खेमराज रिजाल
बेलझुण्डी, २७ मंसिर । बेलझुण्डीमा निर्माणाधीन सेन्थेटिक ट्रयाकसहितको आधुनिक रंगशालामा पहिलोपटक संघीय खेलकुद मन्त्रीले स्थलगत अवलोकन गरे । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही प्रतियोगिता यही सम्पन्न भए पनि खेलकुदमन्त्री आउन भ्याएका थिएनन् ।
करीब दुई बर्षअघि निर्माण सम्पन्न हुनुपर्ने बेलझुण्डी रंगशालाको निर्माण तोकिएको मापदण्डमा पूरा गरेर अझै पनि हस्तान्तरण हुन नसके पनि रंगशालाको सेन्थेटिक ट्रयाकमा संघीय खेलकुदमन्त्री महेश्वरजंग गहतराज पहिलोपटक अवलोकन गर्न आए । अब रंगशालाको चाँडै हस्तान्तरण हुने पनि उनले विश्वास व्यक्त गरे । मुलुकमा खेलकुद गतिविधि ठप्पप्रायः भइरहँदा अनुगमनमा आएका मन्त्री गहतराजले दाङलाई खेलकुदका धनी भन्दा पनि जग्गाको धनी भनेर फर्के ।
निर्माणाधीन रंगशाला अझै पूरा भैनसकेको अवस्थामा केही नबोलेका मन्त्री गहतराजले बेलझुण्डी रंगशालामा खेलकुद गुरुहरु, केही राजनीतिक दलका नेता कार्यकर्ता र केही पत्रकारहरुमाझ भने– ‘यो रंगशालाको पूरा निर्माण भएको नठान्नुहोला, अझै धेरै भौतिक निर्माणका काम बाँकी छन् । यति धेरै जमिन भएको यो रंगशालामा चारैतिर स्तरीय प्याराफिट बनाएर ५० हजार दर्शकले खेल अवलोकन गर्ने गरी भौतिक निर्माण गर्न सरकारले थप योजना बनाउने पनि उनको अभिव्यक्ति थियो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामाको उद्घाटन नै यही रंगशालामा हुने भनिए पनि राष्ट्रिय खेलकुद परिषद्को षड्यन्त्रका कारण मुस्किलले दुईवटा राष्ट्रिय प्रतियोगिता मात्र यहाँ हुन पाएका थिए । त्यसपछि रंगशालाको भौतिक निर्माणको काम नै सकिन निकै ढिलासुस्ती भयो । रंगशाला निर्माणको काम जसोतसो सकिए पनि यहाँ कुनै पनि खालका खेल गतिविधिहरु सञ्चालन हुन सकेका छैनन् ।
संघीय मातहतमा रहेको यो रंगशालामा खेलकुद गतिविधिलाई बढाउनका लागि खेलकुद मन्त्रालयले अहिलेसम्म कुनै पनि कार्यक्रम ल्याउन नसकेकोमा खेलप्रेमीहरुको गुनासो रहेको छ । दर्जनभन्दा बढी जागिरे प्रशिक्षकहरु बर्षौदेखि प्रशिक्षणविहीन अवस्थामा रहेका छन् । ‘हामीले त खेलकुदसम्बन्धी नीति निर्माण गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक भौतिक निर्माण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने मात्र हो तर स्थानीय तहमा खेलकुद गतिविधि बढाउने र यस्ता भौतिक संरचनाहरुको सदुपयोग गर्ने त स्थानीय सरकार र प्रदेश सरकारको हो’, खेलकुदमन्त्री गहतराजले पत्रकारहरुको जिज्ञासामा भने ।
हरेक क्षेत्रमा खेलकुदको आकर्षण बढाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने उनको अभिव्यक्ति थियो । मुलुक अहिले नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको बताउँदै पोखरामा यो प्रतियोगिताको आयोजना गर्न खेलकुद मन्त्रालय लागिपरेको पनि उनको अभिव्यक्ति थियो । यसका लागि खेलकुद परिषद्को सदस्य सचिवको नियुक्तिको काम पनि भइसकेको मन्त्री गहतराजले बताए ।
‘अब चाँडै क्याबिनेट बस्दैछ, हामी चाँडै नै यी खेलकुदका पूर्वाधारहरुलाई खुला गरी खेलकुद गतिविधि सञ्चालनका लागि निर्णय गर्नेछौं’, मन्त्री गहतराजले भने– ‘स्टेडियम खुला गर्ने सरकारले निर्णय गरेसँगै हरेक स्टेडियमहरुमा खेलकुद गतिविधिहरु नियमितरुपमा सञ्चालनमा आउनेछन् । प्रशिक्षणहरु पनि नियमितरुपमा सञ्चालन हुनेछन् । ‘यो रंगशाला पनि गजडीहरुको अखडा होइन, खेलकुदप्रेमीहरुको गन्तव्य बन्ने छ, यसका लागि सरकारले खेलकुद योजना निर्माण गर्दैछ’, मन्त्रीले भने ।
के कार्यक्रम थियो ?
