उपभोक्ताको आक्रोश : कार्यालयको गेटमै थुपारे ढलानका टुक्राहरु

दाङ, १९ माघ । घोराहीमा सडकको नालासहित फुटपाथ बनाउने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरेपछि उपभोक्ताले ठेकेदारले भत्काएर सडकमा छोडेका सामग्री लगेर शहरी विकास तथा भवन कार्यालयको गेटमा थुपारिदिएका छन् ।

निर्माणको जिम्मा पाएको ठेकेदारसँगै सम्बन्धित कार्यालयको लापरबाहीले जनताले दुःख पाएको भन्दै मंगलवार कार्यालय सञ्चालनको समयमा नाला निर्माणका क्रममा निर्माण व्यवसायीले भत्काएर सडकमा अलपत्र पारेका सामग्री कार्यालयको गेटमा फालेका हुन् । नाला तथा सडक निर्माणमा ढिलाई हुँदा सम्बन्धित ठाउँका जनताले कति दुःख भोग्नुपर्ने रहिछ भनेर सम्बन्धित कार्यालयका कर्मचारीहरुले महसुस गरुन् भनेर गेटमै नाला निर्माणका क्रममा भत्काएका सामग्रीहरु राखिदिएको माथिल्लो भरतपुर टोल विकास संस्थाका अध्यक्ष गुरुप्रसाद आचार्यले बताए ।

‘नाला तथा फुटपाथ निर्माणका लागि डेढ बर्षअघि सडकको नाला भत्काए पनि निर्माण व्यवसायीले अहिलेसम्म बनाएका छैनन्’, संस्थाका अध्यक्ष आचार्यले भने– ‘जसले गर्दा जनताले दिनहुँ धुलो खान बाध्य छन् । अझ एकपटक बनाएको नाला भत्काएर सडकमा हिँड्डुल गर्न समेत नमिल्ने बनाएपछि हामीले त्यो उठाएर कार्यालयमै ल्याइएका हौँ ।’ उनले निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नसमेत माग गरे ।

ठेकेदारले नाला निर्माण गर्ने भन्दै भएको नालासमेत भत्काएपछि हिँड्डुल गर्न समस्यादेखि एक बर्षदेखि खानेपानीको पाइप जोड्न नपाएको अर्का स्थानीय दीपक आचार्यले बताए । नाला तथा सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले सडकमा डोजर लगाएपछि बाटो बिग्रनुका साथै खानेपानीको पाइपहरु काटिएको उनले बताए । ‘समयमै नाला निर्माण नहुँदा सडकको अवस्था मात्रै विग्रिएको छैन ।

घरमा डेढ बर्षदेखि खानेपानीको धारा काटिएको छ’, स्थानीय आचार्यले भने– ‘खानेपानीको पानीको धारा जोडिदिन आग्रह गर्दा नाला निर्माणको काम सकेपछि भन्छ । तर निर्माण व्यवसायीले नाला निर्माणको काम नै गर्दैनन् ।’ उनले पुरानो नाला तथा सडक भत्काएर अलपत्र पार्दा नागरिकसँगै सवारी साधान चलाउन समस्या भइरहेको बताए ।

शहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटपाथ निर्माणमा समस्या भएको बताए । चार महिनामा काम सक्ने गरी २०७७ चैत १ गते आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभीसँग सम्झौता भए पनि विभिन्न समस्याका कारण काम पूरा हुन नसकेको शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर नारायण वलीले बताए । सम्झौताअनुसार काम नभएपछि कार्यालयले पुनः चैतसम्म सक्नेगरी सम्झौता थप गरेको छ ।

‘पहिलो चरणमा चार महिनाभित्रै काम सक्ने गरी २०७७ चैतमा सम्झौता भएको थियो । तर कोरोना भाइरसलगायतका विभिन्न समस्याले काम गर्न समस्या भयो’, निमित्त कार्यालय प्रमुख समेत रहेका ओलीले भने– ‘जसले गर्दा पुनः दोस्रो पटक आउने चैतसम्म म्याद थप गरेका छौँ ।’ कार्यालयले म्याद थप गरे पनि निर्माण व्यवसायीले काम गर्न आलटाल गरेको कार्यालय प्रमुख वलीले बताए । उनका अनुसार निर्माण व्यवसायीले मापदण्डविपरीत सडकको नाला निर्माण गरेपछि कार्यालयले उक्त नाला भत्काउन पठाएकाले सम्बन्ध्ीित व्यवसायीले काम गर्न आलटाल गर्दै आएका छन् ।

कार्यालयले घोराहीको तुलसीपुरचोकेदखि–गुलरिया पार्कसम्म, सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र क्याम्पस रोडअन्तर्गत मुख्य सडकदेखि महेन्द्र बहुमुखी क्याम्पससम्मको सडक निर्माणका लागि ४ करोड ८१ लाख बढीमा रकममा सम्झौता भएको कार्यालयले जनाएको छ । उक्त सडकहरुमा प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन कार्यालयले फुटपाथसहितको नाला निर्माण गर्ने र घोराही उपमहानगरपालिकाले सडक कालोपत्रे गर्ने गरी सम्झौता गरिएको छ ।