भुवन पोख्रेल
नेपाल प्राकृतिक विपतको दृष्टिले अत्यन्त जोखिमपूर्ण मुलुक मानिन्छ । विपत भनेको एउटा आपतकालीन अवस्था हो । यसले जनधनको क्षति वा समुदायको दैनिक दिनचर्यालाइृ खल्बल्याउँछ । नेपाल जोखिम न्यूनीकरण तथा व्यवस्थापन इेन २०७४ ले विपतका परिभाषा दिँदै भनेको छ । कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जनधनको क्षतिका साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक घटनाहरु विपत हुन् ।
नेपालको भूवनोट कमजोर भौगर्विक अवस्था, मौसमी वर्षा, जलवायु परिवर्तन आदिका कारणबाट नेपालका विभिन्न नदीनालाहरुमा जलाधार क्षेत्रमा पहिरो, भूक्षय बढ्न गई हरेक वर्ष ठूलो जनधन क्षति हुने गरेको र खडेरी, आगलागी (डढेलो) र महामारी जस्ता प्रकोपले नेपाललाई वर्षेनी सताइरहेको हुन्छ । भौगोलिक अवस्थितिका कारणले नेपाल विश्वको भूकम्पीय गतिविधि हुने राष्ट्रमध्ये एघारौँ स्थानमा पर्दछ । जललायु परिवर्तन हुने चौथो र बाढी पहिरोको जोखिमका आधारमा तीसौँ राष्ट्रमध्ये पर्न आउँछ । विश्वका महानगरहरुमध्ये प्रकृतिक प्रकोपको जोखमका आधारमा काठमाडौं सहर विश्वको एक्काइसौँ स्थानमा पर्दछ ।
विपतको समयमा मानिसहरु निसहाय हुन्छन् । उनीहरुको खानपिन, लुगाफाटा, घरबास, औषधोपचार, सुरक्षा आदि आवश्यकीय प्रणाली अवरुद्ध हुन्छन् । परिवार र समुदायसँग तत्काल यी सुविधाहरु परिपूर्ति गर्नसक्ने क्षमता हुँदैन । त्यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुन्छ र सामान्य अवस्था अवरुद्ध हुन्छ । जोखिमको परिणामका रुपमा विपत तथा प्रकोपलाई लिने गरिन्छ । सामान्यतया प्रकोप र विपत शब्दलाई एउटै अर्थमा लिने गरिन्छ तर प्रकोप भनेको त्यस्तो घटना हो जसले जैविक तथा प्राकृतिक क्षति गराउने, सम्पत्ति एवं वातावरण नष्ट गराउने सम्भावना हुन्छ भने विपत भनेको त्यस्ता प्रकोपले निम्त्याउने संकटकालीन अवस्था हो ।
प्रकोप विरुद्ध जुध्न वा प्रकोप सामना गर्न अन्य व्यक्ति, समुदाय वा संघसंस्था वा देशको सहयोग चाहिने अवस्था सिर्जना हुनु विपत हो । विपतलाई सामान्यतया प्रकृतिक र मानव निर्मित गरी दुई प्रकारमा बाँडिएको छ । प्रकृतिक विपत भन्नाले हिमपात, असिना, हिम पहिरो, हिमताल विष्फोट, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, भुस्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी, डढेलो आदि भन्ने बुझिन्छ । प्रकृतिक विपतका घटनाबाट हाम्रो जस्तो देशमा बर्षेनी अर्बौंको सम्पत्ति र धनजनको क्षति हुने गरेको छ ।
गैरप्राकृतिक वा मानवसिर्जित विपत मानवीय क्रियाकलापबाट पृथ्वीमा उपलब्ध स्रोत साधनलाई अध्यधिक दोहन गर्दा उत्पनन हुन्छ । यस्ता विपत द्वन्द्व, अनिकाल, विभिन्न कारणले विस्थापित मानिसहरुको समूह, औद्योगिक तथा यातायात दुर्घटना आदि आपतकालीन अवस्थाहरुबाट आइपर्दछ । यस अन्तर्गत् महामारी, अनिकाल, डढेलो (आगलागी) किट वा सुक्ष्म जीवाणु आतंक, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, सर्प दंश, जनावर आतंक, खानी, हवाइ, सडक, जल वा औद्योगिक दुर्घटना विषाक्त ग्यास, रसायन वा विकिरण चुहावट, ग्यास विष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना आदि पर्दछन् ।
विपतका प्रमुख कारणहरुमा भौगर्भिक अवस्था, अतिवृष्टि वा अनावृष्टि, जलवायु परिवर्तन, जनचेतना वा तत्परताको कमी, पूर्व चेतावनीको अभाव, कमजोर कानुनको कार्यान्वयन, कमजोर प्राविधिक तथा आर्थिक क्षमता, सामुदायिक स्तरीय कार्यक्रमको कमी आदि नेपालका विपतका कारण हुन् । वर्तमान समयमा जलवायु परिवर्तन, योजनाविहीन विकास, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, महामारी कोभिड–१९ आदिले मानवीय विपतका घटनाहरु निम्त्याइरहेका छन् । सामान्यतया विपत पूर्वको तयारी, विपतको समयमा खोज तथा उद्धार र विपतपछि राहत तथा पूर्वस्थापना कार्य गरी विपतका तीन चरण हुन्छन् ।
