कोरोना संक्रमणलाई खिसिट्युरी गर्दै राप्ती शान्ति पार्क

गोरक्ष समाचारदाता
तुलसीपुर, १० माघ । तुलसीपुर उपमहानगरपालिका कोरोना संक्रमणको तेस्रो लहरको हटस्पट बनिरहँदा तुलसीपुर उपमहानगरपालिकाकै एकमात्र सार्वजनिक भोजभतेर र मनोरञ्जनस्थल राप्ती शान्तिपार्कले भने कोरोना संक्रमणलाई खिसिट्युरी गरिरहेको छ । संक्रमण व्यापक बन्दै गएपछि उपमहानगरपालिकाले विद्यालय बन्द गरिरहँदा शान्तिपार्कले विद्यार्थीहरुलाई पार्कमा संक्रमणको निम्तो दिइरहेको छ । मानौं शान्तिपार्क संक्रमणको भय भन्दा भिन्नै गोलाद्र्धको एउटा टुक्रा हो, जहाँ संक्रमणको कुनै सम्भावना छैन ।

राप्ती शान्तिपार्कमा दिनहँुजसो सयौंको संख्यामा उपस्थित समूहले पिकनिक मनाइरहेका छन् । बालबालिका, ज्येष्ठ नागरिक, कसैलाई पनि रोकतोक छैन, पार्क प्रवेशमा । पार्कलाई टिकट बिक्री भए पुग्छ । किनकि संक्रमणको यो भयावह अवस्थामा हरेक संघसंस्थाले स्वास्थ्य सावधानीका उपायहरु अवलम्वन गरिरहेको अवस्थामा राप्ती शान्ति पार्कले भने खुलेआम भीड जम्मा गरिरहेको छ । पार्कमा भन्नेवित्तिकै मनोरञ्जनको स्थल हो । त्यहाँ कुम जोडेर टिकटक बनाइराखेका हुन्छन्, मान्छेहरुले प्रेमी–प्रेमिकाहरु टाँसिएर माया साटिरहेका हुन्छन्, कुम जोडेर नाचिरहेका हुन्छन् तर पार्क सञ्चालकका नजरमा यी सबै सामाजिक दूरी कायम गरेर भइरहेका छन् । स्वास्थ्य सावधानी अपनाएर भइरहेका छन् ।

‘जिल्लामा संक्रमण बढेर ५६ प्रतिशतभन्दा माथि उक्लँदा कस्तो निर्लज्ज पार्क व्यवस्थापन ? सिडिओ कार्यालयको निर्देशनलाई पनि धज्जी उडाइरहेको छ’, पार्कको प्रवेशद्वारअघि भेटिएका एकजना नागरिकले भने । सुनसान होला भनेर यहाँ आइपुगेको बताउने ती नागरिक पार्कको प्रवेशद्वारमै यति ठूलो भीड देखेपछि गेटबाटै फर्के । बीरेन्द्र चोक र विपी चोकमा स्वास्थ्य सावधानीका व्यानर टाग्न भ्याउने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले पार्कको भीडलाई कुनै वास्ता गरेको छैन, किनकि पार्कमा आउने–जाने तुलसीपुरबासी होइनन्, अर्थात पार्कको भीडले कोरोना फैलाउने होइन । उपमहानगरपालिका पनि यो विषयमा बेखवर छ ।

‘पार्क नजिकै तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष टोपबहादुर केसीको घर छ । वडाध्यक्ष पनि पहिलो लहरको कोरोनाले संक्रमितसमेत बनेका हुन् । तर स्वास्थ्य सावधानीको अधिकतम ख्याल गर्नुपर्ने यो समयमा शान्तिपार्कले कोरोना संक्रमणको भय फैलाइरहेको समयमा उनै वडाध्यक्षसमेत मौन छन् । ‘पार्कमा त्यति भीड छ भन्ने बल्ल सुने, यो विषयमा उपमहानगरपालिकामा कुरा राख्ने छु’, वडाध्यक्ष केसीले भने । उनको भनाइमा उपमहानगरपालिकाले तुलसीपुर बजारमा त्यति ठूलो भीडभाड हुने मेला लगाउन दियो भने पार्क बन्द गर्नुको के अर्थ ?

