नारायणप्रसाद श्रेष्ठ
नेपाल भूपरिवेष्ठित राष्ट्र हो । हिमाल, पहाड र तराई भएर रहेको यहाँको भूवनोट र प्रकृतिलाई हेर्दा नेपालको भविष्य युवामा निर्भर रहेको अवस्था छ । जलस्रोत र खानीलाई सार्थकता दिन र विकासको गतिलाई अग्रगामी हिसाबले छलाङ लगाउन एवं भौगोलिक बनोट अनुकूल विकासका पूर्वाधार तयार गरी मूर्त रुप दिन युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
दक्ष युवा जनशक्तिबाट नै नेपालमा रहेको खनिज र जलस्रोतले सार्थकता पाउने कुरामा दुईमत पाइँदैन । भइरहेको मुख्य पेसा कृषि उत्पादनदेखि पर्यटनलगायत विकासका अन्य सम्पूर्ण पूर्वाधार निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यति मात्र होइन, राज्य सञ्चालनका लागि नवीनतम विचार प्रवाह गर्ने सवाल तथा नीति निर्माणमा समेत युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवा शक्ति राष्ट्रको खम्बा हो । समृद्धिको आधार हो ।
युवा शक्तिद्वारा नै समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउन सकिन्छ । जुन राष्ट्रमा युवा जनशक्तिलाई परिचालन गर्ने सक्षम नेतृत्व र नीति रहेको हुन्छ, त्यो राष्ट्र अन्य राष्ट्रको तुलनामा बढी सक्षम र विकसित रहने कुरामा दुईविधा रहँदैन । युवा जनशक्तिको जोस, जाँगर र हिम्मतबाट नै विश्वमा धेरै ठूलाठूला चमत्कारहरु भइरहेका छन् । विकसित राष्ट्रले युवाशक्तिलाई परिचालन गरेर जसरी समृद्धिको दिशामा आफूलाई अब्बल बनाएका छन्, यदि त्यस कुरालाई गहिरिएर बुझ्ने हो भने युवा नै राष्ट्रको आधार रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।
तसर्थ, युवा जनशक्तिलाई राज्य नीतिले होस् वा व्यवहारले होस् उनीहरुको श्रम र सीपलाई मातृभूमिप्रतिको जिम्मेवारीमा लगाउन सक्नुपर्छ । बूढो गोरुलाई जति जोते पनि भित्तामा रहेको राँटो जोतिँदैन भनेझैँ पुरानो सोच र चिन्तनमा रहेका राजनीतिक चिन्तकबाट राष्ट्रिय विकासको आधार बलियो नरहने कुरामा कसैलाई भनिरहनु पर्दैन । जबसम्म विचार र चिन्तनमा सकारात्मक भाव जागृत हुँदैन, वर्तमानमा देखिएको राजनीतिक सोच र विचार परिवर्तन हुँदैन तबसम्म राष्ट्रिय विकासको अवधारणामा पुरानै प्रवृत्ति हाबी भइरहन्छ । तसर्थ, समयले चुनौती दिएको छ, यो कुरालाई सबैले मनन गर्नु जरुरी छ ।
समयको परिवर्तनसँगै हरेक मानिसको मन, विचार र भावना विविध किसिमले प्रस्तुती भइरहेको छ । हिजोको परिवेश र आजको परिवेशमा परिवर्तन भएको छ । सोच्ने शक्ति, आचरण र व्यवहारमा समेत व्यापक परिवर्तन आएको छ । हिजोको जीवन शैली र वर्तमानको जीवन शैलीमा भिन्नता छ । मानिसलाई आधुनिक युग अनुकूल जीवनशैली बनाउन निकै भागदौड गर्नुपर्ने अवस्था छ । भौतिक विलाषीले प्रत्येकको मानसिकता बदलिएको छ । सामाजिक न्याय प्रणाली नै फेरबदल भइरहेको अवस्था छ ।
