वातावरण विद्यार्थी संगठनमा नेतृत्व …

साल, महिना उनलाई अहिले याद छैन तर आइएस्सी अमृत साइन्स क्याम्पस, लौनचौर काठमाडौंमा बिएस्सी त्रिचन्द्र कलेज काठमाडौं र एमएस्सी इन्भायरमेन्ट साइन्स खोप कलेज भक्तपुरबाट अध्ययन गरेका भोजराज न्यौपानेले आफ्नो पहिलो खुसीलाई वातावरण विद्यार्थी संगठनको नेतृत्व गरेको दिनलाइ स्मरण गरे । आफ्नो इच्छाको विषय पढिरहँदा त्यहीसँग सम्बन्धित विद्यार्थीहरूलाई एकीकृत गरी वातावरणमा राजनीति गर्ने संस्था थियो, वातावरण विद्यार्थी संगठन ।

जताततै वातावरणीय विनाश र जलवायु परिवर्तनका कुरा भइरहँदा विद्यार्थी समुदायमा पनि त्यसको बहस बाक्लै हुन्थ्यो । मैले त्यसलाई किन पनि खुसीको क्षणका रूपमा लिएको हुँ भने अहिलेको चुनौती भनेकै वातावरणको हो । विश्व समुदाय नै खराब वातावरणका कारण अत्तालिइरहेको अवस्थामा मजस्तै धेरै विद्यार्थीहरूबाट वातावरणका विषयमा वकालत गर्न बनेको एउटा संगठनको नेतृत्वमा पुगेको थिएँ, म । त्यो पनि चुनावी प्रतिस्पर्धामा एक मतले प्रतिस्पर्धीलाई उछिनेर ।

एमएस्सी पढ्दा खोप कलेजमा पहिलो पटक वातावरण विद्यार्थी संगठनको अध्यक्षमा चुनाव जित्दाको क्षण उनले स्मरण गरे । ‘काठमाडौंमा त्रिचन्द्र कलेज पढ्दाखेरि “आभाष” नाम गरेको साहित्यिक पत्रिका प्रकाशन गरेका थियौँ, मेरै पहलमा साथीहरूसँग मिलेर । मैले नेपाल विद्यार्थी संघको राजनीति अलिअलि गरेको थिएँ’, न्यौपानेले भने ।

एमएस्सी पढ्दा खोप कलेजमा पहिलो पटक वातावरण विद्यार्थी संघ गठन गर्ने बेला कतैबाट पनि सहमति नभएपछि चुनाव भएको र आफूले १ मतले अध्यक्षमा विजयी प्राप्त गर्दा अर्को खुसी मिलेको उनले सुनाए ।जीवनका उकाली–ओरालीहरूमा जीवन संघर्षसँगै खुसीहरू त धेरै छन् । सधैँ  आशावादी र समाजमा बस्दै गर्दाखेरि सबैसँग मिलेर बस्नु पर्छ, सहकार्य र सहभागितामा जोडिनु पर्छ भन्ने सोचले सबै क्षेत्रमा क्रियाशील छु ।

 डिभाइन टेम्पल एकेडेमीका प्रिन्सिपल तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन, (नेसनल प्याब्सन) दाङका उपाध्यक्ष समेत रहेका भोजराज न्यौपानेले आफू सधैँ खुसीका साथ कर्म गर्ने गरेको बताए । उनले आफूले गर्ने सबै कर्ममा सधैँ खुसीका साथ लाग्ने गरेको सुनाए । पेशाले शिक्षा क्षेत्रमा लागेका न्यौपानले सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने गरेका छन् । मिजासिला, कर्मशील सबैको मनमा बस्न सफल न्यौपानेले जीवनका दौरानमा धेरै खुसीहरू भए पनि उनले आफ्नो अर्को खुसी एसएलसीमा प्रथम श्रेणीमा पास भएको दिनलाई सुनाए ।

तुलसीपरको राप्ती विद्यामन्दिरमा कक्षा ६ देखि अध्ययन सुरु गरी एलएलसी पास गरेका न्यौपानेले त्यो बेला रेडियो नेपालले प्रमुख समाचारको रूपमा एसएलसीको रिजल्ट आयो भनेको सम्झिए । पहिले अहिलेजस्तो सञ्चारको विकास नभएको र त्यो बेला गोरखापत्रमा रिजल्ट आउने गरेको उनले बताए ।

