शहीदको सम्झनामा यो क्षण

केपी सुवेदी
आज माघ–१६ शहीद सप्ताहको अन्तिम दिन, नेपालको राजनीतिक इतिहासमा सुनौलो अक्षरमा लेखिएको दिन । हाम्रा लागि गौरवगाँथामा उभिएको शहीद दिवसको हामी प्रत्येक वर्षको यही समयमा ती महान आत्माहरुलाई सम्झन्छौँ । यो दिन यति धेरै महत्वपूर्ण किन भयो भने यो देशका नागरिकलाई रैतीबाट नागरिक बनाउनुपर्छ, शासकहरु जनताका प्रतिनिधि हुनुपर्छ ।

शासकहरु मालिक होइन जनताको काम गर्न सपथ खाएर सरकारको काममा खट्ने पद्धति निर्माण हुनुपर्छ भन्ने शिद्धान्तका अनुयायीहरु तत्कालीन निरंकुश जहानियाँ राणा शासनका बिरुद्ध जनतालाई जगाउने अभियानमा लागेका महान व्यक्तित्व आज हामीले यस अवसरमा श्रद्धापूर्वक सम्झिने गर्छौँ । त्यसैले शहीद भनेका जनताको हक स्थापित गर्न र राष्ट्रिय स्वाभिमान बचाउन प्राणको बलिदान गर्ने त्यागीहरुलाई भनिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको परिभाषाअनुसार राष्ट्र र राष्ट्रिय अस्तित्वको लडाइँमा जीवन बलिदान गर्ने व्यक्तिलाई शहीद मानेको छ ।

नेपालको प्रथम शहीद लखन थापालाई मानिएको छ । राणा श्री३ प्रधानमन्त्री जंगबहादुरले तत्कालीन नेपाली सिपाही लखन थापालाई आफ्नो शासनको विरुद्धमा लागेको विद्रोही सैनिकको आरोपमा गोर्खाको सैनिक अड्डा नजिकै विसं १९३३ साल फाल्गुन २ मा मनोकामना माईको मन्दिर नजिकै वरको रुखमा झुण्ड्यएपछि आफ्नो विरोध गर्नेलाई यसरी नै मारिने भन्दै गोली हानेर मारेका कुरा पत्ता लागेको बताइन्छ । तर धेरै समयसम्म ओझेल परेको उनको सहादत दोस्रो जनान्दोलनपछि मात्र शहीदको सम्मान स्वरुप सम्झन थालिएको हो ।

खास गरेर शहीदको परिभाषा गर्दै जसको स्मृतिमा सप्ताहव्यापी श्रद्धाञ्जली या कार्यक्रम सहित सम्झिने गरेका छौँ, उनीहरु जहानियाँ राणा शासनको जनतामाथि भइरहेको दमन र अत्याचारी शासनको विरुद्ध जनतालाई जगाउने र जनतालाई रैती होइन नागरिक बनाउने कानुनी व्यवस्था ल्याउनुपर्छ भन्ने विचारको वकालत गर्दै सचेतना अभियान चलाउँदै गर्दा आफ्नो सरकार विरोधी आवाज बन्द गरेर निरंकुश सत्ताको आयु लम्बिन्छ भन्ने भ्रममा थिए ।

उनीहरुले ती प्रजातन्त्र स्थापना गरेर जनउत्तरदायी सरकार बन्नुपर्छ भन्ने मान्यता राख्ने धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ सहितका चार देशभक्त सपुतहरुलाई कसैलाई गोली हानेर त कसैलाई झुण्ड्याएर मारेका थिए । विसं १९९७ साल माघ १० गते पचलीमा रुखमा झुण्ड्याएर धर्मभक्तलाई मारिएको थियो । त्यसपछि दशरथ चन्द, शुक्रराज गर्दै १६ गते गंगालाललाई गोली हानेर मारिएको थियो ।

