युधिष्ठर स्वर्ग जानु र भाइहरूसँग भेट गर्नु

राधेश्याम उपाध्याय

केही समयमा ठूलो शब्द गरेर स्वर्गबाट सबै दिशा उज्यालो पर्दै एक विमान आयो । इन्द्र विमानबाट झरे । राजा युधिष्ठिरका अगाडि आएर नम्र स्वरमा स्वर्गबाट विमान ल्याएको छु । यसमा बसी स–शरीर आनन्दका साथ स्वर्ग हिड्नुहोस् । यो सुनेर युधिष्ठिरले ‘हे इन्द्रदेव ! म त्यो सबै मान्दछु । मेरा रानी द्रौपदी र चारै भाइ पथ (बाटा) मा लडेर मरेका छन् । हजुरले व्यवस्था गरी दिए ती सबैलाई सँगै लिएर स्वर्ग जाने थिएँ ।’

युधिष्ठिरको यस्तो विन्ति सुनेर ईन्द्रले भने ‘हे राजन ! हजुरका भाइ र रानी अगाडि नै स्वर्ग गइसकेका छन् । तिनका लागि हजुरले चिन्ता लिनु पर्दैन । तिनीहरूले आफ्नो पुण्यफलले सुखभोग गर्दैछन् ।’ यो सुनेर युधिष्ठिरले आफ्नो इच्छा राखे ‘मेरो सँगमा मेरो भक्त कुकुर छ, यसलाई पनि सँगै लैजाने इच्छा छ ।’ युधिष्ठिरको यस्तो कुरा सुनेर इन्द्रले भने ‘हे महाराज ! हजुरजस्तो धर्मज्ञ व्यक्तिले यस्तो तुच्छ विचार मनमा राख्नु हुँदैन । कुकुर अशुद्ध जात हो यसलाई सँगै राखे पनि धर्म भ्रष्ट हुन्छ र शान्ति दिने स्वर्गको कुनै सुख पाइँदैन ।

त्यसैले कुकुरलाई त्यागेर विमानमा बसी स्वर्ग गई आनन्द भोग्नुहोस् ।’ यो सुनेर धर्मकुमारले भने ‘हे सुरेन्द्र ! हजुरले भनेका कुरा साँचा हुन तर यसले मेरो ठूलो भर मान्दछ । यस्तो विकट बाटोमा पनि मलाई नछोडी सँगै आयो । दुर्बल र आर्तको रक्षा गर्ने मेरो प्रण छ, त्यसैले यसलाई छोडेर म मात्र आफ्नो सुखभोगका लागि स्वर्ग जान सक्दैन । यो कुकुर मात्र नभएर विशेष खालको मेरो भक्त कुकुर हो । मेरा चार भाइ र पत्नी समेत मर्दा यो आफ्नो पुण्यको प्रसादले याहाँसम्म जीवितै छ, त्योसैले यो मसँग जान पाउँदैन भने बरु म पनि स्वर्ग जान सक्दैन ।’

‘इन्द्रले युधिष्ठिरको भाव बुझेर सम्झाउँदै भने ‘दान, धर्म, यज्ञ, स्वाध्यायन जुन ज्ञानी मानवले गर्दछन् त्यसमा कुकुरको दृष्टि मात्र प¥यो भने पनि सबै निष्फल हुन्छ त्यसको फल पाइँदैन । आफ्ना गुणी भाइ र रानीलाई समेत बीच बाटोमा त्यागिसक्नु भयो भने यो कुकुरलाई त्याग्न किन गाह्रो भयो ?’ यो सुनेर धर्मकुमारले भने ‘बाचुञ्जेल व्यक्तिहरूको सम्बन्ध रहन्छ मरिसकेपछि चिन्ता गर्नु बेकार छ ।

बल गरेर मरेको व्यक्तिलाई जीवित पार्न सकिँदैन । आफ्नो साथी भयभित व्यक्ति, बालक, नारी, दुःखी, व्यक्ति, सज्जन आफूमा आस्रित व्यक्ति र आफ्ना शरणमा आएका व्यक्तिहरूलाई त्याग्ने छैन भनि मैले प्रण गरेको छु । यिनीहरूलाई त्याग्दा पाप लाग्नेछ । त्यसैले मेरो आश्रयमा आएको यसलाई यो विरानो स्थानमा त्यागेर म स्वर्गको आनन्दको लोभमा एक्लै स्वर्ग जान मिल्दैन ।’

