गोरक्ष समाचारदाता
तुलसीपुर, १८ माघ । मुलुकमा तीनै तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीलाइ थप क्रियाशील र प्रभावकारी ढंगबाट सञ्चालन गर्न नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिलाई पूर्णता प्रदान गरिएको छ । यससँगै हरेक क्षेत्रलाई समेट्ने गरी दर्जनभन्दा बढी विषयगत विभागहरु गठन गरिएको नेपाली कांग्रेस तुलसीपुरका प्रवक्ता पूर्णबहादुर डाँगीले जनाएका छन् ।
नेपाली कांग्रेस तुलसीपुरका सभापति सुरेश हमालको अध्यक्षतामा सोमवार तुलसीपुरमा बसेको पूर्ण बैठकले कम्तीमा २० जना सदस्य मनोनीत गरी नगर कार्यसमितिलाई पूर्णता प्रदान गरिएको छ । साथै बैठकले भर्खरै सम्पन्न कांग्रेसको चौधौ महाधिवेशनअन्तर्गत तुलसीपुर नगर सभापतिका प्रत्यासी अनिल कार्कीलाई सल्लाहकारमा मनोनयन गरेको बैठकपछि नगर सचिवद्वय विमल पौडेल र सुशील वलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सबै वडाहरुमा नेपाली कांग्रेसको नयाँ सदस्यता बनाउने निर्णय गरेको छ । यसका लागि नगर समितिले तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा समितिलाई नेपाली कांग्रेसको विधान र एक÷एक थान सदस्यता ठेली प्रदान गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी बैठकले कांग्रेसलाई थप सशक्त र क्रियाशील पार्टीको रुपमा अघि बढाउनका लागि हरेक विभाग र उपसमितिहरुको परिचालन गर्नका लागि नगर सभापति सुरेश हमालको संयोजकत्वमा कार्यसम्पादन समिति पनि गठन गरेको छ । नेपाली कांग्रेसको विधानबमोजिम गठित पन्ध्र सदस्यीय कार्यसम्पादन समितिमा उपाध्यक्ष, सचिवलगायतका सदस्यहरु रहेका छन् । सो समितिले हरेक विषयगत एवं क्षेत्रगत समितिहरुको कार्यसम्पादनको निरन्तर मूल्यांकन समेत गर्नेछ । साथै विभाग तथा उपसमितिहरुलाई थप जागरुक र क्रियाशील बनाउने छ ।
लोकतन्त्र, समाजवाद र सुशासनका सन्दर्भमा आम नागरिकलाई कांग्रेसको नीतिबारे जानकारी गराउँदै हरेक टोल विकास संस्थाहरुमा टोल इकाई समिति गठनको प्रक्रियालाई अघि बढाउने पनि बैठकमा निर्णय भएको बताइएको छ । केही दिनभित्रै नगरका सबै वडामा टोल समिति गठन गरिसक्न वडा समितिलाई परिपत्रसमेत गरिसकेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि विभिन्न वडाहरुमा कोभिडविरुद्धको सचेतना अभियान, मास्क तथा सेनिटाइजर वितरण तथा कोरोना भाइरसविरुद्धको खोपलाई थप प्रभावकारी बनाई आम नागरिकलाई सहजरुपमा खोप उपलव्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने पनि बैठकमा निर्णय भएको छ ।
कोभिडको संक्रमणका कारण थला परेको शिक्षा क्षेत्रलाई माथि उकास्न तत्काल विद्यार्थीहरुलाई खोप लगाई यथाशीघ्र शैक्षिक गतिविधिहरुलाई अवस्था हेरेर भौतिक उपस्थितिबीच पठन–पाठन वा अनलाइन कक्षाका लागि सरोकारवाला निकायलाई आग्रह गर्ने पनि बैठकले निर्णय गरेको छ ।