स्वास्थ्य चौकी नामका एम्बुलेन्सहरु अस्पतालमा क्यु

खेमराज रिजाल
तुलसीपुर, ७ माघ । ‘हाम्रो स्वास्थ्य चौकीका लागि भनेर आएको एम्बुलेन्स हामीले एक बर्षमा एक÷दुई पटक मात्र यहाँ देखेको हो, हामी दुर्गमका स्थानीयले नियमित एम्बुलेन्स सेवा पाउन सकेका छैनौं’, अघिल्लो साता तुलसीपुर उपमहानगरपालिका–१९ तप्पापानी स्वास्थ्य चौकीमा त्यहीँकै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका खिमा वलीले यस संवाददातालाई भनिन् । उनको अभिव्यक्तिलाई स्वास्थ्य चौकी प्रमुख यज्ञ केसीले पनि सहजरुपमा स्वीकार गरेका थिए । आसपासका बस्तीमा बुझ्दा उनीहरुले पनि उद्घाटनकै दिनमात्रै एम्बुलेन्स स्वास्थ्य चौकीमा देखेका थिए ।

करिब एक बर्षअघि स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले भनेका थिए– ‘अब एम्बुलेन्सको अभावमा तपाईहरुले बिरामीलाई अस्पताल पु¥याउन नसक्ने अवस्था हुने छैन ।’ स्थानीय स्वास्थ्य चौकी र यहीकै नागरिकको सरसल्लाहमा एम्बुलेन्स सेवा ग्रामीण बस्तीसम्म पु¥याउनु होला । त्यसयता न स्वास्थ्य चौकीमा एम्बुलेन्स चालकको उपस्थिति रजिष्टरमा रेकर्ड गरिएको छ, नत स्वास्थ्य चौकीलाई एम्बुलेन्सले कहाँ कसको सेवा गरिरहेको छ भन्ने नै जानकारी छ । ‘यहाँको एम्बुलेन्स त स्वास्थ्य प्रवद्र्धन महाशाखाको मातहतमा सञ्चालन हुँदै आएको छ, यहाँबाट फोन गर्दा त कहिले बिग्रिएको त कहिले अन्तै गएको जवाफ आउँछ’, स्वास्थ्य चौकी इन्चार्ज केसीले भने– ‘अचेल त बिग्रिएर ग्यारेजमा भन्ने सुनेको छु ।’

तुलसीपुर उपमहानगरपालिका–१३ फुलवारी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको एम्बुलेन्स पनि हस्तान्तरण समारोहको दिन मात्रै गाउँलेले देखेका थिए । त्यसपछि एम्बुलेन्स कहाँ छ थाहा छैन, स्थानीयबासीलाई । अपर्झट बिरामी अस्पताल लग्नुपरे नजिकैका अटोको सहारा लिँदै आएको स्थानीयबासीले बताएका छन् । उनीहरुले तुलसीपुर उपमहानगरपालिकाकै हलमा यसबारे पटक–पटक उपमहानगरपालिकाका जनस्वास्थ्य शाखाका अधिकारी, महिला तथा बालबालिका शाखाका अधिकारीलगायत जनप्रतिनिधिलाई पनि गराए । तर स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा पाउन सकेनन् ।

उपमहानगरका विभिन्न वडाका स्वास्थ्य चौकीको नाम लेखिएका यस्ता सबै एम्बुलेन्सहरु राप्ती प्रादेशिक अस्पतालको क्युमा देखिन्छन्, दिनभरी । उनीहरुलाई तोकिएको स्वास्थ्य चौकी क्षेत्रका बिरामीको भन्दा बढी प्राथमिकता प्रादेशिक अस्पतालबाट रिफर भएर टाढाका अस्पतालमा बिरामी पु¥याउन हुने गरेको छ । चालक स्वयं नै गाउँका चौकीमा दिनभर कुरेर मात्रै आफ्नो गुजारा चल्न नसक्ने बताउने गरेका छन् । यस्ता एम्बुलेन्स चालकलाई उपमहानगरपालिकाले मासिक तलवको समेत व्यवस्थापन गर्न सकेको छैन ।

