विराज पोख्रेल
‘देशमा एमालेको सरकार भएदेखि बाटोघाटो बनेका छन्, जनताले रोजगारी पाइरहेका छ्न्, विकास भनेको यही त हो नि’ । के.पी. शर्मा ओली प्रधानमन्त्री हुँदा ‘के.पी. बा आई लभ यु’ भन्ने मेरा एकजना मित्रले कुनै दिन मसँग गफ लगाउनुभयो ।
उहाँका कुरामा मैले सहमति वा विमति केही जनाउन सकिनँ । उहाँ जुन पार्टीको झोले कार्यकर्ता हुनुहुन्थ्यो, त्यो पार्टीका आसेपासेसँग भनसुन गरेर आफ्ना घरका एकदुई जनालाई जागिर के लगाइदिनुभएको थियो जनताले रोजगार पाएको देख्न थाल्नभयो । कस्तो अचम्म ! त्यसको ठिक एकदिन पछि अर्का एकजना कांग्रेसका झोले साथी पनि भेट हुनुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो– ‘ओलीले देश बर्बाद पारे यार ! पार्टीको दुई नेताको झगडाले पूरै देश अनिर्णयको बन्दी भयो, अब कांग्रेसले देश चलाउनु पर्छ ।’ मैले सुनेझैँ गरिदिएँ । जब कांग्रेसलगायतको गठबन्धन सरकार बन्यो, उहाँले खोजेको सायद सम्पूर्ण पूरा भयो कि ?
हो, यस्तै आफ्नो पार्टी नेताले गरेको आचीलाई मनभोक देख्ने अनि अरुको मनभोकलाई आची देख्ने पार्टीका अन्धभक्त एवं झोले कार्यकर्ताहरुले गर्दा नै देश बन्धक भएको छ । यो मेरो बुझाई हो । मतदाताको आधाभन्दा धेरै हिस्सा ओगटेको शिक्षित बेरोजगार मतदाताहरु मतदानका समयमा देश बाहिर हुन्छन् ।
अर्कोतर्फ देशभित्रका बौद्धिकवर्गमा पनि राजनीतिप्रति यसरी वितृष्णा जागेको छ कि उनीहरुलाई राजनीति र चुनावबारे कुनै मतलव नै छैन । जति पनि सक्रिय मतदाता छन् ती सबै दुईचार छाक मासु, भात र रक्सी पाए देश विकास भएको ठान्दछन् । हाल देशमा रहेका कथित ठूला राजनैतिक दलहरुका ठूला नेताहरुले देशका लागि गरेको एउटा राम्रो काम खोज्न मरुभूमिमा पानी खोजेसरी छ ।
कुनै देश तथा देशको व्यवस्था सफल रहनका लागि उक्त देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सवल, सक्षम र निष्पक्ष हुनु जरुरी छ । हाम्रो देशको सन्दर्भमा भन्नु पर्दा यी तीनै तहमा हुने राजनीतिक नियुक्तिले गर्दा कुनै पनि पद तथा तहमा सक्षम मान्छे पुग्न सक्दैन । यसरी राजनीतिक पृष्ठभूमिबाट नियुक्त व्यक्तिबाट हुने कार्य सम्पादन निष्पक्ष हुने कुरै भएन । उसले नियम कानुनभन्दा उसको पार्टी ठूलो देख्छ, उसको पार्टीको नेतालाई भगवान् देख्छ अनि उसैको पूजा गर्छ ।
यसरी हरेक क्षेत्रहरुमा हुने राजनीतिक नियुक्तिले गर्दा नै देशको स्थानीय, प्रदेश र केन्द्रीय तहहरु तहसनहस भइसकेका छ्न् । यी र यस्तै विविध कारणले गर्दा देशका हरेक सूचकांकका आधारमा नेपाल एउटा असक्षम राष्ट्र घोषणा हुन मात्र बाँकी छ ।
हरेक राजनीतिक दल, हरेक दलका कार्यकर्ता, नागरिक समाजमा दुई–चार जना सक्षम बौद्धिक व्यक्तिहरु नभएका चाहिँ होइनन् । देश बाहिर रहेका हरेक नेपालीलाई अनलाइन भोटिङको व्यवस्था गराउन सक्नु अहिलेको अपरिहार्यता हो । हरेक दल तथा क्षेत्रहरुमा छरिएका बौद्धिक व्यक्तिहरु जुट्नु अहिलेको आवश्यकता हो ।
’झोले राजनीति‘ भन्दा ‘जनकेन्द्रित राजनीतिको’ आवश्यकता छ, यो बेला । देशका लागि सोच्ने, देशको विकासका लागि राम्रो योजना बनाउन सक्ने दूरदर्शी नेता एउटामात्र हामीले पाउन सक्यौँ भने पनि नेपाललाई नेपालकै रुपमा विश्वमा चिनाउन सकिन्छ । नेपाललाई सिङ्गापुर गराउँछु भनेर अरु कुनै देशसँग तुलना गरेर भाषण गर्नुको कुनै तुक छैन ।