वडाध्यक्ष आफूले पार्कमा बुझ्दा सामाजिक दूरी कायम गरेर आगन्तुकहरुलाई भित्र प्रवेश दिइरहेको पाएको बताए । तर यथार्थ यस्तो छैन । बस रिजर्भ गरेरै पार्कमा मनोरञ्जन गर्न जानेहरुबाट कसरी स्वास्थ्य सावधानीको सम्भावना रहन्छ ? नगरपालिकाका स्वास्थ्य अधिकारीहरुले बुझ्ने होइन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन महाशाखाका कोरोना फोकल पर्सन विमल केसीले यो विषयमा उपमहानगरपालिकामा जानकारी गराउने मात्रै भनेका छन् । तर पार्क बन्द गराउने वा खोल्ने निर्णय आफ्नो शाखाको नभएको बताए ।

कोरोना संक्रमणले विकसित राष्ट्रहरु नै संकटमा रहेको अवस्थामा नेपाल जस्तो मुलुकले स्वास्थ्य सावधानीमा हेलचक्राइँ गर्नु नितान्त दुःखद् अवस्था भएको जानकाहरु बताउँछन् । कोभिड–१९ को संक्रमणबाट बच्न भीडभाड हुने सार्वजनिक गतिविधिमा सरकारले कडाइँ गरेको छ । सरकारले कोभिड–१९ महामारी तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश जारी गर्दै सार्वजनिक स्थानमा भीडभाड गर्न रोक लगाएको हो । राजनीतिक दल तथा अन्य संघसंस्थाले आमसभा, जुलुस र सम्मेलन गर्न पाउँने छैनन् भनिएको छ ।

कुनै पनि सांस्कृतिक समारोहमा समेत बढीमा २५ जनाभन्दा धेरै सहभागी हुने कुनै कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय दाङले समेत निर्देशन जारी गरिसकेको छ । सपिङ मल, डिपार्टमेण्ट स्टोरहरूमा एक पटकमा बढीमा २५ जनामात्र सहभागी हुन पाउने नियम छ । तर शान्तिपार्कले यी सबै सावधानीलाई गिज्याइरहेको देखिएको छ ।

हामीलाई बन्द गर्न भनिएको छैन : पार्क अध्यक्ष भण्डारी

यसै प्रसंगमा राप्ती शान्ति पार्क गणेशपुरका पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले आफूलाई तुलसीपुर उपमहानगरपालिकाले पार्क बन्द गर्न नभनेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा कोरोना संक्रमणको सन्दर्भमा जारी स्वास्थ्य सावधानी सम्बन्धी निर्देशनका विषयमा आफूलाई जानकारी भए पनि उपमहानगरपालिकाले यो विषयमा कुनै जानकारी नगराएकाले पार्क पूर्ववत्रुपमा सञ्चालनमा आएको पनि उनले बताएका छन् ।

‘हामीले भीड लिएर नआउनुहोला भनेका छौं, साथै स्वास्थ्य सावधानी अपनाएर घुम्नुहोला भनेका छौं, त्यस्तो भीडभाड भएजस्तो त लाग्दैन’, भण्डारीले भने– ‘यसमा हामीलाई तुलसीपुर उपमहानगरपालिकाले कुनै पत्राचार गरेको छैन ।’ उनको भनाइमा हाल पार्कमा फाटफुटरुपमा मात्र आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको र उनीहरुलाई स्वास्थ्य सावधानी अपनाएर घुम्न भनेको पनि सञ्चालक समिति अध्यक्ष भण्डारीको भनाइ थियो । पार्क बाहिरको पिकनिक स्पटमा दैनिक कति संख्यामा उपस्थित हुन्छन् भन्ने पनि एकिन तथ्यांक पार्क व्यवस्थापनसँग हुँदैन । किनकि त्यहाँ कुनै पनि व्यक्तिगत प्रवेश शुल्कको व्यवस्थापन हुन सकेको छैन ।

कोभिड रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीले भरथेग प्रयास गरिरहँदा पनि आफूलाई सर्वशक्तिमान ठान्ने स्थानीय सरकारहरुले भने कोरोना रोकथाम र नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम अर्थपूर्णरुपमा सञ्चालन गर्न सकेका छैनन् । संघीय सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालनाका निर्देशनहरुलाई पनि स्थानीय सरकारले कार्यान्वयनमा ल्याउने कुनै पहल गर्न नसकेको बताइएको छ । केही स्थानमा विभिन्न सरोकारवालाहरुले सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

मास्क प्रयोग अनिवार्य, कोभिड सचेतना भन्दै कार्यक्रम प्रमुख जिल्ला अधिकारीकै सहभागितामा भने भइरहेका छन् । त्यस्तै अहिले समुदायस्तरमा कोभिड पुगेको आशंकामा सामाजिक गतिविधिमा कडाइँ गरेको छ । कोरोनाको ग्राफ उकालो लाग्दै गर्दा जिल्लामा धार्मिक जमघट, पर्यटकीय मनोरञ्जनात्मक स्थल, उद्योग तथा व्यवसाय, सार्वजनिक यातायात, होटल तथा क्लवलगायत सरकारी सेवा प्रदायक निकायहरुमा भने भीडभाड दिनदिनै बढिरहेको अवस्थाले कोरोना संक्रमणको चेनब्रेक निकै चुनौतीपूर्ण बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।