मानपुर स्वास्थ्य चौकीको पनि अवस्था यस्तै छ । डुरुवा स्वास्थ्य चौकीमा पनि नियमितरुपमा एम्बुलेन्स सेवा उपलव्ध छैन । पवननगर स्वास्थ्य चौकीमा पनि उद्घाटनको एक÷दुई महिना चौकीमा देखिन्थ्यो तर अचेल त्यहाँ पनि एम्बुलेन्स देखिँदैन । एउटा एम्बुलेन्स तुलसीपुर मेट्रो हस्पिटलमा भने प्रायः नियमित देखिने गरेको त्यस क्षेत्रका स्थानीयबासीले बताएका छन् । एक महिनाअघि तुलसीपुरमा मानव अधिकार समूह तथा इन्सेकले आयोजना गरेको खाद्य सुरक्षा, स्वास्थ्य तथा शिक्षामा नागरिक पहँुच विषयक अन्तक्र्रियामा सहभागीहरुले तुलसीपुर उपमहानगरपालिका–१३ फुलवारी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स बिरामी छाड्नकै लागि मात्र फुलवारी पुग्ने गुनासो सहभागीहरुले गरे । फुलवारीका स्थानीयबासी बिरामी परेको समयमा वडाबासीले कहिल्यै पनि आफ्नो स्वास्थ्य चौकीका नाममा आएको एम्बुलेन्स सेवा पाउन सकेनन् । बिरामी ओसार्ने एम्बुलेन्स भनेको गाउँका अटो नै भएका छन् ।

गएको पुस २९ गते तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौर तप्पापानीस्थित स्वास्थ्य चौकीमा एम्बुलेन्स थिएन । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भीड स्वास्थ्य चौकीमा मासिक प्रतिवेदन बुझाउन केन्द्रित थियो । यहाँको एम्बुलेन्स अचेल यहाँ आउँदैन ? पत्रकारको जिज्ञासामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले एक स्वरमा भनिरहेका थिए– ‘यहाँ त सुरुआती दुई÷चार दिन हामीले एम्बुलेन्स देखेका थियौं तर अचेल करिब एक बर्षदेखि चौकी आसपासमा एम्बुलेन्स देखिएको छैन । पत्रकारहरुले स्वास्थ्य चौकीबाटै एम्बुलेन्स चालकलाई फोन गरे ।

एम्बुलेन्स चालकको जवाफ थियो– ‘एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ ।’ एम्बुलेन्स ग्यारेजमा थन्किएको विषयमा न तप्पापानी स्वास्थ्य चौकीलाई आधिकारिक जानकारी छ, नत तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखालाई नै । कसले मोनिटरिङ गरिरहेको छ, एम्बुलेन्सहरुलाई ? नगरपालिकाले, स्वास्थ्य चौकीले वा चालकको स्वविवेकले आम नागरिकको यो प्रश्न अनुत्तरित छ ।

‘मेयरसापले उद्घाटन गरेको दिन एम्बुलेन्स देखेका थियौं तप्पापानी चौकीमा तर त्यसपछि यहाँ एम्बुलेन्स कहिल्यै देखेनौँ’, एकजना स्थानीय महिलाले गुनासो पोखिन्– ‘यहाँ एम्बुलेन्स ल्याएको त सस्तो लोकप्रियताका लागि मात्रै थियो, हामीहरुलाई सहज स्वास्थ्य सेवाका लागि थिएन ।’ चालकलाई सोध्यो धेरैजसो फोन नै उठ्दैन । उठिहाले पनि एम्बुलेन्स बाहिर गएको छ भन्ने जवाफ आउँछ, कहिले बिग्रिएको भन्ने । एम्बुलेन्स कहाँ छ भन्ने स्वास्थ्य चौकीलाइ पनि कहिल्यै औपचारिक जानकारी भएन ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले आर्थिक बर्ष २९७४÷७५ सालमा ८ वटा एम्बुलेन्स खरिद गरी दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले यति धेरै एम्बुलेन्सलाई राजश्व छुटको सिफारिस गरेन । उपमहानगरपालिकाले त्यो पटक ३ वटा मात्रै एम्बुलेन्स खरिद ग¥यो । ती एम्बुलेन्सहरु तुलसीपुर उपमहानगरपालिका–२ पवननगर स्वास्थ्य चौकी, तुलसीपुर उपमहानगरपालिका–१३ फुलवारी स्वास्थ्य चौकी र तुलसीपुर उपमहानगरपालिका–१९ तप्पापानी स्वास्थ्य चौकीलाई उपलव्ध गराइयो ।

