ज्ञवाली चेलीबेटी भेटघाट

ज्ञवाली वंशजका चेलीबेटीहरुले भेटघाटलाई निरन्तरता दिन हरेक महिनाको अन्तिम शनिवारका दिन भेटघाट कार्यक्रम राख्दै आएको सुनाए । यस भेटघाट कार्यक्रमले चेलीबेटीहरु बीचमा एकताको भावना, आपसी ममता, एकअर्काप्रति आदरभाव, शिष्टता, नम्रता, धीरता, सहनशीलता, अनुभवीय ज्ञान र सीपको आनप्रदान गर्ने विषयमा विकास हुने छ । यसले ज्ञवाली चेलीबेटीहरुमा सामाजिक मान्यता बढ्नेछ । आफ्ना सुख–दुःखका अनुभवहरुको ज्ञान गर्ने छन् । सामाजिक मूल्य र मान्यता हुनेछ । आपसी भेटले व्यवहारमा परिवर्तन आउनेछ । नयाँ सोच र समझदारीको विकास हुनेछ । यस्तै यस्तै आशा गर्थे ।

ज्ञवाली वंशजको गोत्र माण्डव्य हो तर चेलीबेटीको विवाहपश्चात थर र गोत्रमा परिवर्तन हुन्छ ।उनीहरु लोग्नेको गोत्र र थरमा हुन्छन् । ज्ञवाली वंशजबाट जन्मेपछि यसरी थर, गोत्र परिवतृन हुने मातृ प्रधान देशहरुमा हुन्न । नेपाल पुरुषप्रधान देश भएकाले थर, गोत्र परिवर्तन हुने नीतिगत व्यवस्था छ । त्यो हो विवाह दर्ता प्रमाणपत्र । चेलीबेटीहरुले विवाह पश्चात जन्मघर छोडेर कर्मघर अर्थात् लोग्नेको घरगृहस्थीमा प्रवेश गर्छन् । उनीहरुले सृष्टिको अभिभारा लिएको हुँदा बालबच्चा जन्म दिने र हुर्काउने गर्छन् । त्यसता बालबच्चाको स्याहार सुसार गर्नु, खानपिन गराउनु, पठनपाठन गराउनु, स्वास्थ्य रक्षा गर्नुजस्ता कार्यहरु धीरता र सहनशील भएर पूरा गर्छन् । त्यसैले होला बालबच्चाका आमाहरुलाई बालबालिकाको पहिलो शिक्षक भन्छन् ।

आमाहरुका धेरै समानका संज्ञाहरु छन् । उनीहरुलाई महिला, नारी, गृहलक्ष्मी, स्वास्नीमान्छे, सगारी, बैकनी, होइना, मम्मी, आमाजसता शब्दहरु ठाउँ र जिल्ला अनुसार भनिन्छ । यसको मुख्य कारण हो – पतिपत्नीको बीचको ममता, आस्था र विश्वासको वातावरण बन्नुपर्ने । ज्ञवाली वंशका चेलीबेटीहरुमा भेटघाटका लागि जमघट हुनेहरु सबै विवाहित चेलीहरु थिए । आफ्नो घरको सुख–दुःख भोगेका र भोगिरहेकाहरु थिए । घरगृहस्थी सम्हालेका, आर्थिक, सामाजिक, शैक्षिक विकास गरेका थिए भने अनुभवीय ज्ञानका जानकारहरु पनि थिए । कतिपयले व्यापार गर्थे । कलिे घरगृहस्थी थामेर बसेका थिए ।

त्यस्तावर्गका चेलीबेटीका लोग्नेहरु जागिरमा थिए भने कतिपयका लोग्नेहरु जागिर खाएर निवृत्त भएका थिए । ज्ञवाली चेलीबेटीहरुले आफ्नो पहिचान बनाएका थिए । सबैका मुखमा हसिलोपन थियो । धेरैले भन्दै थिए – यो भेटघाट कार्यक्रमले एकआपसमा चिनजान गर्ने अवसर जुरेको छ । आपसमा भेटघाट हुँदा पनि को, कहाँको भन्न नहुने थियो । मुन्टो फर्काएर हिड्ने बानी हट्यो । नाता, सम्बन्ध जोडेको वातावरण बनायो । आपसमा सुख–दुःख साटासाट गर्न एकअर्कालाई सजिलो भयो ।

हामीले आपसमा आर्थिक जोहो गर्ने वातावरण बन्यो । आपसी मित्रता र सद्भावना बढाएको पाइयो । विवाहपश्चात को कहाँ थियौँ ? थाहा थिए । भेटघाट कार्यक्रमले आत्मानुशासन र सामाजिक व्यवहारको ज्ञान र सीप सिक्न पाइयो । पढेर शैक्षिक योग्यताभन्दा अनुभवीय ज्ञानको आदानप्रदानले धेरै बौद्धिक विकास गर्न सकिने, चेलीबेटीहरुले आफ्नो मनको भाव व्यक्त गरेका थिए । कोभिड–१९ को प्रभावले ज्ञवाली चेलीबेटी भेटघाट कार्यक्रमलाई धेरै समय साँघुरो बनायो । यो रोगले रुप बदलेर मानिसहरुमा प्भाव पारे पनि ज्ञवाली वंशका चेलीबेटीले यसको प्रभाव भोग्नु परेन ।