‘रिजल्ट आएको दिन रातभरि निद्रा लागेन, त्यो बेला हामी मानपुर–२ सजनेवा गाउँमा बस्थ्यौँ’,–उनले भने, ‘म बिहानै तुलसीपुर बजारमा गोरखापत्र हेर्न आएँ, त्यो दिन दाङसम्म पत्रिका नै आइपुगेको रहेनछ, फेरि अर्को दिन आयो अनि १० रुपैयाँ तिरेर आफ्नो सिम्बोल हेरेँ र म प्रथम श्रेणी ल्याउन सफल भएको रहेछु, त्यो देखेपछि खुसी हुँदै घरमा सबैलाई सुनाउँदा सबैजना खुसी हुनुभएको थियो, मेरोे खुसी एसएलसीमा प्रथम स्थान हासिल गर्दाको पनि हो, त्यही लेखिदिनुहोला ।’ त्यतिबेला एसएलसी पास गर्नु भनेको फलामको गेट पार गर्नुजस्तै थियो ।

सल्यान जिल्लाको हाल वनगाड कुपिण्डे नगरपालिकामा जन्मिएका न्यौपानेले अन्य व्यक्तिहरू पढेर विदेशिने गरे पनि उनले नेपालमै केही गर्नुपर्छ भनेर दाङ आएर आफ्नै पहल र लगानीमा साथीहरूसँग मिलेर डिभाइन टेम्पल एकेडेमी २०६५ सालमा तुलसीपुर–६ गोलौरामा सञ्चालन गरेको बताए । ‘त्यो बेला हामीले जम्मा ४० जना विद्यार्थी पायौँ र पनि म अत्यन्तै खुसी भएको थिएँ । पछि स्कूलले आफै गति लियो ।

अहिले स्कूलमा कक्षा १२ सम्म पढाइ हुने भएको छ भने करिब–करिब १ हजार जति विद्यार्थी हामीसँग छन्, यो पनि मेरो लागि अर्को खुसी हो’, न्यौपानेले भने । उनले सबैको माया, सद्भाव र अग्रजहरूको सम्मान पाउँदा खुसी लाग्ने गरेको सुनाए । उनीले आफ्नै गाउँ–ठाउँमा शिक्षाको उज्यालो पाढ्न पाउँदा निकै खुसी लागेको सुनाए । आफैले खोलेको स्कूलमा असहाय, टुहुरा र पढाइ राम्रो भएका साना बाबुनानीहरूलाई छात्रवृत्तिमा पढाएर सेवा गर्न पाउँदा पनि अर्को खुसी लाग्ने गरेको सुनाए ।

‘हामीले पढाएका धेरै विद्यार्थीहरू अहिले विभिन्न स्थानमा पुगेका छन्, उनीहरूले सम्झने गर्छन्, त्यसमा झन खुसी मिल्छ’, न्यौपानेले भने । उनले शिक्षा सँगसँगै सेवा र समाजमा पनि सहयोग गर्नुपर्छ भनेर अन्य विभिन्न सामाजिक संस्थामा लागेको सुनाए । दोस्रो कार्यकालको लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन, (नेसनल प्याब्सन) दाङ को उपाध्यक्षमा रहेर विद्यालय तथा विद्यार्थीहरूको हकहितका लागि काम गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।

‘पहिलो पटक उपाध्यक्ष हुँदा म धेरै खुसी भएको थिएँ, सबै साथीभाइहरूको सहयोग र हौसलाले मलाई यहाँसम्म पु¥याएकोमा पनि खुसीछु’, न्यौपानेले भने । त्यस्तै तुलसीपुर नगर जेसीज, लायन्स क्लव अफ दाङमा लागेर विभिन्न सामाजिक सेवा गर्न पाउँदा पनि आफूलाई खुसी प्राप्त हुने गरेको उनले बताए । सामाजिक सेवासँगै विस्तारै आफू राजनीतिमा आएको भन्दै उनले नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ क बाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुँदा अर्को खुसी लागेको सुनाए ।

‘मलाई विश्वास गरेर सबैले मत दिएर विजयी बनाउनु भयो, म यसमा पनि खुसी छु’, न्यौपानेले भने । उनले आफू शिक्षा क्षेत्र, समाजसेवा र राजनीतिमा लाग्दा घरपरिवार, साथीभाइको सहयोग पाएकोमा पनि खुसी व्यक्त गरे । ‘म यहाँसम्म आउनुमा मेरी श्रीमती, घरपरिवार सबैको हात छ, सबैको माया, सहयोग र साथले सफल भएको छु, म यसमा खुसी छु’, न्यौपानेले भने ।