मतदाता परिचयपत्र बनाउन सास्ती : पहुँच नभएका सन्ध्याहरु, तेस्रो दिन पनि पालो आएन

खेमराज रिजाल
दाङ, १३ पुस । तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरस्थित सन्ध्या केसीको सोमवार पनि मतदाता परिचय–पत्र बनाउने पालो आएको छैन । अस्ती शुक्रवार लाइनमा बस्दाबस्दै रात परेपछि निर्वाचन कार्यालयका कर्मचारीले अर्को दिन आउन भनेपछि स्कुल ड्रेसमै उनी मतदाता परिचय–पत्र बनाउन इलाका प्रशासन कार्यालय तुलसीपुरमा लाइनमा बसेकी छिन् ।

‘आज त पालो आउँछ, अनि परिचयपत्र बनाएर स्कुल पनि भ्याउँला भनेर स्कुल ड्रेसमै आएँ, तर आज पनि यतिबेलासम्म पालो आएको छैन’, सन्ध्याले भनिन्– ‘अग्रपंक्तिमा त विभिन्न पार्टीका नेता हुनुहुन्छ, उहाँहरुले छानीछानी पालो मिचेर आफ्नालाई बोलाउनुहुन्छ, हामी पहँुच नभएकाहरुको पालो आउनै कठिन छ । उनी सोमवार बिहान ७ बजेदेखि परिचय–पत्र बनाउने लाइनमा थिइन् । उनीभन्दा अघि मुस्किलले एक सय जना थिए होला तर लाइनभन्दा बाहिरका त्यो भन्दा निकै बढीले पालो मिचेका छन् ।

तुलसीपुर उपमहानगरपालिका अश्वाराकी कृष्णा डाँगीले पनि मतदाता परिचय–पत्र बनाउन तीन दिन कार्यालयमा धाएको बताइन् । तर उनको सोमवार पनि पालो आउने छाटकाट छैन । ‘लाइनको मुखैमा बसेका नेतालाई हामीले चिन्दैनौं, त्यसैले हामी लाइनमा सर्नै सकेका छैनौं’, डाँगीले भनिन्– ‘पार्टीको ठूलै मान्छे नभई सोझा–साझाले मतदाता नामावली दर्ता गराउनै मुस्किल छ । तुलसीपुर उपमहानगरपालिका–१६ भितुर्रेका पदम बस्नेतको पनि यस्तै नियती छ । उनी मतदाता नामावली बनाउनका लागि लाइनमा बसेको यो चौथो दिन हो । लाइनमै चाउचाउ खाँदै थिइन् भोक मेटाउन तुलसीपुर—१६ लक्ष्मीपुरकै प्रकृति खड्का पनि । भोकै आएकी थिइन् उनी भोट हाल्ने परिचय–पत्र बनाउन ।

उनीहरु मात्र होइन, तुलसीपुर इलाका प्रशासन कार्यालयमा एकैदिन मतदाता परिचय सजिलै कसैको पनि बनेको छैन । सुरुमा एकजना कर्मचारी खटाएको जिल्ला निर्वाचन कार्यालयले अचेल अर्को एकजना थप गरी दुईजना कर्मचारी खटाएको छ । तर मतदाता नामावली लाइनमा बसेकालाई बेवास्ता गर्दै नेताहरुले आफ्ना पक्षकालाई मात्रै परिचय–पत्र बनाइदिने खेलले सर्वसाधारणलाई परिचय–पत्र बनाउनै मुस्किल भएको छ । दलकै नेताले निर्वाचन कार्यालयले ल्याएका सयौं थान फाराम लगेर गाउँघरमै भरिदिने गरेको पाइएको छ । उनीहरुले नै मुठै लगेर अगाडि पुग्ने हुँदा लाइनमा बस्नेलाई निकै सास्ती हुने गरेको तुलसीपुर १६ का गुरुप्रसाद खत्रीले बताए ।