एम्बुलेन्स सञ्चालनको समन्वय स्वास्थ्य चौकीले गर्ने निर्णय पनि उपमहानगरपालिकाले ग¥यो । तर एम्बुलेन्सहरु स्वास्थ्य चौकीको निगरानी र नियन्त्रणमा छैनन् । चालककै तजविजमा कहिले नेपालगञ्ज त कहिले बुटवल–काठमाडौँका लागि क्युमा लागिरहेका हुन्छन्, एम्बुलेन्सहरु तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा । अहिले पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दिनभरजसो तुलसीपुर उपमहानगरपालिकाका एम्बुलेन्सहरु बिरामीलाई जिल्ला बाहिर लैजाने क्युमा बसिरहेका हुन्छन् । बेलगाम छन्, उपमहानगरपालिकाका एम्बुलेन्सहरु ।

त्यसपछि राजश्व छुट नभए पनि उपमहानगरपालिकाले थप ५ वटा एम्बुलेन्स खरिद ग¥यो, स्वास्थ्य चौकीकै नाममा । ती एम्बुलेन्सको कार्यक्षेत्र तोकियो । एउटालाई तुलसीपुर मेट्रो हस्पिटल, डुरुवा, मानपुर र तुलसीपुर–११ को स्वास्थ्य चौकी । तर ती कार्यक्षेत्र तोकिएका एम्बुलेन्सहरुको पनि कार्यक्षेत्र तुलसीपुर प्रादेशिक अस्पताल–नेपालगञ्ज नै रही आएको छ ।

गाउँबासीहरुले उपमहानगरपालिकाले राजश्व छुटमा खरिद गरेका एम्बुलेन्स सेवा कहिल्यै पाएनन् । उनीहरुले सुत्केरी व्यथाले च्यापेका गर्भवतीलाई तीनपांग्रे अटोमै अस्पताल पु¥याउन विवश छन् । स्थानीयबासीको रोदन उपमहानगरपालिकाको बोर्डले सुन्न तयार छैन । किनकि स्वास्थ्य चौकीको एम्बुलेन्स दिनभर उपमहानगरपालिकाकै गेटमा रोकिइरहेका छन् । उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुलाई त्यसको कुनै हेक्का छैन सायद ।

अव एम्बुलेन्स सञ्चालन कार्यविधि बनाउँदैछौं ; जनस्वास्थ्य प्रमुख

एम्बुलेन्स सेवाकै विषयमा पत्रकारको जिज्ञासामा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले स्थानीयबासीका गुनासा मनासिव रहेको बताए । उपमहानगरपालिकाले एम्बुलेन्स चालकहरुका लागि मासिक तलव व्यवस्थापन नै गर्न नसकेका कारण यो समस्या भएको स्वास्थ्य प्रमुख न्यौपानेले बताए । ‘हामीले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाउँदैछौं, त्यसपछि सबै एम्बुलेन्सहरुलाई सम्बन्धित स्वास्थ्य चौकीमा फिर्ता पठाइने छ’, न्यौपानेले भने ।

कार्यविधिकै अभावमा चालकले आफ्नो रोजीरोटीका लागि एम्बुलेन्स बजार केन्द्रित गरेको हुनसक्ने उनको अभिव्यक्ति थियो । तुलसीपुर उपमहानगरपालिकाका एम्बुलेन्सहरु लामो दूरीको क्यु खानकै लागि प्रादेशिक अस्पताल तुलसीपुर आसपासमै झुम्मिने गरेको पनि न्यौपानेको अभिव्यक्ति थियो । कोरोना भाइरसको संक्रमण व्यापक भएको अवस्थामा उपमहानगरपालिकाले सबै स्वास्थ्य चौकीका एम्बुलेन्सहरु शव–वाहनका रुपमा प्रयोग गर्न उपमहानगरपालिकामा तानेको भए पनि पछिल्लो समयमा भने एम्बुलेन्सहरु सम्बन्धित स्वास्थ्य चौकीमा पठाइएको बताएका छन् । तर उपमहानगरपालिकाले फिर्ता पठाएको भनिएका ती एम्बुलेन्सहरु कता हराएका छन्, नागरिकहरुमात्र होइन, सम्बन्धित स्वास्थ्य चौकीका इन्चार्जहरु पनि बेखवर छन् ।