महेन्द्र क्याम्पसमा बिएस्सी सिएसआइटी

दाङ, ५ माघ । महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङले अब बिएस्सी सिएसआइटीको कक्षा सञ्चालन गर्ने भएको छ । त्यसको तयारी पूरा भएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रशासनले कक्षा सञ्चालनको लागि फाराम खुल्ला गरेको र केही समयपछि प्रवेश परीक्षा तय गरेको छ ।

चार वर्षीय यो कक्षाको लागि झण्डै ४ लाख रुपैयाँ लाग्ने छ । विज्ञान तथा प्रविधितर्फ विद्यार्थीको आकर्षण देखिएपछि क्याम्पसले पनि पढाई शुरु गर्न थालेको छ’, मंगलवार क्याम्पसले गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख भरतराज न्यौपानेले भने– ‘चालु शैक्षिक सत्रबाट यो विषयको कक्षा शुरु हुन्छ ।’ त्रिभुवन विश्व विद्यालयले बिएस्सी सिएसआइटी अध्यापन गर्ने अनुमति दिइसकेकाले भर्ना प्रक्रिया शुरु भइसकेको क्याम्पस प्रमुख न्यौपानेले बताए । उनका अनुसार विश्वविद्यालयले अनुमति दिए लगत्तै क्याम्पसमा भर्ना प्रक्रिया शुरु गरिएको हो ।

क्याम्पसले फाराम बुझाउने अन्तिम समय माघ ४ गते मंगलबारसम्म राखेको थियो । तर माघ ११ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने व्यवस्था क्याम्पस प्रशासनले गरेको छ । बिएस्सी सिएसआइटी विषय यस क्षेत्रका लागि नयाँ भएकाले यस विषयमा आम विद्यार्थीमाझ जानकारी दिनुपर्ने सबैको दायित्व भएको क्याम्पस प्रमुख न्यौपानेले बताए । महेन्द्र क्याम्पस साविकको राप्ती अञ्चलमा सबैभन्दा जेठो क्याम्पस भएका लागि पछिल्लो समय नयाँ नयाँ समयानुकूल विषयहरु थप गरिएको बताए ।

‘यो क्याम्पसलाई पहिलेजस्तै विद्यार्थीहरुको आकर्षण हुने शैक्षिक केन्द्र बनाउन चाहन्छौं,’ उनले भने– ‘समयको विकासक्रमसँगै हामीहरु पनि परिमार्जित हुन जरुरी छ’, उनले भने । पत्रकार भेटघाटमा सहायक क्याम्पस प्रमुख कुलबीर चौधरीले महेन्द्र क्याम्पसमा पछिल्लो समय नयाँ–नयाँ विषयहरु थपिँदै गएको बताए । केही वर्ष अघिदेखि सो क्याम्पसमा बिबिएको समेत पढाइ शुरु भएको थियो । विज्ञान तथा प्रविधि विषय ४ वर्षको हुने चौधरीले बताए । उनका अनुसार स्नातक तहमा विज्ञान तथा प्रविधि विषय पढ्नका लागि +२ मा साइन्स विषय लिएर गणित र फिजिक्स विषयमा कम्तीमा ‘सी’ ग्रेड लिएर पास गरेको हुनुपर्छ ।

बिएस्सी सिएसआइटी विषय कम्प्यूटर साइन्स र सूचना प्रविधिको विषयलाई समायोजन गरेर पाठ्यक्रम बनेको उनले बताए । ‘हाम्रो बजारमा विज्ञान तथा प्रविधि विषय पढेका विद्यार्थीहरुलाई रोजगारीको सम्भावना निकै राम्रो छ,’ सहायक क्याम्पस प्रमुख चौधरीले भने– ‘यो विषय अध्ययन गरेका विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न अब्बल हुन्छन् ।’ २०१६ सालमा स्थापना भएको यो क्याम्पस अहिले ४ हजार ४ सय ८९ विद्यार्थी अध्ययनरत छन् ।

स्थापनाकालदेखि लामो समयसम्म मानविकी, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गराएको क्याम्पसले केही वर्ष अघिदेखि विज्ञान संकायमा पनि पढाई शुरु गरेको थियो । तीन वर्ष पहिलेदेखि बैंकिङ तथा वित्तीय क्षेत्रका लागि राम्रो रोजगारीको अवसर मानिएको बिबिएको समेत पढाई शुरु गरेको छ । अहिले चौथो व्याचका विद्यार्थीहरुले अध्ययनरत छन् । पत्रकार भेटघाटमा प्रेस काउन्सिल नेपालमा सदस्य शरद अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताए ।

उनले समयको माग अनुसारको नयाँ कोषको पढाई थाल्नु राम्रो भएको भन्दै पूर्वाधारको विकासमा चासो दिन सुझाव दिए । पत्रकार सम्मेलन क्याम्पस प्रमुख न्यौपानेको अध्यक्षतामा भएको थियो । सहायक क्याम्पस प्रमुख मनोज चौधरीले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण अर्का सहायक क्याम्पस प्रमुख चौधरीले गरेका थिए ।