जिल्ला निर्वाचन कार्यालयले भदौ १ गतेदेखि इलाका प्रशासन कार्यालयमा मतदाता परिचयपत्र नामावली संकलन गर्न थाले पनि पछिल्लो दश दिनमा निकै भीड बढेको छ । मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, माओवादी केन्द्रलगायतका दलहरुको महाधिवेशन सकिएसँगै आम निर्वाचन हुने करिब पक्का भएपछि एकाएक भीड बढेको हो । दलहरूका बीचमा आ–आफ्ना कार्यकर्ताको मन जित्ने र रिझाउने होडबाजी चलेको हुँदा गाडी रिजर्भ गरी गाउँ–गाउँबाट सर्वसाधारणलाई मतदाता नामावली बनाउन ओसार्ने गरेका छन् । निर्वाचन आयोगले वैशाख १४ गतेदेखि स्थानीय तहको निर्वाचन गराउन प्रस्ताव गरेपछि यतिखेर स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावली बनाउने सर्वसाधारणको निकै बाक्लो भीडभाड देखिएको हो ।

इलाका प्रशासन कार्यालयमा नानी बोकेकादेखि जेष्ठ नागरिकसम्म मतदाता नामावली बनाउनका लागि घण्टौं लाइनमा उभिएको देखिन्थे । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख तथा दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सर्वसाधारण नागरिक मताधिकार प्राप्तिका लागि गाउँ–गाउँबाट आएको हुँदा कार्यालयमा भीडभाड बढेको बताए । यसले इलाका प्रशासन कार्यालयका दैनिक कामकाजमै समस्या हुने गरेको पनि उनको भनाइ थियो ।

‘राजनीतिक दलहरूले आ–आफ्ना भोटरलाई गाडी नै रिजर्भ गरी गाउँ–गाउँबाट ल्याउने गरेको पाइएको छ,’ प्रमुख बुढाले भने– ‘जनशक्ति कम हुनु र एकैपटक धेरै मानिस मतदाता नामावली बनाउन आउनाले सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको छ ।’ जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा यस्तो अभियान सञ्चालन गर्न सके यो समस्या समाधान हुने पनि बुढाको अभिव्यक्ति थियो ।

सहयोगका लागि तुलसीपुर उपमहानगरपालिकाबाट एकजना कर्मचारी माग गरे पनि नामावली बनाउनेको भीडभाडले कार्यालयबाट सहज सेवा प्रवाह गर्न समस्या भइरहेको बताए । ‘सरकारले निर्वाचनको मिति तोक्नासाथै मतदाता नामावली संकलन र परिचय–पत्र वितरणको काम पनि रोकिने भएकाले अहिले भीडभाड बढी देखिएको हो’, इलाका प्रशासन प्रमुख बुढाले भने । इलाका प्रशासन कार्यालय तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका छुट मतदाता पनि परिचय–पत्र बनाउन आइरहेका छन् । यतिधेरै छुट मतदातालाई परिचयपत्र बनाउन दुईजना कर्मचारी मात्रै पर्याप्त छैनन् ।

कांग्रेस तुलसीपुरको ध्यानाकर्षण

यसैबीच नेपाली कांग्रेस तुलसीपुर इकाईले मतदाता परिचय–पत्र बनाउने कामलाई सहज र व्यवस्थित बनाउन जिल्ला निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएको छ । ‘आम नागरिकको मताधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो, तर छुट मतदाता परिचय–पत्र बनाउने क्रममा देखिएको अस्तव्यस्तताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, नगर अध्यक्ष सुरेश हमाल र सचिव विमल पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै विज्ञप्तिमा मतदाता परिचय वितरणलाई पूर्णरुपमा व्यवस्थित गरी छिटोछरितो आम नागरिकहरुलाई मतदाता परिचय–पत्र बनाइदिन र परिचय वितरणस्थलमा अनावश्यकरुपमा पहुँचवालाहरुको चलखेल तत्काल रोक्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । निष्पक्षरुपमा मतदाता परिचय वितरण प्रक्रिया थाल्न पनि विज्ञप्तिमा स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयको ध्यानाकर्षण गराइएको छ ।