ईश्वरीय शक्तिको प्रभाव परेको पाइयो भने चेलीबेटीहरुले स्वास्थ्यमा धेरै ख्याल गरेको परिणाम हो भन्छन् चेलीबेटीहरु । यो भेटघाट कार्यक्रमले चेलीबेटीहरुलाई प्रेरणा, उत्सुकता र आपसी सम्बन्ध स्थापना बढाएको थियो । यस्तो कार्यक्रममा सहभागी हुने चेलीहरुलाई राम्रो नास्ताको व्यवस्था जसका घरमा हुन्छ, तिनै चेलीले गर्ने प्रचलन सुरु गरेका थिए । रजिष्टरमा दर्ता भएका चेलीहरुको संख्या ३५ थियो भने मिति २०७८ पुस २४ गते शनिवारको भेटघाट कायृक्रममा ३१ जनाको सहभागिता थियो । उक्त भेटघाट कार्यक्रम घोराही बजार राप्ती टोल निवासी पूर्णादेवी शर्मको आफ्नै घरमा भएको थियो । यो भेटघाट कार्यक्रम दसौँ हो ।

चेलीबेटी भेटघाट कार्यक्रम पहिलो पटक इन्दिरा रझेना, दोस्रो गीता डाँडागाउँ, तेस्रो भेष मसिना, चौथो गोमा लमही, पाँचौा रेखा पनौरा, छैठौँ–सीता रझेना, सातौँ शारदाा पनौरा, आठौँ सीता पाण्डे रझेना, नवौँ गिरिजा लमही, दसौँ पूर्णदेवी घोराही भएको थियो । अब एघारौँ राधा लमही (२०७८ माघमा), बाह्रौ प्रभा लमही (२०७८ फागुन) । यसबाट के देखियो भने चेलीबेटीहरुमा दुई महिना अग्रिम भेटघाटको पालो माग्दा रहेछन् । उनीहरुमा स्वतःस्फूर्त रुपमा आपसी भेटघाट गर्न रमाउँदा रहेछन् भन्ने सन्देश प्रवाह गरेका थिए ।

ज्ञवाली वंशका चेलीबेटीहरुमा सरल स्वभाव थियो । उनीहरुले सहयोगी काम गर्न जानेका थिए । शान्त स्वभाव, अनुशासित व्यवहार देखाउँथे । कसैका पनि आधुनिक शब्दका नाम थिएनन् । सांस्कारिक गुणहरु देखाएका थिए । बाबुले नाम राखेका नामहरुले एकले अर्कालाई बोलाउँथे । नाता सम्बन्धअनुसार एकले अर्कालाई आदर गर्थे । शिष्टता देखाउँथे । आफ्नो माइतीमा गुणहरुअपनाएका थिए । विवाहपश्चात लोग्नेका सांस्कारिक गुणहरुमा आबद्ध भए पनि आफूले बाल्यावस्थादेखि पालन गरेका र आमाबाट सिकेका सीपहरुलाई विवाहपछि पनि पालन गरेका थिए ।

घरको अवस्था, बालबालिकाको स्याहार र पठनपाठन, गृहस्थी प्रबन्ध गर्न ज्ञवाली चेलीबेटीहरु सफल भएको देखाएका थिए । तर उनीहरुलाई सामाजिक क्षेत्रका विषयहरुमा ज्ञान र सीप विकासको तालिम आवश्यक थियो । यस्तो तालिमहरु ज्येष्ठ नागरिक, बालबालिका र महिला मन्त्रालयले आफ्ना प्रदेश र जिल्ला निकायहरुलाई काम गर्न लगाउनुपर्ने हो तर सम्बन्धित निकायहरुलाई गुहारे पनि गर्ने चलन जिल्लामा छैन ।

त्यस्ता निकायहरुले सोध, खोज पनि गर्दैनन् । यस्ता महिलाहरुका कार्यक्रमहरुलाई प्रोत्साहित गरेर महिलाहरुलाई बोलीवचनको सीप र आपसमा व्यवहार गर्दा पालन गर्नुपर्ने शिष्टता र मर्यादाका विषयहरुमा महिला निकायहरुले प्रेरणा दिएको पाइन्न । कसरी महिलाहरुले आत्मविकास गर्न सक्लान ? हरेक क्षेत्रमा महिलाहरु पछि परेका छन् । आफ्नो लोग्नेको बानी व्यवहारमा परिवर्तन गराउनु प¥यो भने कसरी कुन विधि र प्रविधिहरुको प्रयोग गर्ने ? तरिकाको विकास गराउनु नेपालका तीनै तहको सरकारका निकायहरुको कर्तव्य र दायित्व हो ।

ज्ञवालीहरुका चेलीबेटीहरु छित्रिएर बसेका छन् । अहिले गाउँदेखि सहरबजार आइपुगेका र घर बनाएर बसेकाहरु धेरै छन् ।सजिलैसँग एकताबद्ध हुनसकेका छन् । आत्मबल पनि बढाएका छन् । यिनीहरुको यस कार्यक्रमले अन्य वंशका चेलीबेटीहरुमा एकताको भावना जाग्नु पर्छ भन्ने सन्देश पनि दिएका छन् । प्रचारप्रसारको माध्यम मिडिाहरु नै हुन् ।

जबसम्म मिडियाहरुबाट कायृक्रमहरु बाहिरिँदैनन् तबसम्म सम्बन्धित निकायहरुलाई थाहा हुँदैन तर थाहा पाएर पनि आफूले गर्नुपर्ने कार्यक्षेत्रलाई मनन् नगर्ने र नेतामुखी बन्ने चलनले गर्दा महिलाहरुको उत्थान हुनसकेको पाइन्न । यस्तै भोगाइमा ज्ञवाली चेलीबेटीहरु छन् । उनीहरुले आपसी भेटघाट, सुख–दुःख साटासाट गर्ने, सामाजिक ज्ञान बढाउने काममा छन् । यो भेटघाट कार्यक्रमले उनीहरुलाई उर्जा शक्ति मिलेको छ ।