दाङ,१७ पुस । दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा नेपाली कांग्रेस समर्थनका अध्यक्षमा अम्मर बुढा नेतृत्वको प्यानलै विजयी भएको छ ।
विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस समर्थनमा अध्यक्षमा अम्मर बुढा र नेकपा एमालेको समर्थनमा अध्यक्षमा डिलराज घर्ती नेतृत्वको प्यानल चुनावी मैदान उत्रिएको थियो ।
नेपाली कांग्रेस समर्थनका अध्यक्षमा बुढाले घर्तींलाई १९ मतको अन्तरले पराजित गर्दै विजय भएका हुन् । जम्मा ११५ मत खसेकोमा अध्यक्षमा बुढाले ६३ मत प्राप्त गरेका थिए भने उनका निकट प्रतिस्पर्धी घर्तीले ४४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महिला खुल्ला सदस्यमा अमृता बाँठाले ६४ मत र दलित महिला सदस्यमा रमिता परियारले ६३ मत लिएर विजयी भएका छन् । अन्य सदस्य निर्वाचित समितिले मनोनित गर्नेछ ।
अध्यक्षमा निर्वाचित बुढाले यस अघि पनि दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइसकेका छन् भने अध्यक्षमा अर्का प्रत्यासी घर्ती निवर्तमान अध्यक्ष हुन् ।