यसरी युधिष्ठिरले एक्लै स्वर्ग नजाने अठोटका साथ उत्तर दिएपछि स्वयम् धर्मराज कुकुरको स्वरूप त्यागि इन्द्र तथा युधिष्ठिरलाई दर्शन दिनुभयो । प्रत्यक्ष धर्मराजलाई देखेपछि धर्मकुमारले पिताजी मानि चरणमा ढोगे । यो प्रेम तथा सद्भाव देखेर धर्मराजले नमै स्वरमा शिक्षा दिए ‘तिमीले मलाई वनबासको समयमा द्वैतवनमा बकुल्लो स्वरूपमा देख्यौ । तिम्रो धर्मपरीक्षा लिँदा धर्मप्रतिको स्थिरता देखेँ । द्वैतवनमा अरु चार भाइलाई त्यागि कारण सहित नकुलको जीवन माग्यौ र सबै भाइलाई बचायौ ।

अहिले पनि मेरो भक्त हो मेरो शरणमा आएको छ भनि भक्त उपर बढ्ता स्नेह गरी आफ्नो स्वर्गको आनन्द त्यागिदियौ । तिम्रो यस्तो कार्यले म तिमीदेखि खुसी भएँ । तिमी सरीका प्रजापालक राजा न पहिले भए अहिले पनि छैनन् पछि पनि हुने आश छैन । खुसी साथ निःसन्देह स्वर्ग जाउ र चैन गर’ भनि धर्मराज र युभिष्ठिरको कुरा हँुदै थियो । स्वर्गबाट सम्पूर्ण देवताहरू आ–आफ्ना विमान चढी भेट्न आए । केहीबेर आपसमा सम्मान साथ क्षेम कुशलका कुरा गरी धर्मकुमारलाई विमानका बीचमा राखी चारैदिशा उज्ज्वल बनाउदै उडेर स्वर्ग जान लागे । आजसम्म सदेह स्वर्ग जाने केवल युधिष्ठिर मात्र भए । यिनी सरह ज्ञानी, सज्जन र धर्मज्ञ कोही भएन भनि नारद आदि देव ऋषिले भुपालको गुणको वर्णन गर्दै थिए । यसरी आफ्नो गुणानुवाद सुन्दै राजा युधिष्ठिर स्वर्ग पुगे ।

स्वर्गमा आफ्ना भाइ, रानी र सबै वान्धवलाई खोज्न लागे । स्वर्गमा सिद्ध तपस्वि आठ वसुहरू राजर्षि ज्ञानि मुनि धर्मात्माजन मरुद्गण सवै देवताहरूलाई देखे । सम्मान साथ बसेका सुयोधन र उनका सबै कौरव सय भाइहरूलाई पनि स्वर्गका अधिपति इन्द्रझै सुशोभित देखे तर आफ्ना भाइ तथा बन्धुबान्धवहरूलाई नदेखेर मनमनै रिसाउँदै अर्कोतर्फ फर्केर केही उच्च स्वरमा युधिष्ठिरलले देवगणहरूसँंग सोधे, ‘जसका कारणले दुवैतर्फको युद्ध भयो । कोही योद्धा पृथ्वीलोकमा बचेन, सबैको संहार भयो ।

