खेमराज रिजाल
तुलसीपुर, ६ पुस । बालबालिकाले उपयोग गर्ने साना केकका पिस राखिएको प्लाष्टिकको डब्बा खोल्नासाथ डुङडुङ दुर्गन्ध आइरहेको थियो तर पसल्नीले भनिरहेकी थिइन् हिंजो मात्र ल्याएको जाडोमा तीन÷चार दिन चल्छ रे । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको समन्वयमा तुलसीपुर बजार अनुगमन गरिरहँदा तुलसीपुर उपमहानगरपालिका–७ खर्चवा नजिकैको रुकुमेली खत्री पसलमा देखिएको खाद्यान्नको अवस्था । केक मात्र होइन, पसलमा राखिएको केराउको दाल किरै किराले खोक्रो पारेको, पाउ तितौरा हो कि रंगीन अरु कुनै बस्तु थाहै नभएको ।
सोही वडाकै सल्यान रोडमा पनि एउटा पसलमा डल्लो पारिएको भुजाको अवस्था त्यस्तै थियो । यहीकै उत्पादन डल्ले भुजा पाँचवटा साना प्याकेट राखेर एउटा ठूलो प्याकेट बनाइएको थियो । प्रति पन्ध्रवटा भुजालाई भेलीमा मोलेका डल्ला कहिले उत्पादन भएका हुन् ? कहिलेसम्म खान मिल्ने उत्पादक कम्पनीले कहिँकतै उल्लेख गरेको पाइएन । सल्यान रोडकै अर्को पसलमा झुण्डाइएका रंगी–बिरंगी बस्तुलाई साहुनीले पाउ भन्थिन्, तर ती रंगीन पाउहरु कहाँबाट खरिद भएको भन्ने साहुनीलाई नै जानकारी छैन । पाउमा न कम्पनीको नाम, न उपभोग मिति र उत्पादन मिति लेखिएको कुनै संकेत । ‘साइकल बालेले बेच्न ल्याउँछन्, बालबालिकाले पाउ भनेर देखाइ–देखाइ माग्छन्, हामीले त थाहा पाउने भनेको बेच्ने मोल मात्रै हो’, साहुनीले ढुक्कसँग भनिन् । लोगो र लेवल नभएको बेच्नुहुन्न भनेर आफूले पहिलोपटक सुनेको उनको अभिव्यक्ति थियो ।
वडा नं. ७ कै अर्को पसलमा पनि मसला र नमकिन मिश्रित भुजाका रंगीन प्याकेटहरु थिए । चटपटेजस्ता देखिने सादा प्लाष्टिकका प्याकेटमा कुनै कम्पनीको नाम, लोगो, उपभोक्ता मिति अर्थात केही पनि उल्लेख थिएन । पाँच रुप्पे प्याकेटमा बिक्री हुने ती चटपटेका ग्राहक पनि बालबालिका नै हुन् । बालबालिकालाई सामान भए पुग्छ, मूल्य थाहा भए पुग्छ । बालबालिका यति निर्दोष हुन्छन् कि उनीहरुलाई उत्पादन मिति र एम्सपाएर डेटको कुनै मतलव हुँदैन । तर व्यवसायीहरु भने छलकपटपूर्ण व्यापार गरिरहेका छन् ।
अनुगमनका क्रममा भेटिएका पाउरोटी र अन्य डेरी आइटममा सबथोक बुझिन्छ, व्याच नम्बर बुझिन्छ, उत्पादकको नाम बुझिन्छ, बिक्रीका लागि लगिएको बस्तुमा यो यो परिणामको तत्वहरु छन् भन्ने बुझिन्छ । तर उत्पादन मिति र उपभोग मिति भने हतपती बुझ्नै मुस्किल । बालबालिकाहरुले उपभोग गर्ने भुजा मात्र होइन, चक्लेट, नमकिन, पाउरोटी, खस्ताजस्ता सामग्रीहरुमा बस्तुको मूल्य सबैले बुझिनेगरी उल्लेख हुन्छ, तर उत्पादन मिति र उपभोग मिति भने नियतले नै नबुझिने वा लेख्दै नलेख्ने गरिएको पाइएको छ । त्यसमा दाङ जिल्लाकै विभिन्न उद्योगहरुमा उत्पादित बस्नुहरु छन् ।
बालबालिका भविष्यका कर्णधार हुन् । भोलिका चिकित्सक र भोलिका इन्जिनियर र मन्त्री हुने यी बालबालिकाहरुलाई भने बेइमान व्यवसायीहरुले झुक्याएर यस्ता बस्नुहरु खुलेआम बजारमा बिक्री वितरण गर्दै आएको छन् । जंकफुड र त्यसमा पनि उपभोग मिति नै उल्लेख नभए पनि यी बस्तुहरु सेवन गर्ने बालबालिकाको स्वास्थ्यमा कति गम्भीर असर पारेको भन्ने हेक्का स्थानीय व्यवसायी, उत्पादक कम्पनी तथा अभिभावकहरुलाई नै छैन । यस्तै बेइमान खाद्य बजारले हाम्रा बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
