दाङ जिल्लाको सीमावर्ती कोइलाबास भन्सार सुनसान भएको करिब ३ दशक नाघेको छ । दाङ जिल्लासँगै यस क्षेत्रका रोल्पा, रुकुम, सल्यान, प्यूठान र अर्घाखाँची जिल्लाका केही भू–भागको पनि प्रमुख सीमा बजारका रुपमा रहेको कोइलाबास भन्सार अहिले सुनसान छ । कुनैबेला नेपालका सबै भन्सार नाकामध्ये दोस्रो ठूलो चल्तीको भन्सार नाका बन्द हुनुको कारण नै सडकको पहुँच हुन नसक्नु थियो ।
पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै यस नजिकका रुपैडिया नाका र बडेनी नाकामा सहज सडक यातायात पहुँच स्थापित भए तर पूर्व–पश्चिम राजमार्गले दाङ जिल्लाको कोइलाबास नाकालाई जोड्न सकेन । यस कारण कोइलाबास नाका कमजोर हुँदै अहिले ठप्प प्रायः भएको छ । दैनिक एक लाख रुपैयाँसम्म पनि राजस्व उठ्न कोइलाबास नाकामा मुस्किलको अवस्था छ ।
खासमा कोइलाबास नाका बन्द हुनुको कारण सडक थियो तर पछिल्लो समयमा कोइलाबास नाकासम्म पक्की सडक पुगेको करिब दुइ वर्ष पुग्न थालेको छ । सहज रुपमा दुईतर्फी यातायात सञ्चालन हुने गरी लमहीबाट कोइलाबाससम्म सडक पक्की भइसकेको छ । सार्वजनिक बस सेवा समेत सञ्चालनमा आइसकेको छ तर समग्रमा सो नाकाबाट व्यावसायिक कारोबार भने अझै सञ्चालनमा आउन सकेको छैन ।
लमहीबाट कोइलाबास नाकाका लागि जम्मा ३३ किमीको दूरी पर्दछ तर यो नाका नखुल्दा यहाँका व्यवसायीहरु यो भन्दा चारगुणा टाढाका कृष्णनगर भन्सार र रुपैडिया भन्सार धाउन बाध्य भएका छन् । यसले धेरै इन्धन खपत बढ्नुको साथै समयका हिसाबले पनि टाढा छ । समय पनि करिब तीनगुणा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
कोइलाबास नाकालाई सञ्चालनमा ल्याउनसके गढवा लमहीको पनि व्यावसायिक समृद्धि सुनिश्चित छ । यस क्षेत्रकालाई सीमा बजार पुग्न पनि सहज छ । यो विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार गम्भीर हुन आवश्यक छ । नाका सञ्चालनका केही प्रक्रियाहरु हुन्छन् । यहाँका उद्योगी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघ र भारतको सीमा बजारमा रहेको त्यहाँको व्यापार मण्डलबीच वार्ता र सम्वाद हुन आवश्यक छ ।
त्यसपछि दुवै देशका प्रान्तीय सरकारले यो नाकालाई सञ्चालनमा ल्याउनतर्फ केन्द्रीय सरकारमा दबाब सिर्जना गर्न आवश्यक छ । यसको नेतृत्व उद्योगी व्यवसायीहरुले गरौँ । यो अभियानमा प्रदेश सरकारको विभागीय मन्त्रालयले पहल गर्नसके कोइलाबास नाका सञ्चालनमा कुनै कठिनाइ हुने छैन । जिल्लाको समग्र आर्थिक समृद्धिसँग जोडिएको कोइलाबास भन्सार सञ्चालनमा ल्याउन कत्ति पनि ढिलासुस्ती नगरौँ । कोइलाबास भन्सारलाई पुनः सञ्चालनमा ल्याऔँ ।