‘निष्पक्ष कलम चलाउ’

गोरक्ष समाचारदाता
तुलसीपुर, ९ माघ । ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ पत्रकारहरूले कलम चलाउँदा निष्पक्ष भएर चलाउनु पर्ने सहभागीहरूले विचार राखेका छन् । स्वतन्त्र पत्रकार संघ नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको ‘निष्यक्ष पत्रकारिता र अबको गन्तव्य’ विषयक बहस एवं पदभार ग्रहण कार्यक्रममा सहभागीले पत्रकारहरूका आफ्नो विचार सिद्धान्त भए पनि कलम चलाउँदा निष्पक्ष भएर जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

सहभागीहरूले पत्रकारहरू निष्पक्ष र स्वतन्त्र भएर कलम चलाउनु अहिलेको आवश्यकता रहेको बताए । जुनसुकै दल र संगठनमा आस्था र विचार राख्ने भए पनि पत्रकारिताको मूलमर्मलाई आत्मसात गर्नुपर्ने सहभागीको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले राज्यको मूलप्रवाहबाट पछाडि परेकाहरूको पक्षमा पत्रकारहरूले कलम चलाउनुपर्ने बताइन् ।

उनले समाजले पत्याउने खाले, निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता भएको बताइन् । ‘पत्रकारहरूले पार्टीको झण्डा बोकेर एकपछि एक पत्रकारिता गर्नु हुँदैन्, स्वतन्त्र निष्पक्षता र जनताको आवाज बोल्नुपर्छ’, उनले भनिन् । त्यस्तै गौतमले लोकतन्त्र बलियो बनाउन र कर्ममा देखिने खाले पत्रकारिता आजको आवश्यकता भएको बताइन् । उनले पत्रकार महासंघले अब विधागत पत्रकारिता तालिम र पत्रकारहरूको क्षमता वृद्धिका लागि विभिन्न तालिमहरू सञ्चालन गर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय समाचार समिति तुलसीपुरकी प्रमुख नारायणी रजौरेले पत्रकारिता पेसा, अवसर र चुनौती दुवै किसिमको भएको भन्दै निष्पक्ष पत्रकारिता आजको मुख्य विषय भएको बताइन् । ‘पत्रकारिता आफैमा चुनौती र अवसरको पेसा हो, यसलाई मर्यादित तरिकारले अगाडि लैजानसके धेरै अवसरहरू छन्’, रजौरेले भनिन् । उनले सभ्य समुन्नत समाज निर्माणका लागि कलम चालउनु पर्ने भन्दै श्रमजीवीहरूले पारिश्रमिक, नियुक्तिपत्र र उनीहरूलाई सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बाताइन् । ‘श्रमजीवीहरूको श्रमिकको पारिश्रमिक र आफ्नो हकहितका सुनिश्चिता सबैले गर्नुपर्छ’, उनले भनिन् ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष विष्णुकुमार देवकोटाले निष्पक्ष पत्रकारिता अबको गन्तव्य भएको भन्दै स्वतन्त्र पत्रकारिता हुन नसकेको बताए । उनले एउटा मिडियाले समाचार प्रकाशन गर्ने अर्को मिडियाले खण्डन गर्ने परम्परा रहेको भन्दै त्यो गलत भएको बताए । ‘पत्रकार भनेपछि त्यो युटुव चलाउनुहोस् वा ठूलो मिडियामा काम गर्ने सबै एकै हुन तर त्यो यहाँ हुन सकेको छैन’, उनले भने । उनले आग्रह, पूर्वआग्रह राखेर कोही कसैले पनि काम गर्न नहुने भन्दै स्वतन्त्र पत्रकारिता अझै पनि नभएको बताए ।

उनले अहिले डिजिटल मिडिया धेरै स्थापना भएको भन्दै अब त्यसलाई व्यवस्थापन र त्यसमा काम गर्ने पत्रकारहरूको क्षमता वृद्धिमा सम्बन्धित निकाय लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष जितसागर जिएमले पत्रकारहरूले कलम स्वतन्त्र निष्पक्ष रूपमा चलाउनुपर्ने बताए । ‘जुनसुकै दल र संगठनमा आस्था राख्ने सबैलाई छुट छ, हाम्रो उद्देश्य भनेको कलम स्वतन्त्र निष्यक्ष रूपमा चल्नुपर्छ भन्ने हो’, उनले भने ।

स्वतन्त्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष जिएमको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का वडा सदस्य रामबहादुर जिसी, कार्यपालिका सदस्य दीपक कुमाल, स्वतन्त्र पत्रकार संघका सल्लाहकार सुनिल पोख्रेल, नेपाल पत्रकार महासंघकी सहसचिव दीप्तिशिका चौधरी, डब्लुडब्लुजेका सचिव शर्मिला डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुन, सञ्चारिका समूहकी सचिव निरला अर्याल गैरे, शिक्षा पत्रकार संघका अध्यक्ष गोपाल शर्मा भट्टराई, दलित पत्रकार संघका अध्यक्ष बसन्त परियारलगायतले बोलेका थिए ।

सहसचिव रमा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त पौडेलले गरेका थिए । सो अवसरमा नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष जितसागर जिएम, उपाध्यक्ष पुरुषोतम अधिकारी, सचिव बसन्त पौडेल, सहसचिव रमा नेपाली, कोषाध्यक्ष डिला चौधरी, सदस्यहरू मनोजकुमार आचार्य, श्वेता थापा, मनिष विक, शिव उपाध्यायले पदभार ग्रहण गरेका थिए ।