कतिपय अवस्थामा न्यायप्रणालीमा संकुचित विचारहरु पनि प्रवाहित भइ अनुशासित र मर्यादित जीवनशैली नै अलग मोडमा मोडिएको छ । हिजो आत्मसहयोग थियो, नीति नियम र अनुशासनलाई मर्यादित जीवनशैलीको आधार तयार गरी अगाडि बढिन्थ्यो । नैतिकता नै जीवनको उन्नति र प्रगतिको आधार मानिन्थ्यो तर विडम्बना मान्नुपर्छ समयको परिवर्तनसँगै भौतिक विकासले युवाजनशक्तिको विचार र सोचमा परिवर्तन भएर देखापरेको छ । भौतिक विलाषीले मानवीय चिन्तन र जीवनशैलीमा स्वार्थपरक चिन्तन बढ्दै गएको छ । जसको कारण युवाजनशक्ति विलाषी जीवनशैलीतर्फ मोडिँदै गएको छ ।
प्रकृतिले हामीलाई जे–जति दिएको छ त्यो बाहेक हामी आफूले केही बनाउन सकेका छैनौँ । युवाजनशक्ति दिन प्रतिदिन श्रम, सीप बेच्न र आफूलाई सन्तुष्ट गराउन विदेश पलायन हुने परिस्थिति सिर्जना हुँदै गइहरको छ । समृद्धिको आधार युवा शक्ति भनेर नेताहरुले मीठा–मीठा शब्दजाल र आश्वासन दिएका भए पनि, विकासको लागि राजनीति भनेर नारा गुञ्जाए पनि ती सबै अफाप सिद्ध भएका छन् । युवा जनशक्तिको श्रम र सीपबाट नै आधुनिक युग सुहाउँदो नेपालको विकास नीति रहने कुरा किताबी पानामा रुमलिएको छ ।
नीति र नैतिकताको कारण युवा जनशक्ति विदेश जान वाध्य भएका छन् । राष्ट्रिय विकासको बलियो आधारमा रहेको युवा जनशक्ति विदेश जान रोक्नुपर्छ भन्ने भाषण निकै सुनियो । उचित स्थान र उचित श्रमको परिचालन गरिने भनी निकै आश्वासनहरु बाँडिए तर युवा जनशक्तिलाई परिचालन गर्ने आधारस्तम्भहरु नै भत्काउँदै जाने कर्महरु नेतृत्व तहबाट हुन गयो । व्यक्तिवादी चिन्तन र राजनीतिक स्वार्थका कारण युवाहरुको दक्षता र सीपलाई राष्ट्रिय विकासमा गाँस्न नेतृत्व पंक्ति असक्षम रहन पुगे ।
फलस्वरुप राष्ट्रले अपेक्षा गरेअनुसार विकासका पूर्वाधार तयार हुन सकेनन् । राजनीतिक स्वार्थ र म बाहेक अरु कोही योग्य हुन सक्दैन भन्ने डम्भका कारण युवाशक्तिले राज्य सञ्चालनमा कुनै भूमिका निर्वाह गर्ने अवसर पाएन । राज्य सत्ता र पार्टी नेतृत्वसम्म युवा नेतृत्वको भूमिका नगन्य हुन गयो । कानुनी राज्यको अवधारणा अनुकूल राज्य सञ्चालनको जिम्मेवारीबाट युवा टाढा रहने र स्वदेशमै रोजगारीको अभावका कारण मानव जीवनशैली कष्टकर बन्ने वातावरण बन्न पुग्यो । जसको कारण युवाशक्ति विदेश जान वाध्य भयो । स्वदेशमा उद्योग, कलकारखानाको अभाव रहन गइ बेरोजगारी हुनुपर्ने परिस्थिति सिर्जना भइ युवाशक्तिहरु मातृभूमि छोड्न वाध्य हुनुप¥यो ।
