खेमराज रिजाल
तुलसीपुर, १८ माघ । ममतामयी आमा रुपादेवी सिंह बितेका बेला कपाल मुण्डन गरी किरिया बसेको ९२ दिन मात्र पुगेको थियो, फेरि बुवा दशरथलाई गुमाएपछि तुलसीपुर उपमहानगरपालिका–५ प्रतिभा टोलकी शुषमा सिंह कपाल खौरेर किरियामा बसेकी छिन् । बुवाको निधन भएको आठौं ंदिन बुधवार शुषमा गरुढ पुराणमा थिइन् ।
आमाको किरिया बस्दा खौरेको कपाल राम्रोसँग टाउको ढाक्न पाएकै थिएन, फेरि केस खौरेर उनी बुवाको काजकिरियामा छिन् । तीन छोरी र एक छोरामध्ये शुषमा कान्छी छोरी हुन् । दुई छोरीहरुको विहेवारी भैसकेको छ । दशरथका छोरा गोविन्द सिंह बेलायतमा छन् । बुवाको निधनको खवर सुन्दा उनी कोरोना भाइरसको संक्रमणमा भएकाले तत्काल नेपाल आउन सम्भव भएन । सम्भवतः उनी मंगलवार साँझसम्म दाङ आइपुग्ने छन् ।
‘बुवाको अगाध माया र स्नेहको सम्मान गर्दै उहाँको आत्मसम्मानका लागि मैले नै छोरासरह कपाल मुण्डन गरेर काजकिरिया गर्ने निर्णय गरें’, शुषमाले भनिन्– ‘यसमा परिवारका कसैको करकाप र दबाव होइन, मेरै चाहनाको परिवारबाट कदर पनि भएको हो ।’ आफू किरिया बसिरहँदा परिवारका सबै सदस्य र आफन्तहरुबाट पनि हौसला र सम्मान प्राप्त भएको पनि शुषमाको अभिव्यक्ति थियो ।
बुबाको अन्त्येष्टिमा दागबत्ती पनि उनैले दिएकी थिइन् । आमाको निधनमा पनि सबै अन्तिम संस्कारमा उनै सुषमा । छोरासरह छोरीले पनि सवथोक गर्न सक्छन् भन्ने पनि उनको अभिव्यक्ति थियो । हरेक दिन धार्मिक संस्कारअनुसार उनले बुवाको अन्तिम संस्कारका कर्महरु गर्दै आएकी छिन् । विदेशमा रहेका दाजुलाई कुरौं कि भन्ने कुरा आएको पनि थियो, आफन्तजनहरुबाट । तर शुषमाले आफैले काजकिरिया गर्ने बताएपछि काजकिरिया सुरु भयो । विदेशबाट फर्केका दाजु जुन दिन आउँछन्, त्यसैदिन काजकिरियामा मिसिनेछन् ।
‘आत्मबल बलियो र कर्मशील भएपछि सानातिना समस्याहरु त्यसै हराएर जाने रहेछन्, अनि धर्मशास्त्र र तर्कशास्त्रमा छोरीले काजकिरिया गर्नु हुँदैन भन्ने पनि त छैन नि’, शुषमाले उत्साहित बन्दै भनिन् । सानैदेखि हरेक क्षेत्रमा चतुर र प्रतिभावान शुषमाले समाजशास्त्रमा स्नातकोत्तर पनि उत्तीर्ण गरेकी छन् । काठमाडाँैको वनस्थलीमा उनको एउटा डान्स इन्स्टिच्युट छ । उनले त्यसको नाम एलोटाइगर डान्स इन्स्टिच्युट राखेकी छिन् ।
दर्जनौँ आकांक्षीहरुलाई उनी नृत्य प्रशिक्षण पनि दिन्छिन् । थुप्रै नृत्यांगनाहरु उनको इन्स्टिच्युटले उत्पादन गरेको छ । मेहनत उनको दैनिकी हो । समानता उनको चाहना हो । कर्म उनको कर्तव्य हो । ‘छोरीले गर्न नसक्ने कुनै काम छैनजस्तो लाग्छ मलाइ सायद, तर आँटेर अघि बढ्नुप¥यो’, शुषमाले भनिन् । आठौं दिनसम्म शुषमालाई स्वास्थ्यले पनि साथ दिएको छ । फूर्तिलो उपस्थितिबीच उनी बुवाको मृत्युपछिको संस्कारमा छिन् ।
बुवाको आत्मशान्ति र स्वार्गवासका लागि आफूले कर्तव्य पूरा गरिरहेको लाग्छ, उनलाई । अन्य समुदायमा कहिँकतै छोरासरह छोरीले पनि कपाल खौरेर कुना बारेर पितृकार्य गर्ने गरेको देखिए पनि नेवार समुदायमा भने यो बीरलै देखिएको नेवार समुदायका अगुवाहरु बताउँछन् । ‘हाम्रो समुदायमा यो क्षेत्रमा छोरीले केश मुण्डन गरी पितृकार्य गरेको सम्भवतः यो पहिलो घटना हो’, नेवार समुदायका अगुवा तथा तुलसीपुर नेवा समाजका उपाध्यक्ष बुद्धप्रकाश सिंहले भने । यसले छोरीले पनि अवसर र आवश्यकता परेको अवस्थामा छोरासरहका हरेक भूमिका निर्वाह गर्न सक्षम छन् भन्ने देखाएको पनि उनले बताए । सिंह परिवार सल्यानबाट दाङ झरेका नेवार समुदायका हुन् ।