कोरोना प्रभाव : घरमै नमाज

शिवराज खनाल

दाङ १३ चैच । कोरोनाको संक्रमणवाट जोगिन नेपाल सरकारले लकडाउन गरेका कारण मुस्लिम समुदाय नमाजका लागि शुक्रबार भेला नहुने भएका छन् ।

शुक्रबार मुस्लिम समुदायका लागि महत्त्वपूर्ण दिन रुपमा लिइने गरिन्छ । यो दिन मुस्लिम समुदायका मानिसहरु मस्जिदमा जम्माभई नमाज (प्रार्थना) पढ्ने गर्छन् । सरकारको लकडाउनलाई आत्मसाथ गर्दै आफुहरुले आ आफ्नै घरमा नमाज पढ्ने निर्णय गरेको मुस्लिम समुदायका अगुवाहरुले जानकारी दिएका छन् ।

नमाजका लागि देउखुरी क्षेत्रमा शुक्रबार मस्जिदमा ३ सय जतिको उपस्थित हुने भएकाले सो कार्य सरकारको निर्णयको बिपरित हुने हुँदा लकडाउन अबधीभर उनिहरु घरमै बसेर नमाज पढ्ने भएका हुन् ।

नेपाल मुस्लिम सँघका केन्द्रिय सदस्य नवाफ अलि, मदर्श अहले सुन्नत फैजाने रजाका अध्यक्ष जमाल अलीद्वारा बुधबार जारी गरिएको बिज्ञप्तीमा उक्त कुरा उल्लेख छ । नेपाल मुस्लिम सँघका केन्द्रिय सदस्य नवाफ अलिले भने, ‘सरकारको लकडाउनलाई पूर्ण समर्थन गर्दै हामी शुक्रबार मस्जिदमा उपस्थित हुने छैनौ, हामीले सबै मुस्लिम समुदायलाई सोही आग्रह गरिरहेका छौँ ।’

साथै उनले लकडाउनको अबधीमा समस्यामा पर्ने मानिसहरुलाई खाद्यान्न सहयोग गर्नेपनि बताए । मदर्श अहले सुन्नत फैजाने रजा लमहीले पनि लकडाउनले गर्दा समस्यामा परेका परिवारका लागि खाद्यान्न सहयोग गर्ने जनाएको छ ।