तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका गोविन्दबहादुर शाह (शम्भु) करिब चारदशक लामो राजनीतिक यात्रा पछि चौधौँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएपछि प्रदेशदेखि केन्द्रसम्मका नेतृत्व छनोटमा सहभागी भए । वि.सं. २०२९ सालदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा जोडिएर शाहले भर्खरै सम्पन्न महाधिवेशनमा दाङको निर्वाचन क्षेत्र नं. ३ बाट पपुलर मत ल्याएर महाधिवेशन प्रतिनिधि बने ।
हाइस्कूल अध्ययन गर्दै गर्दा शाह वि.सं २०२९ सालमा घोराहीको भरतपुर हाइस्कूलमा कक्षा ९ मा नेविसंघको साधारण सदस्य बने । त्यसपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा आइए र बिए पढ्दै गर्दा नेपाल विद्यार्थी संघको क्याम्पस ईकाईमा महत्वपूर्ण जिम्मेवारीमा रहे । पार्टी भूमिगत रहेको अवस्थामा पनि वि.सं २०३६ सालको जनमत संग्रहमा उनी बहुदलको पक्षमा खरो रुपमा उभिएर आन्दोलनमा रहे । त्यसपछि त्रिविवि कीर्तिपुरमा पढ्दै गर्दा वि.सं. २०४२ सालको सत्याग्रह आन्दोलनमा पनि उनको सक्रिय सहभागिता रह्यो ।
काठमाडौंमा विद्यार्थी राजनीति गर्ने क्रममा उनको सम्पर्क कांग्रेसका बरिष्ठ नेताहरु कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंह, बेनीबहादुर कर्की, गिरिजाप्रसाद कोइरालासँग पनि भयो । त्यसपछि कांग्रेसको राजनीतिमा तिखारिँदै अहिले दाङबाट महाधिवेशन प्रतिनिधि चुनिएका उनै कांग्रेस नेता गोविन्दबहादुर शाहसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सकिएर पार्टीमा नयाँ नेतृत्व आइसकेको छ, यो महाधिवेशनलाई कसरी हेरिरहनुभएको छ ?
हो, भर्खरै पार्टीका पदाधिकारीलगायत सबै सदस्यहरूको नयाँ नेतृत्वको नतिजा सार्वजनिक भइसकको छ । पार्टीले नयाँ नेतृत्व पाएसँगै अहिलेको महाधिवेशनमा तल्लो तहदेखि माथिल्लो तहसम्मै विश्लेषण गर्ने हो भने युवा पुस्ताहरूको विशेष आकर्षण राजनीतिमा देखिएको छ । करिब ५० प्रतिशतभन्दा बढी पदहरूमा युवाहरू निर्वाचित भएका छन् । पार्टीमा यो पटक सबै तह र तप्काबाट नेतृत्वमा आएको संख्या पनि उल्लेख्य रहेको छ ।
यो महाधिवेशनमा चाहे यातायात क्षेत्र, चाहे व्यापार व्यवसाय क्षेत्र वा शैक्षिक क्षेत्र सबैबाट पार्टीमा नेतृत्व गर्न आएको मैले महसुस गरेको छु । यसले पार्टीलाई नयाँ उर्जा दिँदै रूपान्तरणको दिसा उन्मुख बनाउनेमा पनि म विश्वस्त छु । हरेक क्षेत्रको अनुभव पार्टी नेतृत्व पंक्तिमा रहेका अवस्थामा अब नेपाली कांग्रेस थप क्रियाशील र गतिशील हुनेछ र आसन्न आम निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने छ भन्नेमा मजस्ता सयौँ प्रतिनिधिहरू विश्वस्त छौँ ।
समावेशी नेतृत्व भन्नुभयो नि, के–कस्ता नेतृत्वहरू आएका छन्, अहिले ?
