कोरोनावाट बच्न अनुशासित र जिम्मेवार बनौं : नगरप्रमुख चौधरी

घोराही, १४ चैत्र । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कोरोना संक्रमणको यो जोखिमपूर्ण अबस्थामा एक जना व्यक्तिको लापर्वाहीले पनि ठूलो संकट निम्तने भन्दै सबैलाई अनुशासित र जिम्मेवार बन्न सुझाब दिएका छन् ।

उनले संक्रमणबाट बच्न लकडाउनको अक्षरस पालना गर्न पनि नगरबासीलाई आग्रह गरेका छन् । नागरिकहरुले अटेरी गरेर घर बाहिर निस्कने भेला हुने र सवारीका साधनहरु चलाउने गरेको पाईएपछि नगर प्रमुख चौधरीले आज शुक्रबार एक अपिल जारी गर्दै घरभित्रै बसेर संक्रमणबाट बच्न र बचाउन आग्रह गरेका हुन् ।

दैनिक उपभोग्य बस्तुको खरिदका लागि सरकारले विहान ६ देखी ९ बजेसम्म निर्धारण गरेको समयमा पनि उच्च संबेदनशिलता अपनाउन नगर प्रमुखले आग्रह गरेका छन् । समान खरिद गर्दा अनिर्वाय मास्क लगाउने, भिडभाड नगर्ने, निश्चित दुरी कामय गर्ने तर्फ सावधानी अपनाउनु पर्ने उनको भनाई छ । साथै उद्योगी व्यवसायीहरुलाई उपभोग्य बस्तुहरुको बिक्रिमा सहजता कायम गरिदिन समेत अपिल गरेका छन् ।

रोग लाग्नु भन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भएकाले लकडाउनको अबधीमा घर बाहिर ननिस्कन र कुनै समस्याहरु आईपरे तत्काल खबर गर्न समेत आग्रह गरे । साथै हालै बाहिरी देश तथा जिल्लाबाट घर फर्केकाहरुलाई स्वास्थ्य प्रति सजक बन्दै घरपरिवारको सम्पर्कदेखि टाढै बस्न र त्यसको निगरानीमा परिवार, टोल विकास संस्था, वडा स्तरका जनप्रतिनिधीहरुलाई विषेश अनुरोध गरेका छन् ।