त्यस्ता कौरवहरू यो सम्मानका साथ स्वर्गमा छन् तर मेरा धार्मिक भाइ, बन्धु, द्रुपदकी छोरी द्रौपदी तिनका छोराहरू धृष्टद्युम्न, सात्यकी आमा कुन्ती, दाजु कर्ण र हाम्रा निम्ति युद्धमा जीवन अर्पण गर्ने ती सत्धर्मीहरू कहाँ छन् ? भेट्न पाए दर्शन गर्ने थिएँ भन्न लागे । यी पापी कौरवहरूसँग बस्न म आँटे पनि सक्दैन । म मेरा बन्धुवान्धवहरूसँंग जाने इच्छा छ’ भनि देवताहरूलाई भने । यसरी साह्रै चित्त दुखाइ विन्ति गरेको सुनि ज्ञानि नारदले हाँस्दै भने ‘हे राजन ! पृथ्वीतलमा जुन सुख–दुःख परे ती सवै धर्मार्थ सहन गर्दै जुन कर्तव्य पूरा ग¥यौ त्यही कारण तिमीले सशरीर स्वर्गको सुख सुविधा प्राप्त गरेका छौ ।

अब तिमीले स्वर्गका राजा इन्द्रजस्तै शान्तिपूर्वक उपभोग गर । स्वर्गमा अप्सरा गण र गन्धर्वहरूले तिम्रो चाकरी गर्नेछन् । यसरी तिमी एक कल्प भरी आनन्दपूर्वक अनेकथरि सुख भोग गर्नु । हे राजन ! स्वर्गको नन्दन वनमा निर्धक्कका साथ आफ्नो श्रेष्ठ विमानमा आफ्नो सत्कर्मको फल उपभोग गर्नु । स्वर्गमा ज्ञानी सज्जनहरू मात्र यहाँ आउन पाउँछन् । दुष्ट, खल, राक्षस प्रवृत्तिका स्वर्ग आउन सक्दैनन् । पृथ्वी लोकमा व्यक्तिहरूमा आपसमा स्नेह हुन्छ । त्यस्तो बन्धुहरूमा हुने प्रेम वा सत्रुहरूमा हुने दुस्मनी स्वर्ग आएपछि रहँदैन ।

हे सज्जन ! स्वर्गमा बन्धुहरू र शत्रुहरूको भिन्नता रहँदैन । तिमीले पनि त्यस्तो विभेद बिर्सेर पुण्यका फलहरू भोग गर्नुपर्दछ ।’ नारदबाट यसरी शिक्षा सुनेर दुवै हात जोडेर ‘मेरा रानी, भाइ, बन्धुवान्धवहरू जहाँ छन् त्यहीँ नै स्वर्ग मानेर आनन्दपूर्वक बस्दछु । योद्धा भाइ भीम तथा अर्जुनलाई अहिले म कसरी बिसूँ । दानवीर दाजु कर्ण थिए भनि सम्झन्छु । मेरो निमित्त जहाँ मेरा बन्धुवान्धवहरू छन् त्यहीँ मेरो लागि स्वर्ग हुनेछ । हे मुनि ! चाँडै ती सवैलाई भेट्ने इच्छा छ’ भनि विन्ति गर्न लागे ।

युधिष्ठिरको यस्तो विन्ति सुनेर इन्द्रले एउटा चर (दूत) लाई बोलाएर यिनलाई आदरपूर्वक ‘जहाँ यिनका बान्धवहरू छन् त्यहाँ लैजाऊ र यिनले जहाँ फर्कने इच्छा गर्छन् त्यहीँबाट फर्काएर यहाँ ल्याउनु’ भनि आज्ञा दिए । सुरेन्द्रको यस्तो आदेश पाएर त्यो दूत(चर)ले अगाडि लागेर युधिष्ठिरलाई भाइहरू भएको स्थानमा लग्न लाग्यो ।

जाँदै गर्दा स्वर्ग नाघेर दक्षिणतर्फ अगाडि बढ्दै गए । दुर्गम कष्ट मार्ग धेरै भएको अँध्यारो केही नदेखिने थियो । बाटोमा भएका रूख तथा झारपातले तरवारझैँ नराम्रो गरी कोर्ने गर्दथे । बाटामा रगत मज्जा मांसको हिलो जमेझैँ जमेको थियो । त्यो बाटो हिंड्दा भूपतिलाई ठूलो कष्ट हुन लाग्यो । लामखुट्टे र झिँगाहरूले टोकेर सताउन थाले । खुट्टामा तिखा ढुङ्गाका कण र काँडा बिझ्न लागे । हुरीले छारो उडाएर पनि दुःख दिन थाल्यो । बाटामा बाघ, भालु र हिंस्रक जन्तुहरु चिच्च्याउन थाले । सबै बाटाभरि डरलाग्दा शव (लास) देखिन्थे ।

