तुलसीपुरमा संक्रमणः मेला महोत्सव कि शैक्षिक भ्रमण

खेमराज रिजाल
तुलसीपुर, २५ पुस । यसै साता व्यापक बनेको कोरोना भाइरसको संक्रमणलाई लगभग ओमिक्रोनको आशंका चिकित्सकहरुले गरिरहेका छन् । किनकि संक्रमण दिन दुई गुणा र रात चौगुणाका दरले फैलियो । एक सातामै ५ वटा स्कुलका शिक्षक÷विद्यार्थीहरुमा संक्रमण पुष्टि भएपछि नयाँ भेरियन्ट ओमिक्रोनको आशंकामा जिल्ला स्वास्थ्य कार्यालय दाङले कोरोना पुष्टि भैसकेका २० जनाको स्वाव नमुना परीक्षणका लागि काठमाडौ पठाएको छ ।

नतिजा आउन भने बाँकी छ । स्वास्थ्य र शिक्षा क्षेत्रले संक्रमण फैलनुलाई फरक–फरक शैलीले व्याख्या गरी सामाजिक सञ्जालहरुमा सन्देश प्रवाह गरिरहेका छन् । चिया पसलदेखि चोक चौतारामा पनि कसरी दाङका दश पालिकाहरुमध्ये तुलसीपुर बजार क्षेत्रमै व्यापक बन्यो संक्रमण ? यही बहस चलिरहँदा धेरैजसोले तुलसीपुरमा संक्रमण फैलनुलाई तुलसीपुरमा केही दिनअघि आयोजना गरिएको व्यापारिक महोत्सवको कारण भनेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–८ मावि अश्वाराकी एक शिक्षिका भन्छिन्– ‘हाम्रा केही विद्यार्थीहरु शैक्षिक भ्रमणमा लुम्बिनी, बुटवल फूलवारी पनि गएका थिए, अझ धेरै विद्यार्थीहरु त तुलसीपुर मेला महोत्सवको भीडमा पनि सहभागी बने, खासमा संक्रमण कहाँबाट फैलियो, त्यसलाई स्वास्थ्य विज्ञहरुले अनुसन्धान गर्न आवश्यक छ ।’ जहाँ विद्यार्थीहरुको शैक्षिक भ्रमण भएको थियो, त्यहाँ त संक्रमणको दर त्यो बेला निकै नगन्य थियो । अहिले पनि लुम्बिनी र बुटवल क्षेत्रमा संक्रमणले त्यति भयावह बनाएको छैन ।

यद्यपि यो विषयमा तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाले भने केही अभिव्यक्ति सार्वजनिक रुपमा दिएको छैन । त्यसैगरी रक्षाचौर स्कुलमा पनि कोरोना संक्रमण फैलनुको विषयमा अनुसन्धान हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले विद्यालयका शिक्षक वा विद्यार्थीको ट्राभल हिस्ट्रीलाई हेर्दा अन्यत्र भ्रमण गरेकै कारण संक्रमण विद्यालयसम्म आइपुगेको अनुमान गरेको छ ।

दुई बर्ष थला परेर भर्खरै सुरु भएका शैक्षिक गतिविधिहरु पनि विद्यालय बन्द भएपछि अन्योलमा परेका छन् । विद्यार्थीहरुमा संक्रमणको त्रास फैलिरहेको छ । यस्तो अवस्थामा पनि केही विद्यालयहरुले भने पठन–पाठनलाई भन्दा पनि शैक्षिक भ्रमणलाई बढावा दिनु निकै घातक भएको अभिभावकहरुले बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमण समाप्त भैसकेको छैन, मत्थर मात्रै भएको हो, यस्तो अवस्थामा स्वास्थ्य सुरक्षा अपनाएर पठन–पाठन निरन्तर गर्नुको साटो फेरि शैक्षिक भ्रमणको लहर चलाउनु उपयुक्त होइन’, अश्वारा माविका एक अभिभावकले भने । शैक्षिक भ्रमणका लागि अझै पनि उपयुक्त समय बनिनसकेको पनि उनको अभिव्यक्ति दियो ।

जिल्ला स्वास्थ्य कार्यालय भने विश्व समुदाय ओमिक्रोनको महामारीमा प्रवेश गर्दैगर्दा नेपालमा पनि संक्रमित देखिएको समयमा तुलसीपुरमा मेला महोत्सव आयोजना हुनु दुर्भाग्यपूर्ण रहेको अभिव्यक्ति दिन्छ । ‘मैले डिओसीको बैठकमा पटक–पटक मेला महोत्सव रोक्न सुझाव दिएको थिएँ तर त्यहाँ हाम्रो बोलीभन्दा पनि जनप्रतिनिधिहरुकै बोली निर्णायक बनिदिने रहेछ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भने । उनको भनाइमा स्थानीय सरकारले नै यो बेला धेरै संवेदनशीलता अपनाउनुपर्ने हो ।

