बालाराम खड्का
तुलसीपुर, ४ माघ । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नपाइने बताएको छ । कोभिड–१९ संक्रमणको तेस्रो लहर आएसँगै भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको भए पनि त्यसको कार्यान्वयन भने भएको छैन । स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए पनि विभिन्न सार्वजनिक कार्यक्रमहरु भने चलिरहेको छन् । विद्यालयहरु बन्द भए पनि विवाह, पूजालगायतका धार्मिक कार्यहरु पनि धमाधम चलेका छन् ।
यसले गर्दा अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको विज्ञहरु बताउँछन् । तर बजार तथा अन्य स्थानमा भने स्वास्थ्य मापदण्डको पालना भने भएको छैन् । धेरै जसो माक्सविना नै सार्वजनिक स्थानमा जम्मा हुने र विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । यसले गर्दा जोखिम कायमै रहेको विज्ञहरु बताउँछन् । किनमेल होस् वा अन्य धार्मिक गतिविधिमा पनि मानिसहरुको भीड निकै रहेको छ ।
‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ । ‘अहिले अब कोरोनाको संक्रमण उकालो लागेको छ, अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जाने स्वास्थ्य महाशाखाका बिमल केसीले भने । उनका अनुसार प्रत्येक दिन परिक्षण गरिएकामध्ये ३० प्रतिशतमा कोरोना देखिएको छ । अहिले आएको यो ओमिक्रोन चाँडै फैलने भएकाले पनि यो दर बढी भएको उनले बताए ।
‘त्यति जटिल भने छैन, २–४ दिन गारो हुने गराएको छ’, केसीले भने । त्यसका लागि भीडभाड नगर्ने, दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए । भीडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि उनले बताए । घर–घर कार्यालय कार्यालयमा संक्रमण देखिएको उनले बताए । ‘कार्यालयहरुमा पनि कर्मचारीलाई कोरोना संक्रमण हुँदा काम काजमा निकै समस्या बनाएको छ, लापरबाही र हेल्चेक्राई गर्ने काम छैन’, उनले भने ।
बुस्टर डोज अझै आएन
यसैबीच सरकारले सुरु गरेको कोरोना विरुद्धको बुस्टर डोज खोप जिल्लामा अझै पनि आएको छैन । काठमाडौमा बुस्टर डोज लगाउन सोमवारदेखि सुरु भए पनि जिल्लामा भने अझै पनि नआएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले जिल्लामा खोप नआएका कारण बुस्टरदेखि बालबालिकाहरुलाई खोप लगाउन सुरु नभएको बताए । ‘खोप आएको छैन खोप पाएपछि जिल्ला समन्वय समितिको निर्णय अनुसार खोप सुरु गर्नेछौं’, उनले भने ।
उनका अनुसार माघको ९ गतेसम्म खोप जिल्लामा आउने बताए । खोप आएसँगै माघ १९ गतेभित्र सबैलाई खोप लगाइसक्ने बताए । स्वास्थ्य मन्त्रालयबाट प्रदेश र प्रदेशबाट जिल्लामा खोप आपूर्ति भएसँगै खोप लगाइने उनले बताए । उनका अनुसार जिल्लामा खोप आएसँगै विद्यार्थीहरुलाई स्कुलहरु र अन्यलाई स्वास्थ्य संस्थाबाट खोप लागाइने बताए । ‘घोराहीमा केही दिन पहिले स्टक भएको खोप लगाउन सुरु गरिएको थियो, अन्य स्थानमा अझै खोप आएको छैन’, उनले भने ।
यसैबीच नेपाली कांग्रेस नगर कार्यसमितिले कोभिड–१९ विरुद्धका लागि लगाइने खोपको प्रवन्ध मिलाउन उपमहानगरसमक्ष अपिल गरेको छ । नगर कार्यसमितिले एक विज्ञप्ति जारी गरी कोभिड–१९ को तेस्रो लहरको संक्रमण दिनानुदिन बृद्धि हुँदै गइरहेको सन्दर्भमा बिरामीहरुको प्रभावकारी परीक्षण, संक्रमणको उचित उपचारको व्यवस्थापनका साथै कोभिड–१९ को विरुद्धमा लगाइने खोप आम जनताको पहुँच हुने तरिकाले समयमै उचित प्रवन्ध मिलाइदिनुहुन उपमहानगरपालिका समक्ष अनुरोध गरेको छ । सभापति सुरेश हमाल, सचिव विमल पौडेल, सुशील वली र प्रवक्ता पूर्णबहादुर डाँगीले संयुक्त विज्ञप्ति जारी गरी यस्तो अनुरोध गरेका हुन् ।
यसैबीच सोमवार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ६५ जनामा गरिएको नमुना परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५ सय ४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।
बालबालिकाद्वारा मास्क वितरण
कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको अवस्थामा बालबालिकाहरुले मास्क वितरणसँगै सचेतना कार्यक्रम गरेका छन् । ‘मास्क लगाऔँ, भौतिक दूरी अपनाऔँ, सचेत रहौँ, कोरोनाबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ सर्वोदय बाल क्लवले सोमबार मास्क वितरण र सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
बाल क्लवमा अध्यक्ष श्रीज्वल योगी, घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सर्वोदय पुस्तकालय तथा बाचनालयका अध्यक्ष सुशील गौतम, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायन भुसाल, स्थानीय व्यवसायी मानबहादुर शेर्पाईली, नगरस्तरीय बाल सञ्जालका अध्यक्ष लक्ष्मी श्रेष्ठ, टोलका अध्यक्ष चित्रकान्त आचार्य, स्थानीय नवीन श्रेष्ठलगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
बालबालिका, सरोकारवाला निकाय र समुदाय प्रहरी साझेदारीको टोलीले घोराहीको निमाहल रोड, हस्पिटल रोड हुँदै ट्राफिक चोक, विपी चोक, रझेना चोकसम्म पुगेर पुनः निमाहल रोडमा पुगेर सचेतना अभियान सम्पन्न गरिएको थियो । बजार परिक्रमा गर्दा अधिकांशले मास्कको प्रयोग नगरेको पाइएको थियो । मास्क लगाउनुपर्छ भन्ने ज्ञान भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयनमा भने नागरिकको अटेरी देखिने गरेको छ । कार्यक्रममा सहभागी सबैलाई क्लवमा सहसचिव श्रवण नेपालीले धन्यवाद ज्ञापन गरेका थिए ।