कृमि किरा फट्याङग्रा भुसुनाहरूले ढाकेका बाहु, पाऊ, शिर र शरीर लासहरू देखिन्थे । चरैतर्फ बाटामा खप्न नसकिने दुर्गन्ध थियो । कौवा, गिद्ध र तीखा ठोर हुने पंक्षीहरू देखिन्थे । भूत, प्रेत, पिसाच, अग्ला, ठूला डरलाग्दा बाटोभरि डुल्दथे । कतै मज्जा मांस, अस्थि, रगत खोलाजस्तै बगिरहेको थियो । बिष्ट, मुत्र, खकारका साना ठूला कुण्डहरू थिए । कहीँ लामा हात तीखा नङ लामा–लामा दाह्रा भएका काला सुण्ड मुसुण्ड यमराजका दूतहरू बाटाभरि डुलिरहन्थे । कहीँ पापीहरूलाई तातो उम्लिरहेको तेलमा गाडिरहेको देखिन्थ्यो भने कहीँ त्यो यातना देखेर पागल सरी हाँसिरहेका व्यक्तिहरू पनि देखिन्थे । यस्तो चरम दुःख, गन्ध, यातना खप्न नसकेर धर्मपुत्रले दूतलाई ‘अब हामीले यस्तो दुर्गम बाटो कति हिँड्नु पर्दछ’ भनि सोधे ।

धर्मपुत्रको यस्तो आज्ञा सुनेर दुतले भन्यो ‘हे राजन ! नरकमा जाने बाटो यही हो । अब हामी कष्ट सहन गरी गन्तव्य स्थानमा आइपुग्दै छौँ । ‘हे नरपते हजुरको फर्कने विचार भए म सुरेन्द्रकहाँ फर्काउँछु । सुरेन्द्रको पनि यही आदेश छ’ भनि दूतले भन्यो । त्यो सुनेर युधिष्ठिरले पनि कष्ट सहन गर्न नसकेर ‘फर्कन्छु’ भने । त्यो सुनेर नरकमा हाहाकार परेर नरकमा बसेका नरकबासीले कराउँदै केहीबेर हजुरले यहाँ बसिदिनुहोस भनी अनुरोध गर्न लागे । हजुरको कष्ट त देखिरहेका छौँ तर पनि हजुरको शरीरबाट जुन शीतल हावा चलिरहेको छ त्यसले हामीलाई शीतलता प्रदान गरिरहेको छ । जो हाम्रा लागी केही राहत भएको छ ।

त्यसैले हाम्रो लागि भए पनि दयालु बनी दुई घडिजति भए पनि बसिदिनुहोस्’ भन्न लागे । यस्तो पुकारा सुनेर यी मलाई पुकारा गर्ने को–को रहेछन् भनि नचिनेर टक्क अडिइ दयालु बनी सोधे, ‘तिमीहरू को हौ ? मसँग तिमीहरूको के सम्बन्ध छ ? आफ्नो नाम प्रष्ट भन । यो कोलाहलले मैले प्रष्ट सुनिरहेको छैन । तिमीहरू मेरा बत्रु हौ या बन्धु मैले चिन्न सकिनँ ।’ यस्तो कल्याण हुने कुरा सुनेर जो दुःखमा परेर नरकमा बसेका थिए तिनीहरूले खुसी हुँदै ‘म भीम, म द्रौपदी, म अर्जुन, म सहदेव, म कान्छो भाइ नकुल र म दाजु कर्ण हुँ’ भनी आ–आफ्नो नाम भने ।

यो सुनेर धर्मपुत्र युधिष्ठिरले यस्तो उल्टो किन भयो भनि विचार गर्न लागे । ‘अब म मेरो गन्तव्य स्थानमा आइपुगेँ । म खुसी साथ यहीँ बस्छु, यही कुरा इन्द्रलाई सुनाउनु’ भनि दूतलाई फिर्ता जान भने ।