नेपालमा विपत व्यवस्थापन संयन्त्र र योजना निर्माण र विकास भएका छन् । नेपाल सरकारले राष्ट्रको विपत उत्थानशीलता बढाउन विभिन्न कार्यहरु गरिएको छ । हालै मात्र प्राकृतिक प्रकोप राहत ऐन २०३९ को ठाउँमा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ल्याइएको छ । यस ऐनले नेपालमा हुने प्रकृतिक विपतको बेला विपत जोखिम न्यूनीकरणको ढाँचामा राष्ट्रिय तथा स्थानीय निकायको संलग्नता एवं सहकार्य र विपत व्यवस्थापन गरिषदको कार्य उल्लेख गरेको छ । यस ऐनले जनसाधारणको जीवन सार्वजनिक सम्पत्ति, प्रकृतिक तथा सांस्कृतिक सम्पदा, भौतिक सम्पत्तिको संरषणमा र विपतको जोखिम न्यूनीकरण गर्ने कुरामा जोड दिएको छ ।
नेपालको संविधानले नागरिकलाई विपतबाट सुरक्षित गराउन सबै तहका सरकारको प्रथमिक दायित्व हुने व्यवस्था गरेको छ । संविधानको अनुसूची ७ मा विपत व्यवस्थापन संघ र प्रदेश सरकारहरुको संयुक्त अधिकार, अनुसूची ८ ले स्थानीय सरकारको एकल अधिकार र अनुसूची ९ ले संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारलाई उल्लेख गरेको छ । नेपाल सरकारले विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ सँग सम्बन्धित नियमावली २०७५ तयार गरेको छ । विपत व्यवस्थापनका लागि स.घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुको क्षमता अभिवृद्धि उत्थानशीलताको विकास सहरी समुदायका लागि राष्ट्रिय रणनीति तर्जुमा गरेको छ ।
यसबाट स्थानीय तहलाई विपत पूर्व तयारी योजना बनाउन मद्दत पुग्दछ । यो मन्त्रालयले नमुना स्थानीय विपत जोखिम व्यवस्थापन ऐन, विपत व्यवस्थापनको कोष सञ्चालन कार्यविधि तयार गरी सोही अनुरुप स्थानीय तहमा विपत जोखिम व्यवस्थापन समितिहरु बनाउने र स्थानीय सरकारलाई आफ्नै कानुनी र संस्थागत ढाँचाभित्र रही विपत जोखिम न्यूनीकरण, अल्पीकरण, पूर्व तयारी उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माण कार्यमा लाग्न मद्दत गरिरहेको छ ।
सहरी विकास मन्त्रालयले सबै स्थानीय सरकारलाई भवन संहिताको अवलम्बन गर्न प्रोत्साहन गरी मानिसका वासस्थल तथा कार्यालय भवनहरु सुरक्षित बनाउन मद्दत गर्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला तथा स्थानीय विपत व्यवस्थापन समितिसम्बन्धी व्यवस्था गरेको छ । यो समिति ७७ वटै जिल्लामा क्रियाशील रहेको छ । स्थानीय स्तरमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुख्य रुपमा जिम्मेवार यस समितिमा जिल्ला स्थित खानेपानी, स्वास्थ्य तथा शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधिहरु रहन्छन् भने यसको सदस्य सचिवको काम जिल्ला समन्वय अधिकारीबाट गर्ने गरिएको छ ।
विपतको संकटकालीन अवस्थामा गरिने उद्धार, राहत तथा मानवीय सेवाका कार्यको योजनालाई विपत पूर्वतयारी तथा प्रतिकार्य योजना भनिन्छ । यो योजना तयार गर्दा जिल्ला तथा स्थानीय तहमा विद्यमान जोखिमको विस्तृत विश्लेषण गरी स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रको सहभागिताबाट पृष्ठपोषण लिएर विपत पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिन्छ । नेपाल बहुप्रकोपीय जोखिमयुक्त मुलुक हो । नेपालको ८० प्रतिशतभन्दा जनसंखया कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा रहेका छन् ।
