सडक डायरी : उसले मास्क खोलेर हाच्छँयु ग¥यो…

खेमराज रिजाल
तुलसीपुर, १९ माघ । उसले मास्क खोलेर हाच्छुयुँ ग¥यो, मुन्तिर म थिएँ, धन्न चार दिन भो केही भा’छैन । आइतवार सहिद दिवसको दिन थियो । बिजौरीमा मास्क वितरणका लागि जाने क्रममा म बिजौरीको बस स्टपमा बस कुरिरहेको थिएँ । जब बस रोकियो, एकजना भलाद्मी देखिने मान्छेले बसको झ्याल खोले । सर्जिकल मास्क लगाएका थिए, खोले अनि म माथि हाच्छ्युँ गरिफाले । नजिकै एकजना प्रहरी जवान त थिए, तर उनी अन्तै फर्किएका । मैले न ती महाशयलाई भन्न सकेँ, नत प्रहरीलाई उजुरी गर्न सकेँ । कारण आफैमा खोजेँ उत्तर भेटियो, ‘म निरीह नागरिक’ ।

त्यही बसमा चढेर भलाद्मी मान्छेलाई सोधेँ, किन मास्क निकालेर हाच्छ्युँ गर्नुभा ? उनले ठाडो जवाफ दिए– ‘झ्याल खोलेर ग¥या, तपाई तल हुनुहुदो रहेछ, सरी…। मास्क मैलो हुने डरले मास्क खोलेर हाच्छ्युँ गरेको बताउँदै उनी पर्सेनी ओर्ले । सायद उनले आफ्नो लागि मात्रै मास्क लगाएका रहेछन् । अरुलाई सार्न पो मास्क लगाएका रहेछन् वा मास्क मैलो भयो भने फेरि किनिहाल्नुपर्छ भनेर जोगाउन हो कि । कति मूर्ख नागरिक ।

तुलसीपुरको विपीचोकमा पुग्दा दाङ कांग्रेसले मास्क बाँडिरहेको थियो । नगर सभापति सुरेश हमालले एउटा टेक्टर रोकेर झुत्रे चालकलाई तपाईको मास्क खोई ? भन्दै एक पिस मास्क थमाए । रोकेको टेक्टर चल्न नपाउँदै ती चालकले मास्क खल्तीमा राखेर दाताको इज्जत मात्रै राखे, लगाएर भने टेक्टर चलाएनन् । सोधे, ‘किन नलगाएको ?’ उनको ठाडो जवाफ थियो– ‘टेक्टरमा म एक्लै छु, हामीलाई सधै मास्क लगाएर साध्यै हुँदैन ।’ कम्तीमा टेक्टरभरी पराल लोड गर्दा धुलोबाट त जोगिन सक्थे उनी तर उनले अझै मास्क लगाएका रहेनछन् । निस्सासिएको जस्तो हुन्छ रे उनलाई ।

अहिले हरेक संघसंस्थाहरुले मास्क बाँडिरहेका छन् । साजिदा सिद्धिकीको सीसा संस्थाले ९ हजार मास्क बाँड्यो रे । विमला योगीको महिला सामुदायिकले त्यो मात्र होइन, न्यानो कपडा पनि बाँडेछ । जेसीजले मास्क, रोटरीले मास्क, उद्योग वाणिज्य संघले मास्क, सिडिओले मास्क, प्रहरीले मास्क बाँडिरहेका छन् दिनदिनै, तर बजारमा होस् वा गाउँमा अझै पनि नागरिकहरुले मास्क लगाउने बानी पारेनन् ।

‘कति अटेरी नागरिक, यसले कोरोना संक्रमणको चेनब्रेकमै समस्या भा’छ’, त्यही दिन प्रदेश परिवार कल्याण मन्त्रालयले घोराहीमा आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटाले भनिरहेका थिए । कोरोना संक्रमण र अटेरी दुवै उस्तै रहेछन् । न कोरोना भाइरसको औषधि बन्यो, न अटेरीको औषधि । कानुन त छन् तर कार्यान्वयन गराउने निकायबाट नै अटेरी भइरहेको देखिँदा नागरिकहरु निरीह बन्नुको कुनै विकल्प रहेन ।

