वडा अध्यक्षसँग द्वन्द्वपीडितको बारेमा छलफल

दाङ,२५ पुस । द्वन्द्वपीडिको अवस्थासँगै पीडित परिवारकालागि वडा कार्यालयले गरेका कामहरुका बारेमा घोराही उपमहानगरपालिका–१३ का वडा अध्यक्ष रविलाल घर्तीसँग संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालले वान–टु–वान बैठक गरेको छ ।

महिला कानुन र विकास मञ्च, इन्टरनेशनल अलर्ट र टिपिओ नेपालकोे संयुक्त आयोजनामा सञ्चालित संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि संचालित कार्यक्रम अन्तर्गत आइतवार सञ्जालका सदस्य, अधिकारकर्मी, द्वन्द्वपीडि, सञ्चारकर्मीलगायतको सहभागीतमा वडा अध्यक्ष घर्तिसँग वान–टु–वान बैठक गरिएको हो ।

बैठकमा वडामा द्वन्द्व पीडितहरुको अबस्था, द्वन्द्वपीडितहरुको लागि वडा कार्यालयले दिएका सेवा सुबिधा र आगामी योजनाका बारेमा छलफल गरिएको थियो । छलफलमा वडा अध्यक्ष घर्तिले अहिलेसम्म वडामा द्वन्द्वपीडितको अवस्था पनि पहिचान नभएको र पीडित परिवारकालागि कुनै कार्यक्रमहरु समेत गर्न नसकेको बताएका थिए । द्वन्द्वपीडित परिवारहरु पनि कार्यक्रमका लागि नआउँदा अहिलेसम्म कुनै प्रकारका कार्यक्रम सञ्चालन नगरिएको भन्दै पीडित परिवारहरु आएमा कार्यक्रमहरु गर्न सकिने बताएका थिए ।

‘वडामा द्वन्द्वपीडित परिवारहरु हुनुहुन्छ । तर अहिलेसम्म वडामा द्वन्द्वपीडितको संख्या कति हो भन्ने यकिङ छैन’,वडा अध्यक्ष घर्तिले भने,‘जसले गर्दा पनि वडाकातर्फबाट कुनै प्रकारका कार्यक्रमहरु गर्न सकेका छैनौ ।’ उनले आफ्नो वडा रोल्पा, रुकुम र प्युठान जिल्लाबाट बसाईबसाई आउने क्रम बढी रहेकाले पनि द्वन्द्वपीडितको अवस्था पहिचान गर्न समस्या रहेको बताए ।छिट्टै द्वन्द्वपीडित परिवारका सदस्यलाई उपस्थीत गराएर छलफल गरिने भएको छ ।

संक्रमणकालिन न्यायका लागि जिल्ला सञ्जालका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा भएको बैठकमा महिला कानुन र विकास मञ्चकी प्रतिनिधि गोमा महरा, वडा नं. १३ का वडा सदस्य केशव गिरी, जिल्ला बार इकाईका प्रतिनिधि निर्मलेश्वरी दाहाल, इन्सेकका प्रतिनिधि बिनोद केसी, टिजे सदस्य प्रेमा गैरे, द्रोपद्रा न्यौपाने, द्वन्द्वपीडित जंगबहादुर जिसी,पत्रकार लिलाधर वलीलगायतको सहभागिता रहेको थियो ।