कतिपय अखाद्य बस्तुको सेवनले फुड प्वाइजन तथा नियमित सेवनले दीर्घरोगको समेत समस्या देखिने गरेको चिकित्सकहरुले बताउँदै आएका छन् । बालबालिकाहरुको दैनिक खानपानमा विशेष महत्व दिनुपर्नेमा बजारमा आउने यस्ता खाद्यपदार्थले उनीहरुको स्वास्थ्य र मानसिक विकासमा नकारात्मक असर पारिरहेको बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बताएका छन् । बजारमा यसरी सामान बेचविखन रोक्न राज्यका सबै निकायहरुको सहकार्य आवश्यक रहेको पनि उनको अभिव्यक्ति थियो । ‘म्याद नाघेका यस्ता अखाद्य बस्तुको सेवनले बालबालिकाको मानसिक विकासमा पनि नकारात्मक प्रभाव पर्ने स्वास्थ्य विज्ञानले पुष्टि गरेको छ, यस्ता उत्पादकलाई कानुनबमोजिम दण्डको व्यवस्था स्थानीय सरकारले गर्न आवश्यक छ’, बालरोग विशेषज्ञ डा. खत्रीले बताए ।
व्यवसायीहरुले भने सबै सामानको आफूहरुले म्याद हेर्न पनि नभ्याउने समेत बताउँदै आएका छन् । कतिपय स्थानमा त व्यवसायीहरुले नियमित अनुगमनको अभावका कारण आफूहरु पनि यो विषयमा गम्भीर बन्न नसकेको बताए । ‘हामीले पसल सुरु गरेको पाँच बर्ष जति भयो, तर हामीले पहिलोपटक यो अनुगमनको सामना ग¥यौं’, भण्डारी स्टोरका सञ्चालिकाले भनिन् । उनले अनुगमनमा आएको टोलीलाई यसरी नै नियमित अनुगमन गरिदिए आफूहरु पनि सुध्रने अभिव्यक्ति दिइन् । साथै उनले यो अनुगमन बस्तु उत्पादक कम्पनीमा पनि हुनुपर्ने सुझाव दिइन् ।
‘उत्पादक कम्पनीले नै स्पष्ट बुझिने गरी उपभोग मिति उल्लेख गरेका हुँदैनन्, हामीले त उनीहरुको बोलीलाई विश्वास गर्नुपर्दछ’, उनले अनुगमनमा पुगेको टोलीलाई भनिन् । बजार अनुगमन जारी रहँदा पनि बजार भने सुध्रन सकेको छैन । अनुगमनसँगै दण्डको पनि व्यवस्थापन गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन् । तर अनुगमनका क्रममा एकपटकलाई सुध्रने मौका भन्दै अर्कोपटक फेरि सोही पसलमा नजाने प्रवृत्तिले पनि यस्तो अवस्था निरन्तर रहेको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ ।
यसैबीच सधै पर्वलक्षित र बजार केन्द्रित अनुगमन हुने गरेको जनगुनासोपछि तुलसीपुर उपमहानगरपालिकाले नियमित बजार अनुगमनलाई निरन्तरता दिन थालेको जनाएको छ । उपमहानगरपालिकाको नेतृत्वमा भएको अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखाका प्रमुख रेखा शर्मा, अनुगमन अधिकृत सुनिता थापा, तुलसीपुरस्थित खाद्य गुणस्तर कार्यालयका प्रतिनिधिहरु राजेश चौधरी, निरज कार्की, तुलसीपुर उपमहानगरपालिका–७ वडा सदस्य चित्रा मल्ल, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि मोहमद तर्की खाँलगायत सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो । यस क्रममा विभिन्न पसलहरुबाट म्याद नाघेका सुजीका प्याकेट, किरा लागेका दाल, केही बेकरी आइटम तथा बच्चाहरुले उपभोग गर्ने विभिन्न चकलेटहरु जफत गरिएको थियो ।
अनुगमनका क्रममा कुनै पनि पसलमा मूल्यसुची रहेको पाइएको छैन । उपभोक्ताहरुलाई दिइने बिल तथा दर्ता प्रमाणपत्रहरु पनि पसलेहरुले भेटाउन नसकेको बताएका छन् भने केही व्यावसायिक प्रतिष्ठानहरु दर्ताविनै सञ्चालन भएको पाइएको थियो । अनुगमन शाखा प्रमुख रेखा शर्माले दर्ता नभएका पसलहरुलाई एक साताभित्रै दर्ता प्रक्रियामा जान र अर्को अनुगमनमा आउँदा पनि यस्तै म्याद नाघेका सामान राखेको पाइएमा उपभोक्ता कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएकी थिइन् ।