स्वास्थ्य प्रमुख शाहीको भनाइमा डिओसीको बैठकमा पालिकाका प्रमुखहरुले नै व्यावसायिक गतिविधिलाई चलायमान बनाइराख्न महोत्सव मेला पनि आयोजना हुन दिनुपर्छ भन्ने अभिव्यक्ति दिइरहँदा महोत्सवका विपक्षमा डिओसीको बैठकले निर्णय गर्न सकिरहेको छैन । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले भीडभाडमा नजान र स्वास्थ्य सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउन तल्लो निकायलाई निर्देशन दिइरहँदा पनि मेला महोत्सव रोक्नुको साटो स्थानीय प्रशासन र स्थानीय सरकारले एकपछि अर्को मेला महोत्सवको सिफारिस र स्वीकृति दिइरहेका छन् ।

तुलसीपुरको व्यापारिक महोत्सव सम्पन्न भएलगत्तै फेरि घोराहीमा दुई दिने माघ महोत्सवको चर्चा छ । त्यसलगत्तै फेरि दाङ उद्योग वाणिज्य संघले माघ महिनामा अनुकूल हेरेर फेरि औद्योगिक, पर्यटन तथा व्यापार महोत्सवको स्थानीय सरकारबाट सिफारिस र स्थानीय प्रशासनबाट स्वीकृतिसमेत लिइसकेको छ । मेला महोत्सव सुरु भएदेखि सम्पन्न हुँदासम्म कम्तीमा दुई साता भीडभाडको अवस्था रहन्छ । यसमा भारतीय नागरिकहरुको पनि व्यापार व्यवसायमा प्रत्यक्ष संलग्नता हुन्छ ।

जुनसुकै बेला संक्रमण फैलने अवस्था आउन सक्छ । तर स्थानीय प्रशासनले भने सजिलो कानुनी उत्तर दिइरहेको छ । मेला महोत्सव रोक्न संघीय निर्देशन कुरिरहेको स्थानीय सरकारले दुई साताका लागि विद्यालय बन्द गर्न भने कुनै संघीय निकायको निर्णय कुर्नुपरेन । यसले के पनि देखाउँछ भने स्थानीय सरकारहरु शैक्षिक क्षेत्र उकास्ने सन्दर्भमा कत्ति पनि गम्भीर छैनन् । संक्रमणका कारण रक्षाचौरको गुरुजजुर माध्यमिक विद्यालय बन्द गर्न ढिलो नगर्ने स्थानीय तुलसीपुर उपमहानगरपालिकाले सँगै रहेको र त्योभन्दा पनि बढी भीडभाड हुने राप्ती शान्ति उद्यान बन्द गराउनेतर्फ कुनै अर्थपूर्ण पहल गरेको छैन । स्कुल बन्द भएपछि आसपासका विद्यार्थीहरु फेरि नजिकैको राप्ती शान्तिपार्कको भीडभाडमा रमाइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी भन्छन्– ‘बुटवलमा मेला महोत्सव चलिरहेका छन्, नेपालगञ्जमा पनि चल्दैछ भन्ने सुनेको छु, अनि हामीलाई संघीय सरकारले मेला महोत्सव रोक्न निर्देशन पनि दिएको छैन, त्यसैले स्वीकृति दिनु स्वाभाविक हो ।’ संक्रमण व्यापक बन्दै गयो भने सम्बन्धित पालिकाहरुले त्यसमा गम्भीर भएर स्वास्थ्यका मापदण्डहरु पालना गराउनतर्फ संवेदनशील हुनुपर्ने पनि उनको सुझाव थियो । ‘स्थानीय सरकारले दिएको सिफारिसलाई हामीले रोक्न मिल्दैन’, प्रजिअ रेग्मी भन्छन् ।

यही अवस्थाले पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणले विस्तारै दाङ जिल्लालाई गाँज्दै छ । तुलसीपुरको जनस्वास्थ्य प्रवद्र्धन शाखाले भने तुलसीपुरमा आयोजित मेला महोत्सवका कारण संक्रमण नफैलिएको जनाएको छ । ‘जनुवेला मेला महोत्सव सञ्चालनको स्वीकृति दिइएको थियो, त्यो बेला तुलसीपुरमा संक्रमणको दर शून्य थियो’, तुलसीपुर जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपाने भन्छन्– मेला महोत्सवले भन्दा त शैक्षिक भ्रमणका कारण संक्रमण आयात भएको हो । यो विषयमा जनस्वास्थ्य शाखाले अनुसन्धान गरिरहेको पनि प्रमुख न्यौपानेको अभिव्यक्ति थियो ।