाई निरन्तरता दिनु नै फाइदा छ ।
गठबन्धन सरकारलाई चुनावसम्म निरन्तरता दिएर जनताबाट निर्वाचित शतिmशाली प्रधानमन्त्री बन्ने अवसर छ । नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी नै नेकपा एमाले हो । देउवालाई वर्तमान गठबन्धन भत्काएर प्रतिस्पर्धी दलसँग गठबन्धन गर्न फाइदाजनक छैन् ।जनभावना विपरीत एमसीसी पास गर्नु भनेको राजनीतिक दल र देशको लागि घाटक छ । एमसीसी विरुद्ध आगो बलिरहेको छ । आगोमा हाम फाल्न खोज्नु भनेको खरानी हुनु हो । एकातिर शेरबहादुर देउवालाई एमसीसी पास गर्न अमेरिकी दवाव छ भने अर्कोतिर एमसीसी पास नगर्न जनदवाव छ ।
एमसीसीको विरुद्धमा आवाज उठिरहेकोबेला एमसीसी पास गर्न खोज्नु आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु सरह हो । अहिलेको अवस्थामा एमसीसी पास गर्नु भनेको राजनीतिक रुपमा एमसीसी विरोधी दललाई फाईदा हुनु हो । नेपालको सन्दर्भमा समय समयमा मौसमी राष्ट्रवादको हावा चलिरहेको हुन्छ । मौसमी राष्ट्रवादको हावाले काम पनि गरेको देखिन्छ ।
भारतले नेपाल विरुद्ध गरेको नाकाबन्दीको विरुद्धमा केपी वलीको कथित राष्ट्रवाद यसको ज्वलन्त उदाहरण हो । एमसीसी देशको राष्ट्रिय स्वाधीनताको प्रश्नसँग जोडिएको छ । देश विकासको नाममा विदेशीहरुलाई राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने वातावरण तयार गर्नु राम्रो होइन । एमसीसी रुपमा हेर्दा विकासको प्याकेज जस्तो देखिन्छ तर सारमा देशको लागि घाटक छ । चेतना भया ।