विकासशील मुलुकहरुले दुई डोज खोप पूरा गरी आफ्ना सबै नागरिकहरुलाई बुष्टर डोजसमेत उपलव्ध गराइसकेको अवस्थामा नेपालमा बालबालिकालाई अझै पनि पूर्णरुपमा कोरोना भाइरसविरुद्धको खोप उपलव्ध गराइएको छैन । नेपालमा अठार बर्ष उमेर समूहका नागरिकहरुले धमाधम खोप लगाइरहेका छन् । धेरैले दुवै डोज खोप लगाइसकेका छन् । केही प्रतिशत नागरिकहरु दोस्रो डोज लगाउन बाँकी छन् भने केही नागरिकहरु अझै पनि खोप सेवाबाट बञ्चित भएका छन् ।
त्यसमा ठूलो हिस्सा विद्यार्थीहरुको रहेको छ । त्यसमा पनि बालबालिकाहरु अधिकांश रहेका छन् । मुलुकभर अग्रपंक्तिका नागरिकहरुलाई बुष्टर डोज लगाइरहँदा खोप नलगाएकै कारण देखाउँदै सरकारले सबैभन्दा पहिले निजी तथा सामुदायिक विद्यालय बन्द गराएको छ । कोरोना भाइरसको तेस्रो लहर व्यापक बनिरहँदा विद्यालयहरु बन्द गरिएका छन् तर उनीहरुलाई द्रुत गतिमा खोप अभियान सञ्चालन हुन सकेको छैन । दाङ जिल्लामा पनि घोराहीका विद्यार्थीहरुबाहेक अन्य पालिकामा विद्यार्थीहरुका लागि खोप उपलव्ध गराउन अझै सुरु गरिएको छैन । तेह्र बषदेखि १८ बर्ष समूहभित्र हजारौं विद्यार्थीहरु खोप लगाउनबाट बञ्चित भएका छन् ।
विद्यालय बन्द गरेर अनलाइन शिक्षाको अभ्यास त सुरु भएको छ । तर दुई बर्ष बितिसक्दा पनि अनलाइन कक्षाको प्रभावकारिता सकारात्मक देखिन सकेको छैन । नेपालजस्तो सूचना प्रविधिको सहज पहुँच नै स्थापित नभैसकेको मुलुकमा अनलाइन कक्षा प्रभावकारी हुन अझै केही बर्ष लाग्ने छ । अर्को कुरा विद्यालय बन्द गरेर मात्र विद्यार्थीहरु सुरक्षित छैनन् ।
विद्यालय बन्द भएपछि विद्यार्थीहरु पनि अन्य नागरिकसरह पार्क, भोजभतेर र सभा–सम्मेलनमा भने उपस्थित हुन छाड्न सकेको अवस्था छैन । एकातिर संक्रमणको जोखिम पनि कम भएको छैन भने विद्यालय बन्द हुँदा लाखौं विद्यार्थीहरुको पठन–पाठन ठप्पप्रायः रहेको छ । मुलुकभर यति धेरै खोप स्टक भएको बताइरहँदा विद्यार्थीहरुलाई लगाउन मिल्ने खोप पनि ठूलो मात्रामा मन्त्रालय र विभागका स्टोरहरुमा थन्काइएको छ । तर विद्यार्थीहरुले स्टोरमा भएको खोप पनि लगाउन नपाउनु आफैमा दुःखद् पक्ष पनि हो ।
कोरोना भाइरसको संक्रमणले आर्थिक क्षेत्र, व्यापार व्यवसाय, पर्यटन, होटल व्यवसाय जताततै प्रभाव पारे पनि सबैभन्दा बढी प्रभाव विद्यार्थीहरुको शिक्षामा पारेको छ । कोरोनाको संक्रमणकैबीच दुईवटा शैक्षिक सत्रहरु पूरै खेर गइसकेका छन् । यद्यपि सरकारले जवर्जस्तरुपमा विद्यार्थीहरुलाई कक्षा उत्तीर्ण गराइरहेको छ । यसले शैक्षिक गुणस्तर कायम हुन सक्दैन । गुणस्तरहीन उत्पादनबाट राज्यले प्रतिफल लिन सक्दैन । यो अवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय गरी तीनै तहका सरकारहरु विद्यालय शिक्षामा बढी संवेदनशील हुन आवश्यक छ ।
किनकि बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरु क्षमतावान नभएसम्म मुलुकले भविष्यमा समृद्धि हासिल गर्न सक्दैन । यस अर्थमा पनि कोरोना भाइरसको संक्रमणबाट बालबालिका विद्यार्थीलाई जोगाउनका साथै उनीहरुलाई स्तरीय शिक्षा प्रदान गर्नु पनि राज्यको दायित्व हो । यो अवस्थामा अब सबै विद्यार्थीहरुलाई खोपमा पहिलो प्राथमिकतामा राख्न आवश्यक छ । त्यसपछि मात्रै बुष्टर डोजको अभ्यास सुरु गरौं । विद्यार्थीहरुलाई यथाशीघ्र खोपको व्यवस्थापन गरी विद्यालय शिक्षा सुचारु गरौं ।