खेमराज रिजाल
बिजौरी, १ पुस ।
जति रक्सी पिए पनि, जति गाँजा ताने पनि
भन्दिनन् हाम्री आमा भुइँमा खुट्टा नटेके पनि ।
जनप्रतिनिधिहरुको यस्तै अभिव्यक्ति थियो, राजनीतिक दलका नेताहरुको यस्तै अनि सुरक्षा अधिकारीको पनि यस्तै अभिव्यक्ति । बिजौरी उद्योग वाणिज्य संघ र प्रहरी चौकी हेमन्तपुरको संयुक्त आयोजनामा बुधवार बिजौरी उद्योग वाणिज्य संघमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले परिवारका बावुआमा तथा घरमुलीले नै दुव्र्यसनीका सूचना लुकाउने प्रवृत्तिका कारण यसको न्यूनीकरणमा ठूलो चुनौती देखिएको बताएका छन् ।
‘हामीले बनाएका विना बर्दीका प्रहरीहरु नै गाँजा तान्न लागिसकेका छन्, आयुर्वेद क्याम्पसमा पढ्ने विद्यार्थीमा पनि यस्तै गाँजा खोज्ने प्रबृत्ति देखेको छु, जब अभिभावकहरुले जानीजानी यस्ता घटनाहरु लुकाउन खोज्छन् भने समस्या गम्भीर बन्दै जाने रहेछ’, कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगीले भने । आफ्नो वडा अहिले गाँजा तान्नेको हव भएको बताउँदै यसलाई न्यूनीकरण गर्न आमाहरु नै सचेत हुनुपर्ने पनि उनको सुझाव थियो । सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष थलराज पुरीले पनि अभिभावकहरु जानकार भएर पनि आफ्नो परिवारमा भएका दुव्र्यसनीका घटना लुकाउनु दुर्भाग्यपूर्ण भएको बताए ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का विशिष्ट अतिथि तथा १६ नं. वडाध्यक्ष भूपबहादुर केसीले एउटै गाउँमा दशवटासम्म रक्सी र गाँजा तान्ने कटेजहरु खुलेको बताउँदै हरेक बस्ती गाँजा र मदिराका गन्धले भरिपूर्ण भएको बताए । ‘जानकार बुवाआमाहरुले भन्दैनन्, कछाड क्षेत्रमा प्रहरी पुग्दैन, यसैले समस्या घट्नुको साटो बढिरहेको छ’, वडाध्यक्ष केसीले भने । परिवारको एउटा सदस्य मदिरा होस् वा गाँजा कुनै पनि लतमा फसेको छ भने त्यो सबै जानकारी बुवाआमालाई हुने भन्दै यसलाई सामूहिकरुपमै लागेर नियन्त्रण गर्नका लागि सूचना लुकाउन नहुने पनि उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा प्रहरीले सम्साँझै पसल बन्द गर्न लगाउने, घोराही तुलसीपुरमा अपराध गरेर बिजौरीमा लुक्न आउने, फोहर व्यवस्थापनमा निकै समस्यालगायत घरेलु हिंसा र यौनजन्य अपराधहरु पनि समाजमा व्याप्त रहेको बताउँदै यसको न्यूनीकरणका लागि स्थानीय सरकार, सुरक्षा निकाय, उद्योगी व्यवसायी, नागरिक समाजलगायतको साझा संकल्प बन्नुपर्ने पनि सहभागीहरुको सुझाव थियो । ‘बाटैभरि फोहर थुप्रिएको हुन्छ तर उपमहानगरपालिकाको गाडी तीन सातासम्म पनि आउँदैन फोहर उठाउन’, एमाले तुलसीपुर–१८ का अध्यक्ष तथा बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मुकेश वलीले भने ।
कार्यक्रममा प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समाजमा सबैभन्दा ठूलो र गम्भीर समस्या लागूऔषध दुव्र्यसनीकै रहेको बताउँदै बुवाआमाहरुले आफ्नो सन्ततिको निगरानी गर्न आग्रह गरे । ‘हामी लागूऔषध दुव्र्यसनीलाई समाउँछौं, आमाहरु त्यस्तो अभियुक्त होइन भनेर छुटाउन आउनुहुन्छ, समस्या यहीँनेर व्यापक छ’, प्रमुख अतिथि अर्यालले भने । प्रमुख अतिथि अर्यालले आफ्नो सन्तति दुव्र्यसनीमा लागेको हरेक अभिभावकलाई जानकारी हुने भन्दै त्यसलाई निराकरण गर्नका लागि प्रहरीलाई सूचना दिन पनि आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर–१७ का सभापति डण्डीराम गिरी, १६ का सभापति लिलाधर वली, राजमोका जिल्ला सहसचिव श्रीराम पौडेल, एमाले १९ का अध्यक्ष विमल रेग्मी, तुलसीपुर उपमहानगरपालिका–१८ का सदस्य शितल बुढालगायतले बोलेका थिए । बिजौरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले गरेका थिए ।