निरंकुश शासनको विभिन्न कालखण्डमा निरंकुश सत्ताको विरोध गर्दा हजारौँले ज्यान गुमाएका छन् । निरंकुशताको चरित्र चित्रण गर्ने क्रममा भनिन्छ– राणाहरु अत्यन्त निर्दयी र फासिस्ट हुन्थे । उनीहरु दिउँसोलाई राती भनेको स्वीकार्य हुनुपथ्र्यो, नभए मर्न पनि तयार हुनुपथ्र्यो । आफूसँग वा आफ्नो विचारधारासँग असहमत हुने हक उनीहरुको राजमा कसैलाई थिएन । एकपटक आफ्नो विरोधीलाई मार्ने वहाना जुराउन स्वघोषित श्री३ महाराजले बाङ्गो रुख देखाउँदै त्यो मानिसलाई सोधे छ– लौटने त यो रुख बाङ्गो छ कि सोझो अनि शासकको नजरमा अभियुक्त ठहरेको त्यो व्यक्तिले भनेछ सरकार मेरो मर्नेबेला भएर हो कि के हो रुख त बाङ्गो नै छ’ भन्दा त्यही निहुमा उसलाई मारिएको थियो रे भनिन्छ ।

हो, त्यस्तै शासनकालमा शासकसँग फरक मत राख्ने चारजना सपुतहरुको नाम आज हामी श्रद्धापूर्वक लिन्छौ र कुनै पनि सामूहिक कार्यक्रम, भेला तथा समारोहहरुमा श्रद्धाञ्जली व्यक्त गर्न शिर निहुराएर एक मिनेट मौन धारण गर्छौँ । तर, राजनीतिक शीर्षक र शन्दर्भमा मात्र शहीदको योगदानलाई जोड्नु उनीहरुको त्याग र बलिदानको पूर्ण सम्मान होइन शहीदको योगदानले लोकतन्त्रको छहारीमा सम्पूर्ण मानवीय सभ्यता मौलाउन सम्भव हुन्छ भन्ने कुरा हामीले बिर्सेका छौँ । शहीदको नाममा सत्ताको दुरुपयोग गर्ने अवसरवादीहरुबाट अपमानजनक व्यवहार भएको हुनसक्छ तर त्यसको असन्तुष्टि व्यक्त गर्दा उनीहरुको महानताको अवमूल्यन कदापि गर्नु हुँदैन ।

शहीदको सम्मानमा अलिकति आँच पु¥याउने काम लोकतन्त्र पुनःस्थापनापछि केही वाद र विचारको वहानामा भएको हो । जुन राजनीतिक परिवेशमा तत्कालीन सत्ताको विरुद्ध लड्नु बलिदान गर्नुपथ्र्यो त्योभन्दा भिन्न परिवेशमा अनावश्यक उक्साहटमा लागेर ज्यानको बाजी थाप्नु वृहत शहादत शब्दको अपमान हो । एउटा, जाति, भाषा, सम्प्रदाय वा संकुचित टुक्रे स्वार्थभन्दा धेरै उच्च स्तरको बलिदान थियो, ती निरंकुशकालका शहीदको ।

तर जो देश र जनतालाई निरंकुशता र अत्याचारी फाँसीवादी सत्ताको अन्त्य गर्न आफ्नै विवेकलाई साक्षी राखेर आफूलाई बलिवेदीमा चढाउन तयार भयो, तिनीहरुको सम्मानमा बिताउने समय हो शहीद सप्ताह । कि शहीदहरुले कोरेको लोकतन्त्रको मार्गचित्रमा समेटिएका राजनीतिक दलको आफ्नो दर्शन, विचार र नीतिअनुसार सत्ता राजनीति गर्दा हुन गएका गल्ती वा कमजोरी स्थायी होइनन् । समयको चक्रमा यात उनीहरु पूरै लोकतान्त्रिक हुन सक्छन् या इतिहासमा सीमित हुन पुग्छन् । शहीद सप्ताहको अन्तिम दिन आजको पावन पर्वमा महान शहीदहरुलाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गरौँ ।