‘एक वर्षभित्र तीन तहका निर्वाचन’

प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार बनेको ६ महिनापछि शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी रहन निर्देशन दिए । प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गरे ।

‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु’, उनले भने । प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको समेत जनाए । उनले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिनाअघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिबद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उनले अर्थतन्त्र र सामाजिक क्रियाकलामा सकेसम्म कम असर पर्नेगरी व्यवस्था मिलाउने बताए । प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताए । उनले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पु¥याउने दाबी गरे ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन, कानुनी राज्य, सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा विभिन्न पक्षसँगको सहमतिको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूको सहमतिमा नागरिकताको समस्या समाधान गर्ने, संघीयता कार्यान्वयन गर्ने एवम् प्रदेश र स्थानीय सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको दावि समेत गरे ।

‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ,’ देउवाले भने । प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए । प्रधानमन्त्री देउवाले १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले पुस मसान्तसम्म १ करोड ५६ लाख ६ हजार २१ लाई एउटा मात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको बताए । उनले यो अवधिमा सरकारले ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९९५ खोप वितरण गरिएको बताए । यसैगरी उनले सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको बताए ।

त्यस्तै, अक्सिजनको पर्याप्त आपुर्ति तथा भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार गरिएको उनले बताए । प्रधानमन्त्री देउवाले विपदमा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपूर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको बताए । उनले कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको समेत बताए । कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सामाजिक क्रियाकलाप एवम् नियमित कायरु सुचारु गरिएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा अग्रभागमा रहेकालाई बुष्टर डोज उपलब्ध गराइएकोमा आगामी दिनमा बालबालिका, वृद्धवृद्धा एवं सबैमा यो खोपको उपलब्धता गराउने बताए । ‘विद्यालयका छात्रछात्रालाई पनि समयमै खोप उपलब्ध गराउने र औषधिहरु सहजरुपमा उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ’, प्रधानमन्त्री देउवाले भने । बालबालिकालाई खोपको अभियान छिट्टै प्रारम्भ हुने उनले बताए । सरकारले कोभिड–१९ तथा नयाँ संक्रमणहरुको चुनौती सामना गर्न सरकारी अस्पतालको पूर्वधारमा सुधार गरेको उनले बताए ।

‘कोभिड–१९ नियन्त्रण गर्दै नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइएको छ’, उनले भने– ‘सामाजिक क्रियाकलापमा पनि अपेक्षित गतिविधि भएको छ ।’ प्रधानमन्त्री देउवाले आफ्नो ६ महिने कार्यकालमा १ सय ७७ किलोमिटर सडक कालोपत्रे भएको समेत बताए । उनले भनेका छन्– ‘संघको कार्यक्षेत्र अन्तर्गत मुलुकभर १७७ किमि सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भई सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए । भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए । यस वर्षभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले बताए ।