जसको ज्वलन्त उदाहरण दिन प्रतिदिन राहदानीका लागि लामबद्ध युवाशक्ति तथा दिनहुँ विदेश जाने युवा लहरलाई हेरे पुग्छ । अहिले हजारौँ युवा दिनहुँ विदेशी भूमिमा जान तछाडमछाड गरिरहेका छन् । सरकारको नेतृत्व गर्ने नेताहरुले युवाशक्तिहरु विदेश किन पलायन भइरहेका छन् ? त्यसतर्फ ध्यान नदिई विदेशमा बेचिएको रगत, पसिनाले पठाइएको रेमिट्यान्समा नेताहरु रमाउन थालेको अवस्था देखिन्छ । दातृ राष्ट्रले सहयोग स्वरुप निर्माण गरिदिएको औद्योगिक क्षेत्र समेत विक्री गरी युवा शक्तिलाई बेरोजगार गराउने काम राज्य सञ्चालक र सक्षम नेतृत्व आफूले भूमिका निर्वाह गरेको अवस्था छ ।
रोजगारीको अवसरबाट कोही वञ्चित रहने छैनन् भन्ने राजनीतिक पार्टीको प्रतिबद्धता केवल हात्तीले देखाउने दाँतझैँ भएका छन् । सरकार रेमिट्यान्समा रमाउँदै युवा जनशक्ति विदेश पलायन भएको टुलु–टुलु हेरिरहेको छ । नेताहरु युवा शक्तिलाई विदेश पठाएर आफ्नो राजनीतिक अवस्थालाई सुदृढ गर्ने दाउँमा लागेको देखिँदैछ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर राज्य नीतिले दक्ष जनशक्ति उत्पादन गर्ने नीति नै लागू गर्न सकेको छैन । न त भइरहेको उद्योगको संरक्षणमा ध्यान केन्द्रित गरेको छ ।
यदि यसरी नै औद्योगिक कलकारखाना बेच्दै जाने, भइरहेको उद्योगलाई कौडीको भाउमा बेच्ने परिपाटीलाई प्रोत्साहन दिँदै जाने हो भने नेपालको समृद्धि कसले गरिदिने हो ? गम्भीर चुनौती वर्तमानमा खड्किरहेको छ । अर्थोपार्जनको मुख्य आधार औद्योगिक क्षेत्र कमजोर बन्दै जानु भनेको राष्ट्रिय विकासका पूर्वाधारहरु खुम्चिँदै जानु हो । कतै हामीले हाम्रो अस्तित्वमाथि सौदा गरिरहेका त छैनौँ ? आफ्नो श्रम शक्ति र चिन्तकलाई विदेशी श्रम बजारमा बेच्ने र आफूलाई आवश्यक पर्ने श्रम विदेशबाट ल्याउने परिपाटी बढ्दै जाने हो भने बचेखुचेको आर्थिक सम्पन्नता पनि कमजोर रहने कुरामा दुईमत पाइँदैन ।
तसर्थ, अहंकार र स्वार्थपरक चिन्तन हटाइ आधुनिक युग सुहाउँदै विचार परिमार्जित गरी नैतिक चरित्रवान बन्नु अहिलेको आवश्यकता मानिन्छ । युवा जनशक्तिलाई कसरी स्वदेशमा परिचालन गर्ने ? त्यो नीतिमा विवेकशीलता र जिम्मेवारीबोध देखिनुपरेको छ । विषयलाई साध्य बनाउने विवेक नै नैतिक चरित्र निर्माण गर्ने बलियो आधार हो । यस कुरालाई प्रत्येक वर्ग, क्षेत्र, पार्टी र सरकारमा नेतृत्व गर्ने नेतृत्वले बुझ्न जरुरी छ ।
त्याग र समर्पणमा आधारित विकासको लागि राजनीति गरी परजीवी होइन आत्मचिन्तक बनेर नेपालको भविष्य नेपाली आफैले बनाउनुपर्छ भन्ने दृढसंकल्प राख्नुपर्छ । युवा, राष्ट्र र राष्ट्रियताको बलियो आधार हो । उनीहरुको श्रम र सीपलाई उचित व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी पनि हो । त्यसैले चुनौती स्वरुप देखापरेको युवाशक्तिको पलायनतालाई मध्यनजर गरी राष्ट्रिय औद्योगिक नीतिलाई कागजमा होइन, व्यवहारमा परिणत गर्नु आजको आवश्यकता हो । समयले यही खोजिरहेको छ ।