हो, सोमवार र मंगलवार दिनभर चारलेन चर्चामा रह्यो । चर्चा जति भए पनि त्यहाँ पनि अटेरीकै जमात । अटेरीमात्रै होइनन्, ठगहरु प्रवेश गरिरहेका छन् चारलेन सडक परियोजनामा । सो–कल्ड ठेकेदारले ५ करोड रुपैयाँ ठगिरहँदा ठगिनेहरु मौन रहेछन् । अति भएपछि मात्रै खुल्न थालेका छन्, अचेल । तर ठगिने व्यापारी र शाखा ठेकेदार मात्रै होइन, हामी नागरिकहरु पनि ठगिएका छौं ।

हरेक नागरिकले चारलेनबाट हिसाव–किताव खोज्नुपर्ने बेला आएको छ । चारलेनका कारण क्षतविक्षत बनाइएको सडकमा दुर्घटना हुँदा हामीले १२ जना तीन महिनामै गुमाउन बाध्य भयौं, यसको क्षतिपूर्ति कसले दिने ? चारलेनमा उडेको धुलोका कारण कतिजनालाई टिबी भयो ? यसको क्षतिपूर्ति कसले दिने । अब नागरिकले यसको क्षतिपूर्ति माग्दै कहाँ दिने निवेदन ? हामी निरीह नागरिक, सायद यो उजुरी सिडिओ कार्यालय वा प्रहरी कार्यालयमा कदापि दर्ता हुने छैन । पाँच करोड ठगीमा जस्तै बाह्रजनाको ज्यान वा हजारौंलाई दीर्घरोगको विजारोपणको क्षतिपूर्ति दिनुपर्ने होइन र ? जिउमाथि हाच्छ्युँ गर्दा म जसरी निरीह थिएँ, अहिले चारलेन पीडित आम नागरिकहरु पनि त्यसरी नै निरीह छन् । अर्थात चारलेनमा नागरिक दबावको परिकल्पनै गरिएन ।

५ करोडको पक्की पुल नहुँदा ठेकेदारलाई सडकमै दिनदहाडै कालोमोसो दल्ने विप्लवका कार्यकर्ताहरु कहाँ छन् ? उनीहरु किन बोल्दैनन् चारलेनको लापरबाही ? अस्पतालमा कार्यकक्षमै पुगेर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई कालोमोसो दलेर आफ्नो अभीष्ट पूरा गर्न खोज्ने अनेरास्ववियुका नेताहरु किन चारलेनमा काम नभएको भनेर एक शब्द पनि उच्चारण गर्दैनन् ? थपिएर पनि सकिन लागेको म्यादसम्म पनि ६ प्रतिशतभन्दा बढी कार्यप्रगति गर्न नसक्ने ठेकेदारलाई कालोसूचिमा राख्ने कानुनी हैसियत नराख्ने सडक परियोजना कार्यालयका हाकिमसावहरु कहाँ छन् ?

राजनीतिक दलका नेता र स्थानीय सरकारका प्रमुखरु किन बोल्दैनन्, चारलेनका विषयमा । भो मास्क नबाँड अब । मास्क किन्न नसक्ने नागरिक सायद कमै छन् । ज–जसलाई मास्क वितरण भएको छ, उनीहरु सबै किन्ने हैसियतका छन् । बरु सामाजिक अभियानमै प्रवेश गर्ने हो भने जाऊ चक्काजाममा, चारलेन सडकको हविगत किन यस्तो भयो भनेर । मास्क खोलेर हाच्छ्युँ गर्ने ती मान्छे र चारलेनका ठेकेदार उस्तै हुन्, अर्थात उनीहरुलाई अटेरीको बात लाग्दैन ।