खगराज न्यौपाने
श्री युत भाइ रमेश,
शुभआशीष
यहाँ हामी नेपालमा सबै चिन्ताग्रस्त अवस्थामा छौँ । वर्तमानप्रति असन्तुष्ट छौँ । त्यसैले केही गर्नुपर्छ । अनि मात्र भविष्य उज्यालो हुनसक्छ भन्ने अवस्थामा पुगेका छौँ । तिमी अध्ययनार्थ गएको अमेरिकामा तिमी र तिम्रो साथीहरुको अध्ययनको साथै स्वास्थ्यको शुभकामना व्यक्त गर्दछौँ ।
आफ्नो अध्ययन पूरा गरेर यहाँ नेपालमा आइ तिमीहरुले जानेका, सिकेका प्राविधिक कुराहरुबाट नेपाल र देशबासीलाई समेत लाभान्वित गराउने छौँ भनी आशा एवं विश्वास लिएका छौँ । यसपटकको पत्रमा तिमीले टाढा बसे पनि देश र देशबासीको विषयमा जान्न चाहेकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । भाइ रमेश ! समय परिवर्तनशील छ या भनौँ बदलिरहन्छ । महिना, वार, ऋतहरु पनि बदलिरहन्छन् ।
ठन्डीको समयमा तातो–न्यानो कपडाको जोहो गर्नुपर्छ तर तिनै गरम कपडाहरु गर्मीका दिनमा बदल्नुपर्ने हुन्छ र पातलो किसिमका वस्त्रको व्यवस्था गर्नुपर्ने हुन्छ । वर्षा ऋतु आयो भने वर्षाबाट बच्नका लागि छाता, स्याङुजस्ता वस्तुको जोहो गर्नुपर्ने हुन्छ । जीवनमा हरेक कुरा बदलिरहन्छ । यही बदलाव नै जिन्दगी हो । समयानुसार आफूलाई बदल्नसक्ने व्यक्तिहरु नै सफल मानिन्छन् ।
हाम्रो नेपालको इतिहासलाई फर्केर हेर्दा हाम्रा पूर्वजहरुले देशको स्वाभिमानको रक्षा गर्दै आएको देखिन्छ ।
राष्ट्र नरहे हामी रहन्नौँ, हाम्रो अस्तित्व रहँदैन । स्वाभिमान रहँदैन भनेर प्राणको बाजी लगाएको देखिन्छ । तर आज आएर हामीले आफ्नो इतिहासलाई क्रमशः बिर्सिरहेका छौँ । हामीले गरेका काम कुराले कुनै व्यक्तिलाई त लाभ होला तर समस्त राष्ट्रका लागि घात भइरहेको छ । कसैलाई लहड चल्यो सांसद विघटन गरिदिन्छौँ । तयसको दूरगामी प्रभाव के होला सोच्न सक्दैनौँ । आफ्नो सानो स्वार्थका लागि ठूला गल्ती गर्छौँ ।
भाइ रमेश ! एउटा व्यक्तिको रिस गरेर बाँकी दुईचारजनाले मिलेर गरेको गलत कामले समाजलाई पतनतर्फ लागिरहेको पनि देखिन्छ । जस्तो आजभोलि भइरहेको छ । यसले गर्दा नेपालको कार्यपालिका, व्यवस्थापिकामा विकृति आएर देशको अवस्था लथालिङ्ग भएको देखिएको छ । यस पटक त न्यायपालिकामा पनि विकृति आउन थालेको प्रष्ट हुन्छ । देशका सम्पूर्ण क्षेत्रहरुमा हेर्दा जताततै विकृति विसंगति देखापरेको छ । देश अब निर्यातमुखी नभएर आयातमुखी भइरहेको छ । यतिसम्म कि तिहारमा लगाउने मालाका लागि पनि हामी परनिर्भर भइरहेका छौँ । यो विषयमा सोच्नका लागि हाम्रा अगुवाहरुलाई फुर्ससदै छैन । यसैले हाम्रो देशको अवस्था दिन प्रतिदिन बिग्रँदो छ ।
भाइ रमेश ! कृषिप्रधान देश हो तर यहाँ कृषिको ज्यादै नाजुक छ । कृषिबाट उत्पादन हुने धान, मकै, गहूँ, तोरी, चना, केराउ आदि जस्ता खाद्यवस्तुहरु पनि विदेशबाट आयात गर्नुपर्छ । योभन्दा लज्जास्प्रद अरु के हुन सक्छ र ? यस्तो किन भयो भनी विश्लेषण गर्दा हामी कहाँ जमिन सिंचाइका लागि पानीको राम्रो व्यवस्था छैन । कताकती भएका नहरहरु पनि अपर्याप्त मात्रामा छन् । रासायनिक मलको व्यवस्था छैन । सम्बन्धित निकायले मल उपलब्ध गराउन सक्तैन । गुणस्तरीय बिउविजनको व्यवस्था छैन ।
एग्रोभेटबाट बिउविजन किनेर लग्यो । महँगो दाम हाल्यो अनि पछि फल लाग्नेबेलामा गेडा वा फल लागेन । त्यस्तो बिउ बेच्नेलाई कारबाही पनि हुँदैन । खेतीको सिजनमा मल उपलब्ध गराउन नसक्ने कम्पनीलाई कारबाही पनि हुँदैन । किन कि यहाँ सरकार भए पनि नभएजस्तो छ । बेसिजनमा भएको वर्षाले दाङमा मात्रै ७० करोडको धान नोक्सान भएको कुरा कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तर आजसम्म पनि किसानले राहत पाउन सकेका छैनन् ।
देशको उत्थान गर्नेबारेमा सोच्ने नेताहरुलाई फुर्सदै छैन । बरु एकअर्कालाई निम्न स्तरमा ओर्लेर गालीगलौज गर्ने दिशातर्फ उन्मुख छन् । भाइ रमेश ! मैले तिमीलाई यहाँ भएको कुराको जानकारी गराउँदै बिदा चाहन्छु ।
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने