राजीनामा दिएर मात्रै सक्रिय राजनीतिमा : जिल्ला सचिव योगी

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत् नेपाली कांग्रेसको सचिवमा अर्जुनकुमार योगी निर्वाचित भइरहँदा बहालवाला शिक्षक सक्रिय राजनीतिमा आउन थाले भन्ने विषयमा विभिन्न ठाउँमा टीकाटिप्पणीहरु भए । यहाँ मात्र यस्तो भएन, यो बहस मुलुकभर भयो । अन्ततः उच्च अदालतमा पनि यो विषयमा उजुरी प¥यो ।

यद्यपि शिक्षकहरु सक्रिय राजनीतिमा कुन तहसम्म हुन पाउने भन्ने स्पष्ट कानुनी व्यवस्था भने देखिएको छैन । शिक्षक पेशामै रहेर सक्रिय राजनीतिमा अउनु उपयुक्त हो वा होइन ? भन्ने सन्दर्भसँगै भर्खरै सम्पन्न चौधौँ महाधिवेशनको सेरोफेरोमा रहेर पूर्व शिक्षक तथा नेपाली कांग्रेस दाङका नवनिर्वाचित जिल्ला सचिव अर्जुनकुमार योगीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 स्वागत एवं बधाई तपाईंलाई । भर्खरै सम्पन्न चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सचिवमा निर्वाचित हुनुभएकोमा ।

 धन्यवाद, तपाईं, तपाईंको लोकप्रिय गोरक्ष दैनिक पत्रिका परिवार एवं मलाई नेपाली कांग्रेसको जिल्ला सचिवको जिम्मेवारी सुम्पन मतदान गर्नुहुने सम्पूर्ण मतदाता साथीहरू, मलाई निर्वाचनमा हौस्याउने एवं सहयोग गर्ने आदरणीय कांग्रेस नेताहरूलाई पनि ।

 तपाईं त वहालवाला शिक्षक, एकाएक कांग्रेसको सक्रिय राजनितिमा आउनुभयो, प्रचलित ऐन कानुन सम्मत हो यो ?

 सबैभन्दा पहिले सबैलाई यसै पत्रिकामार्फत् फेरि पनि स्पष्ट पार्न चाहन्छु कि म वहालवाला शिक्षक होइन । मैले कांग्रेस जिल्ला सचिवमा उम्मेद्वारी मनोनयन दर्ता गर्नु अघि नै शिक्षक पेसाबाट राजिनामा दिइसकेको छु । मेरो राजिनामा पनि स्वीकृत भइसकेको छ । तपाईं सम्बन्धित विद्यालय र जिल्ला शिक्षा समन्वय ईकाईमा पनि बुझ्न सक्नुहुन्छ । किनकि म एउटा शिक्षा ऐन र शिक्षासम्बन्धी कानुनहरू समेत बुझेको मान्छे यसरी राजनीतिमा आउन मिल्दैन भन्ने मलाई स्पष्ट थाहा थियो । म अहिले पूर्व शिक्षक भइसकेको छु ।

बहालवाला शिक्षक सक्रिय राजनीतिमा आउनु हुँदैन । यसलाई नेपालको शिक्षा ऐन र प्रचलित कानुनले पनि बोलेको अवस्था हो । राजनीतिक आस्था राख्न पाउने अधिकार र मतदानको अधिकार सबै नागरिकलाई छ तर शिक्षक भइसकेपछि कुनै पनि पार्टीको वैधानिक समितिमा बस्नु हुँदैन । यहाँसम्म कि कुनै पनि तल्लो तहको वडा समितिमा सदस्यको जिम्मेवारी पनि शिक्षकले लिन मिल्दैन तर पार्टीभित्रको संरचनामा पार्टीको क्रियाशील सदस्यता तथा क्षेत्रीय प्रतिनिधिसम्म बन्नलाई शिक्षा ऐनले कुनै रोकतोक लगाएको छैन भन्ने पनि स्पष्ट पार्न चाहन्छु ।

 शिक्षा सेवा छाडेर एकाएक जिल्ला सचिव बनेर सक्रिय राजनीतिमा आउनुभयो, तपाईंको राजनीतिक पृष्ठभूमिको विषयमा केही बताइदिनुस् न ?

 मलाई विद्यार्थीकालदेखि नै राजनीतिमा निकै उत्साह थियो । सक्रिय पनि हुँदै नेपाली कांग्रेसको आदर्श र सिद्धान्तसँग जोडिएको हुँ । वि.सं २०३६ सालमा म कक्षा ८ मा पढ्दादेखि नै नेपाली कांग्रेसको भ्रातृ संगठनको राजनीतिमा जोडिएका हुँ । वि.सं २०४२ सालको सत्याग्रहमै टिक्रालहलौराबाटै म नेपाली कांग्रेसको अभियानमा जोडिएँ ।

त्यसपछि पनि मेरो राजनीतिक रुचिका आधारमा म वि.सं २०५० सालमा शिक्षक हुँदाखेरि नै नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघमा आबद्ध भएको हुँ । त्यसपछि शिक्षक संघ दाङको जिल्ला सदस्य, नेपाल टे«ड युनियन कांग्रेसको जिल्ला कोषाध्यक्ष, नेपाल शिक्षक संघको जिल्ला कोषध्यक्ष, फेरि नेपाल ट्रेड युनियन कांग्रेस मध्यपश्चिमको कोषाध्यक्षको जिम्मेवारी पूरा गरिसकेको छु ।

यसैगरी नेपाल शिक्षक संघको जिल्ला सचिव र जिल्ला अध्यक्षको जिम्मेवारी पूरा गर्दै मुलुक संघीय संरचनामा प्रवेश गरेपछि म नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको अध्यक्षको भूमिकामा पनि काम गरिसकेको छु । यी सबै पृष्ठभूमिका कारण म अहिले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जोडिएको हुँ । यसमा मेरो आफ्नो रुचिसँगै मेरा अग्रज नेतृत्वहरूको हौसला पनि सँगै जोडिएको स्मरण गराउन चाहन्छु ।

 तपाईं शिक्षक पेशाबाट राजिनामा दिएर सक्रिय राजनीतिमा आइरहँदा अन्य शिक्षकहरू पेशामै रहँदा पनि राजनीतिक दलको झोला बोक्दै हिंड्दा शिक्षा क्षेत्र नै तहसनहस भयो भन्ने छ नि ?

 शिक्षक राजनीतिमा सक्रिय भएका कारण मात्रै सामुदायिक विद्यालयको शिक्षा उस्कन नसकेको हो जस्तो मलाई लाग्दैन । शिक्षकहरू केही अल्छी भएका हुन सक्छन् । राजनीतिक नेतृत्वको पनि त्यसमा केही हिस्सा भूमिका होला तर सबै कारण राजनीति होइन । नेपालको सार्वजनिक शिक्षाका सन्दर्भमा सरकारी अधिकारीहरू नै गम्भीर हुनसकेको अवस्था छैन । वहुदलीय प्रजातन्त्रपश्चात शिक्षा क्षेत्रमा निजी क्षेत्रको प्रवेश अत्यधिक भयो ।

त्यसैअनुरूप सामुदायिक विद्यालयलाई पनि प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा शिक्षा मन्त्रालय कहिल्यै जिम्मेवार बन्न सकेन । वि.सं २०५७ सालदेखि नै नेपालमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम हुन सकेकै छैन । हामीले पनि पटक–पटक यो विषयमा शिक्षा मन्त्रालयमा ध्यानाकर्षण नगराएको होइन । मलाई लाग्छ अहिले पनि मुलुकमा कम्तिमा पनि आवश्यकताअनुसार करिब ५७ हजार शिक्षक कम छन्, सामुदायिक विद्यालयमा । सरकारले विद्यालय सञ्चालनको अनुमति दिइरहँदा त्यहाँ शिक्षक पनि नभई हुँदैन भनेर दरबन्दी दिन सक्नुपथ्र्यो तर त्यसो हुन सकिरहेको छैन ।

अझ भन्नुपर्दा मुलुकमा बहुदलीय प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रसँगै संघीयता समेत कार्यान्वयनको चरणमा छ तर अझैसम्म पनि संघीय शिक्षा ऐन बन्नसकेको छैन । जब संघीय शिक्षा ऐन नै बन्नसकेको छैन भने शिक्षा मन्त्रालयले कसरी यहाँको सामुदायिक विद्यालयको शैक्षिक सुधारमा भरथेग पहल गरिरहेको छ भनेर विश्वास गर्ने ? मलाई लाग्छ, शिक्षक राजनीतिमा सक्रिय भएका कारण शिक्षा क्षेत्र तहसनहस भएको होइन, शिक्षा क्षेत्रमा माफियातन्त्र हाबी भएको हो ।

यसलाई हटाउनैका लागि मजस्ता धेरै निवृत्त शिक्षकहरू सक्रिय राजनीतिमा आउनु पर्दछ । मुलुकको समग्र बागडोर राजनीतिमै रहेको अवस्थामा अब नीति निर्माण तहसम्मै पहुँच स्थापित गर्न पनि मजस्ता शिक्षकहरूको सक्रिय राजनीतिमा आगमन हुन आवश्यक छ भन्ने मैले अनुभूति गरेको छु । राजनीतिले पार्टी बनाउने हो, पार्टीले राष्ट्र बनाउने हो भन्नेमा म विश्वस्त पनि छु ।

 प्रसङ्ग बदलौँ, अहिले पनि मुलुक महाधिवेशनकै दौरानमा छ, करिब ६ महिना लामो यो महाधिवेशन प्रक्रियालाई कसरी लिनुभएको छ ?

 हो, हामी करिब आधा वर्षदेखि नै महाधिवेशनको माहोलमा छौँ । आज तपाईंले प्रश्न सोधिरहँदा हामी पार्टीको केन्द्रीय पदाधिकारी चयनकै प्रक्रियामा छौँ । मलाई लाग्छ, महांधिवेशनको यो प्रक्रियाले समावेशीतालाई केही सम्बोधन गर्नसकेको होला तर यति लामो अधिवेशनको समय हुँदा यहाँ महाधिवेशनकै नाममा करोडौँ रूपैयाँ खर्च भइसकेको छ ।

नेपाली कांग्रेसको आगामी केन्द्रीय समितिले यो प्रक्रियालाई गहन भएर आत्मसमीक्षा गर्न आवश्यक छ । यसका लागि हामीले हरेक जिल्ला तहबाट पनि निरन्तर दबाब दिनेछौँ । पार्टीमा अन्तरसांगठनिक प्रतिस्पर्धा हुनु पर्दछ तर यति धेरैबीच प्रतिस्पर्धा आवश्यक छैन । यसका लागि पार्टीको विधान संशोधन अपरिहार्य छ । आउँदो महाधिवेशन यस्तै अभ्यासले सम्भव छैन भन्ने यो प्रक्रियाले देखाइ पनि सकेको छ ।

 महाधिवेशनमा देखिएको गुटबन्दीले आसन्न आम निर्वाचनमा पनि केही नकारात्मक प्रभाव पार्नसक्ने सर्वत्र चर्चा छ नि ?

 महाधिवेशनको रिफ्ल्याक्सन आम निर्वाचनमा पर्छ भन्ने त विपक्षीहरूको हल्ला मात्रै हो । महाधिवेशनमा गुुट हुनु अत्यन्त स्वाभाविक हो । गुट भनेको त अवसर लिनका लागि एउटा आधार पनि हो तर निर्वाचनमा हारेकाहरूले आम निर्वाचनमा अन्य पार्टीलाई मत दिन्छन् भन्ने ठान्नु उपयुक्त होइन ।

लोकतन्त्रमा अन्तरपार्टी प्रतिस्पर्धा अपरिहार्य छ । हारलाई स्वीकार्न नसक्ने नेतृत्व लिनका लागि तम्सिनु नै हुँदैन । जब पार्टीभित्रै नेतृत्व लिन असफल भइन्छ अनि अर्को पार्टीलाई मत हाल्न मन लाग्छ भने त्यस्तो मान्छे कांग्रेस हुँदै होइन र हुनै सक्दैन । महाधिवेशन पार्टीलाई गतिशील बनाउने एउटा अवसर मात्रै हो । महाधिवेशन सम्पन्न भइसकेपछि त जितेका हारेका सबै बस्ने त्यही संरचनामा होइन र ? यो अवस्थामा महाधिवेशनको रिफ्ल्याक्शन आम निर्वाचनमा देखिन्छ भन्नु निरर्थक हो ।

किनकि महाधिवेशन त एउटा पुस्ता हस्तान्तरणको अवसर पनि हो । को सक्रिय राजनीतिमा आउने र कसले विश्राम लिने भन्ने अदालत पनि महाधिवेशन नै हो । हाम्रो पार्टीभित्रकै कुरा गर्नुहुन्छ भने पनि अहिले समग्र महाधिवेशन प्रतिनिधिहरूमा कम्तिमा पनि ५१ प्रतिशत नयाँ अनुहारहरू अर्थात् युवा पुस्ता आएका छन् । भर्खरै राप्रपाको महाधिवेशन पनि हामीले हे¥यौँ, त्यहाँ पनि अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मै युवा पुस्ताको उत्साहजनक सहभागिता देखिएको छ ।

 अन्त्यमा केही भन्नु छ कि ?

 हामी पार्टीलाई रूपान्तरण गरी नयाँ कार्यदिशामा लैजाने महान अभियानमा छौँ । यो अभियानमा मलगायत मेरो कार्यसमितिलाई अमूल्य मत दिएर नेतृत्वमा पठाउने सम्पूर्ण मतदाता, पार्टीका जनवर्गीय संगठनहरू, शुभेच्छुक संस्थाहरू, अग्रज नेतृत्वहरूलगायत सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । मुलुकलाई रूपान्तरणको प्रक्रियामा हामी सधैँ कर्मशील रहने प्रतिबद्धता व्यक्त गर्दै यो महान अभियानमा यहाँहरू सबैको साथ र सहयोगको पनि अपेक्षा गर्दछु ।