यो महाधिवेशनमा नेविसंघका खारिएका नेतृत्वहरू केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म पुगेका छन् । तरुण नेताहरू नेतृत्वमा पुगेका छन्, महिलाहरूको उल्लेख्य सहभागिता, दलितहरूको सहभागिता, आदिवासी जनजाति, मुस्लिम, मधेसी, अल्पसंख्यक, अपाङ्गलगायत हरेक क्षेत्रको पार्टीमा प्रतिनिधित्व भएको छ । अर्थात्, यो महाधिवेशनमा शिक्षा क्षेत्र बुझेकाहरू नेतृत्वमा पुगेका छन्, आर्थिक क्षेत्र बुझेकाहरू नेृत्वमा पुगेका छन्, स्वास्थ्य क्षेत्र बुझेका विज्ञहरू पनि ेतृतवमा पुगेका छन् ।
मलाई लाग्छ यो समावेशी नेतृत्वले पार्टीलाई सही बाटोमा लैजानुको साथै मुलुकको समग्र समृद्धिमा पनि नेपाली कांग्रेसले अग्रणि भूमिका निर्वाह गर्न सक्छ । अर्थात्, नयाँ नेतृत्वमा अब कुनै पनि विज्ञता र बौद्धिकताको कमी हुने छैन अनि हाम्रै दाङको कुरा गरौँ न । यहाँबाट केन्द्रीय सदस्यमा ५ जना निर्वाचित हुनुभएको छ । थारू कोटाबाट पनि दाङका योगेन्द्रजी केन्द्रीय सदस्य बन्नुभयो । महिला कोटाबाट शिला खड्का, खुल्ला केन्द्रीय सदस्यमा आदरणीय नेता दीपक गिरी र कृष्णकिशोर घिमिरे तथा खस आर्यबाट गेहेन्द्र गिरी निर्वाचित हुनुभयो । यो समग्र दाङकै गौरवका रूपमा लिनुपर्दछ ।
को, कुन खेमाबाट भनेर स्वीकार र अस्वीकारको त कुरै आउँदैन नि । मलाई लाग्छ राजनीतिमा अझै थप क्रियाशीलता बढाउन सक्यौँ भने अर्को महाधिवेशनमा अब दाङका उम्मेद्वारहरूलाई बोर्डर लाइनमा आउनुपर्ने छैन । यसका लागि पनि पार्टीलाई भावनात्मक एकतामा बाँधेर लैजानका लागि सबै नेतृत्वले सामूहिक पहल गर्न पनि आवश्यक छ भन्ने मैले ठानेको छु ।
तपाईंले पार्टीमा उर्जा थपेको बताइरहंाँ महाधिवेशनका क्रममा भएका निर्वाचनहरूले पार्टी नेता, कार्यकर्तामा विद्रोह र अन्तरघातको भावना पलाएको र यसको रिफ्ल्याक्शन आसन्न आम निर्वाचनमा पनि पर्नसक्ने विश्लेषण गरिँदै छ नि ?
अहँ, मलाई त्यस्तो लाग्दैन । किनकि पार्टीको महाधिवेशनका क्रममा हरेक तह र क्षेत्रमा नयाँ नेतृत्व चुन्दा आन्तरिक प्रतिस्पर्धा हुनु अत्यन्तै स्वाभाविक र लोकतान्त्रिक पद्धति पनि हो । लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुँदा कुनै नेतृत्वमा पुग्ने र कुनैले पराजय व्यहोर्नु सामान्य र ध्रुवसत्य पनि हो तर पार्टीको नेतृत्वमा आउँदा उन्माद बढ्ने र हार्दा विद्रोह बढेर जाने भन्ने नेपाली कांग्रेसजनहरूमा कुनै कुरै आउने छैन । यस हारजितलाई सबैले स्वाभाविक रूपमा लिने छन् भन्ने हाम्रो अपेक्षा हो ।
आखिर नेतृत्वमा सबै पुग्ने पनि त सम्भव छैन नि । लोकतान्त्रिक पार्टीमा हारलाई पनि सहज रूपमा स्वीकार गर्न सक्नुपर्दछ । हार स्वीकार गर्न नसक्नेले पार्टीमा आन्तरिक प्रतिस्पर्धामै भाग लिनु हुँदैन भन्ने आम लोकतान्त्रिक मान्यतालाई नेपाली कांग्रेसका तल्लो तहदेखि माथिल्लो तहसम्मैका नेता कार्यकर्ताहरूले स्पष्ट रूपमा बुझ्नुभएको छ । बरु मैले किन हारेँ, किन नेतृत्वमा पुग्न सकिने भन्ने सवालमा आत्मसमीक्षा गर्ने काम भइरहेको छ । ताकि यसले आफूलाई सच्चिने र आगामी महाधिवेशनमा नेतृत्वमा पुग्न सघाउ पुग्ने कुरा हो । यसको रिफ्ल्याक्शन आम निर्वाचनमा पर्छ भनेर गणित जप्नु दिवास्वप्न मात्रै हो ।
हार–जितले त पार्टीलाई थप सशक्त र मज्बुत बनाएको छ । निर्वाचनकै मुखमा महाधिवेशन पनि सौहार्दपूर्ण रूपमा सम्पन्न भएकाले यसले आम नेता कार्यकर्ताहरूमा थप उत्साह थपेको पनि मैले आम कांग्रेसजनहरूलाई यसै पत्रिकामार्फत् अवगत गराउन चाहन्छु । फरक मत त निर्वाचनका क्रममा मात्रै हो । लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व आइसकेपछि त्यो सर्वस्वीकार्य हुन्छ । मैले मत दिएको होइन, त्यसैले यो नेतृत्वलाई मैले मान्दैन भन्ने प्रश्नै उठ्नु हुँदैन र उठ्ने पनि छैन ।
भदौदेखि मंसिर अन्त्यसम्म महाधिवेशनकै विभिन्न चरणमा अल्झिनुभयो, यो निर्वाचनको प्रक्रियालाई कसरी लिनुभएको छ ?
नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय प्रतिनिधि तथा कार्यसमिति चयनको प्रक्रिया र अन्य राजनीतिक पार्टीहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया आम नेपाली लोकतन्त्रप्रेमी जनताले देखिसकेका छन् । आम जनताले बुझिसकेका छन् कि सबैभन्दा लोकतान्त्रिक पार्टी त कांग्रस नै रहेछ भनेर ।
केन्द्रीय नेतृत्वसम्म पुग्नलाई तल्लो तहबाटै चुनिनुपर्ने सही पक्ष हो तर यो महाधिवेशनको समय र खर्चका विषयमा समीक्षा गर्दा आगामी महाधिवेशनमा यस्तो प्रक्रियालाई छोट्याउनुपर्ने नितान्त आवश्यक देखिएको छ । हामी महाधिवेशनका क्रममा काठमाडौंमा हुँदा पनि यो विषयमा निकै चर्चा पनि भएको छ । गरिबले पनि पार्टीमा प्रतिस्पर्धा गर्नसक्ने अवसर पाउनुपर्छ भन्ने हाम्रो मान्यता पनि हो । मलाई लाग्छ, हाम्रा मागहरूलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका नेता गणहरूले सम्बोधन गर्दै महाधिवेशनमा प्रतिनिधि चयनको प्रक्रियाका विषयमा पुनरावलोकन गर्नुहुने छ भन्ने हाम्रो विश्वास पनि छ ।
आगामी महाधिवेशन हुने बेलासम्म पार्टीको विधान संशोधन गरेर निर्वाचनको विधि र प्रक्रियालाई लोकतान्त्रिक अधिकार नमर्ने गरी सच्याइने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । हामी अहिलेको महाधिवेशनमा जसरी भदौदेखि मंसिरसम्म खट्नुप¥यो अबको महाधिवेशनमा यस्तो अवस्था आउन नदिन पार्टी नेतृत्व गम्भीर बन्नेछ भन्ने पनि हाम्रो अपेक्षा हो ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
सबैभन्दा पहिले त नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा मलाई महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सुम्पने आम नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू, क्षेत्रीय प्रतिनिधिज्यूहरू, अग्रज नेतृत्वहरू, सञ्चारकर्मीहरू, आम व्यवसायी एवं शुभचिन्तकहरूमा हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्न चाहन्छु । यसैगरी भर्खरै सम्पन्न महाधिवेशनमा विजयी हुने दाङका केन्द्रीय सदस्यहरू दीपक गिरी, कृष्णकिशोर घिमिरे, शिला खड्का, गेहेन्द्र गिरी तथा योगेन्द्र चौधरीलाई यसै पत्रिकामार्फत् बधाई भन्न चाहन्छु ।
महाधिवेशनका क्रममा जिल्ला नेतृत्वमा चुनिएका सबै पदाधिकारी एवं क्षेत्रीय सभापतिहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारीलगायत सम्पूर्ण पालिकाका कार्यसमितिका सदस्यहरूमा पनि हार्दिक बधाई दिँदै सबै तह र तप्कामा जिम्मेवारी सम्हाल्नुभएका नेताहरूको सफल कार्यकालको कामना गर्दछु । साथै मलाई नेपाली कांग्रेसको हालै सम्पन्न चौधौँ महाधिवेशनका सन्दर्भमा केही कुरा राख्न दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई पनि धन्यवाद ।