तुलसीपुर, १५ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन समितिले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन तालिकाअनुसार बिहीवार उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीले जानकारी दिएका छन् । निर्वाचन समितिले निर्धारण गरेको चुनाव चिन्ह उम्मेदवारहरुको इच्छाअनुसार प्रदान गरिएको उनले जानकारी दिए । अध्यक्ष पदका उम्मेदवारहरु यमकान्त भण्डारीलाई पुतली, दीपककुमार धिताललाई बाघ र पवनराज बुढाथोकीलाई कुर्सी प्रदान गरिएको छ ।
यस्तैगरी उपाध्यक्ष पदका उम्मेदवारहरु सीताराम शर्मा आचार्यलाई फुटबल, गिरिधारी पौडेललाई अटो रिक्सा, पूर्णप्रसाद धिताललाई चस्मा, सचिव पदका उम्मेदवाहरु सेवकराम भण्डारीलाई हात्ती, दामोदर लामिछानेलाई गमला, कोषाध्यक्ष पदका उम्मेदवाहरु मेघराज न्यौपानेलाई घडी, भद्रबहादुर वलीलाई भाले, कर्णबहादुर वलीलाई टर्चलाइट, भोलाप्रसाद थापालाई स्याउ, पुरुषतर्फ सदस्यमा पदमबहादुर खड्कालाई माछा, लक्ष्मण केसीलाई लालटिन र शोविन्द्र चन्दलाई टेलिभिजन चिन्ह प्रदान गरिएको संयोजक भण्डारीले जानकारी दिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार भण्डारीको प्यानललाई तुलसीपुर क्षेत्रका क्रियाशील राजनीतिक दलहरुको समर्थन रहेको छ । भण्डारीको प्यानलबाट उपाध्यक्षमा सीताराम शर्मा, सचिवमा सेवकराम भण्डारी, कोषाध्यक्षमा भद्रबहादुर वली, सदस्यहरुमा लक्ष्मण केसी र पदम खड्का रहेका छन् । अन्य एकल उम्मेदवार रहेका छन् । मतदान शनिवार बिहान साढे ७ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म हुनेछ । सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुन लागेको छ । महिला सदस्यहरु भने राजनीतिक दलबाटै निर्विरोध निर्वाचित भइसकेका छन् ।
आधिकारिक उम्मेदवारलाई विजय गराऊ
यसैबीच आगामी पुस १७ गते हुने खानेपानीको निर्वाचनमा पार्टीको आधिकारिक निर्णयलाई आत्मसात् गर्दै आफ्नो उम्मेदवारी लिई ९ दलीय गठबन्धनको उम्मेदवारलाई समर्थन गर्न नेपाली कांग्रेसले विज्ञप्तिमार्फत अपिल गरेको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत खड्का, उपसभापतिहरु खिमबहादुर वली, देवेन्द्र रिजाल र नगर सभापति सुरेश हमालले संयुक्त विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसमा आस्थावान, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधिजस्तो स्थानमा रहेका केही साथीहरुबाट संस्थाको निर्णयप्रति असहमति जनाउँदै अध्यक्ष, उपाध्यक्ष, र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको भन्ने जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा खानेपानीको विभिन्न पदमा उम्मेदवारी दिएकाहरुलाई पार्टीप्रति उनीहरुको योगदानको कदर गर्दै आगामी दिनमा उनीहरुकै पक्षमा न्यायोचित निर्णय हुने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । ‘साथै पार्टीको अपिललाई बेवास्ता गरी अगाडि बढेमा पार्टीको विधान, नियमावली र अनुशासन नियमावलीभित्र रहेर आवश्यक प्रक्रिया अगाडि बढ्ने व्यहोरासमेत जानकारी गराउँदछौं’ भनिएको छ ।
यसैबीच नेपाली कांग्रेस नगर समिति तुलसीपुरले पनि विज्ञप्ति निकालेर ९ दलीय राजनैदिक दलका आधिकारिक उम्मेदवार यमकान्त भण्डारीको टिमलाई चुनाव जिताउन राजनीतिक दल तथा आम उपभोक्तालाई अपिल गरेको छ । नगर सभापति सुरेश हमाल र सचिव विमल पौडेल र सुशील वलीले संयुक्त विज्ञप्ति निकालेर साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् ।
साथै विज्ञप्तिमा अध्यक्ष तथा अन्य पदमा उम्मेदवारी दिएकाहरु ५ जनालाई यमकान्त भण्डारीको टिमलाई सहयोगका लागि अनुरोध गरिएको छ । ५ जना उम्मेदवारहरु कांग्रेसका आधिकारिक नभएकाले साझा उम्मेदवारलाई मतदान गर्न नगरले अपिल गरेको छ ।