प्राकृतिक र गैरप्राकृतिक प्रकोपबाट नेपाल आक्रान्त छ । प्रतयेक वर्ष वा केही वर्षको अन्तरालमा बाढी, पहिरो, खडेरी, चट्याङ, हावाहुरी, भूकम्प, रोगव्याधी, शीतलहर, लू, आगलागी, हिमपहिरो, औद्योगिक प्रदूषण, सडक दुर्घटना आदि प्रकोपबाट सिर्जित विपतद्वारा जनधनको ठूलो क्षति हुनुका साथै सामाजिक, आर्थिक तथा वातावरणीय क्षेत्रमा तत्कालीन र दीर्घकालीन असर पुग्ने गरेको छ ।
जनसंख्या वृद्धि, सहरीकरण, वातावरणीय विनाश, राजनीतिक उथलपुथल आदि कारणले विपतद्वारा हुने क्षति बढ्दो छ । विपत न्यूनीकरणसम्बन्धी विश्वव्यापी लहर, नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता यस क्षेत्रमा सरकारी र गैरसरकारी संस्थाहरुको लगानी जनसमुदाय तथा अन्य सरोकारवालामा बढ्दो जनचेतनाको अलावा प्रकोपको घटना तथा विपतद्वारा हुने क्षतिमा कमी नआउनुले हाम्रो प्रयासबारे समीक्षा गर्नु आवश्यक छ ।
नेपालमा विपत अध्ययन, अनुसन्धान सरकारी प्राथमिकतामा परेको छैन । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नेपालका आफ्नै मौलिक विशेषताहरु छन् । यहाँको संस्कृति, भूबनोट, प्रकोप तथा विपत प्रकृति, विपत सामना गर्ने क्षमता, संकटासन्नताको अवस्था अन्य देश, ठाउँको तुलनामा फरक छ । तसर्थ, हाम्रो आफ्नै अनुसन्धानबाट नेपालको लागि उपयुक्त हुने विधि तथा विपत न्यूनीकरणका उपायहरु अवलम्बन गरिनु पर्दछ । विपत जोखिम व्यवस्थापनमा सबै प्रदेश र स्थानीय सरकारहरु उत्तिकै सक्षम छैनन् । यिनका संस्थागत क्षमता विकास गर्ने विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको स्रोत परिचालन अपेक्षित हुन सकेको छैन ।
विपत व्यवस्थापनका चक्रमा तत्परता, पूर्व चेतावनी, प्रतिकार्य, पनःलाभ र न्यूनीकरण, राहत आदि पर्दछन् । विपत व्यवस्थापनका उपायहरुलाई विपत आउनुपूर्व, विपतको समयमा विपत पश्चात गरी तीन चरणमा बाँडिएको छ । विपत आउनुपूर्व प्राकृतिक विपतको जानकारी दिने सूचना प्रणालीको विकास गर्ने आपतकालीन झोला (खाना, कपडा, बत्ती, ब्याट्री, रेडियो आदि वस्तुहरु राखिएको झोला) ढोकाको छेउमा सबैले दैखने गरी राख्ने र सो सम्बन्धमा सबैलाई जानकारी दिने । विपतसम्बन्धी भविष्यवाणी र सूचनाहरु सुनिरहने । विपत आउनुभन्दा पहिले नै सुरक्षित स्थानमा जाने । आपतकालीन अवस्थामा सुरक्षित हुने उपायहरु पूर्वाभ्यास गर्ने । साइरन बजाएर खतराको सूचना गर्ने ।
विपतको समयमा नआत्तिने, आपतकालीन सामग्री लिएर निस्कने, परिवारको सदस्य साथै रहने, कोही छुट्यो कि भनी एक आपसमा समन्वय गर्ने, सुरक्षित ठाउँमा बसेर उद्धारको प्रतीक्षा गर्ने र एकान्तमा बसेको भए आगो बालेर वा टर्चलाइटरले उद्धारकर्तालाई संकेत दिएर वा कराएर वा कपडा हल्लाएर, सिट्टी बजाएर संकेत दिने । बिजुलीका तार, फुटेका सिसा, किला आदिबाट जोगिने । सम्भव भएमा नजिकमा रहेका संकटमा परेका व्यक्तिहरुलाई सहयोग गर्ने । रेडियोमा सूचना सुन्ने । घाइतेलाई तत्कालको प्राथमिक उपचार गर्ने ।
विपत पश्चात स्थिति पूरा सुरक्षित नभई आफ्नो वासस्थान नफर्किने । घाइतेलाई सरक्षित ठाउँ वा शिविर वा अस्पतालमा लगी उपचार गर्ने । जथाभावी खाना र पानी प्रयोग नगर्ने र आफूले पनि जथाभावी दिसापिसाव गरेर फोहर नगर्ने । हराएका व्यक्तिको खोजी गर्ने । राहत र उद्धार सामग्रीको सदुपयोग गर्ने सम्भावित हिंसा र लुटपातबाट जोखिन सावधान रहने । उद्धार कार्यमा सहयोग गर्ने । रेडियोका सूचना सुनने ।
कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भइ जनधनको क्षतिको साथै जीवन यापन र वातावरणमा प्रतिकूल असर गर्ने प्राकृतिक एवं गैरप्राकृतिक घटनालाई विपत भनिन्छ । विपतलाई दुई प्रकारका बाँड्न सकिन्छ, प्राकृतिक विपत र गैर प्राकृतिक विपत । विपत व्यवस्थापन भन्नाले विपत जोखिम न्यूनीकरण, विपत प्रतिकार्य र विपत पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापलाई बुझिन्छ ।