खेलकुदमन्त्री खासमा रंगशालामा कुनै विशेष कार्यक्रम ल्याएर आएका थिएनन् । नेकपा माओवादी केन्द्रको पार्टीको कार्यक्रमा आएका बेला मन्त्री गहतराजले विभागीय संरचनाको स्थलगत अनुगमन गर्न यहाँ आएको जिल्ला खेलकुद परिषद् दाङले जनाएको छ । मन्त्री गहतराजले आइतवार तुलसीपुर, बेलझुण्डीलगायतका स्थानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा निर्माण भएका भौतिक संरचनाहरुको स्थलगत अनुगमन गरेका हुन् ।
मन्त्री गहतराज बेलझुण्डीमा उपस्थित भइरहँदा जिल्ला खेलकुद परिषद्का कर्मचारी तथा प्रशिक्षकहरुले स्वागत गर्दै बेलझुण्डी रंगशालाको भौतिक निर्माणको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा खेलकुद मन्त्री गहतराजले खेलकुद विकास समितिको स्वामित्वमा दाङमा प्रशस्तै जग्गा भएकाले यसको संरक्षणमा ध्यानाकर्षणसमेत गराएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसमेतको उपस्थिति थियो ।
‘हामीलाई आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा अझै धेरै भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने छ, जहाँ जमिन छ, त्यही निर्माण गर्ने हो, त्यसैले पनि दाङमा अझै पनि धेरै खेलकुद संरचनाहरु बन्ने सम्भावना छ’, कर्मचारीहरुमाझ मन्त्रीले भने । सरकारको नीति एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको खेल संरचना भएकाले पनि लुम्बिनी प्रदेशको राजधानी रहेको दाङमा थप भौतिक निर्माणका लागि आफू सकारात्मक रहेको पनि उनको अभिव्यक्ति थियो । सो अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले निर्माणाधीन रंगशाला र कार्यालयका गतिविधिका विषयमा जानकारी गराएकी थिइन् ।
मन्त्रीको गाडीको इन्धनको बिल खेलकुद परिषद्मै
पार्टीको काममा आएको अवसर पारेर विभिन्न खेलकुद संरचनाहरुको अनुगमनमा आएका खेलकुद मन्त्रीको गाडीको इन्धनको बिलसमेत जिल्ला खेलकुद परिषद्लाई थमाइएको कार्यालय स्रोतले बताएको छ । अनुगमनमा आएका मन्त्रीको गाडीमा करीब १६ हजारको डिजल हालेको बिल र होटल खर्चको समेत बिल थमाइएको छ ।
कार्यालय स्रोतले आफ्नो आर्थिक स्रोत नै नभएको समयमा यी खर्चका बिलहरु आएपछि कसरी तिर्ने भन्ने विषयमा असहज अवस्था आएको पनि बताएको छ । ‘मन्त्रीको होटल बिल तिर्न र गाडीमा डिजल हालिदिन हामीसँग स्रोत नै छैन, कसरी व्यवस्थापन गर्ने समस्या भएको छ’, कार्यालय स्रोतले भन्यो ।
यस्तै भवितव्य खर्चको व्यवस्थापन गर्न आवश्यक स्रोत नहुने र गैरकानुनी तवरबाट व्यवस्थापन गर्नुपर्ने भएकाले खेलकुद परिषद् अख्तियारको समेत फन्दामा पर्दै आएको छ । बेलझुण्डी रंगशाला निर्माणका क्रममा पर्खाल निर्माणमा भएको खर्चको अख्तियारले छानबिन गरिरहेको छ । सञ्चारकर्मीले अख्तियारको प्रसंग उठाउँदा मन्त्री गहतराजले यसलाई अख्तियारको नियमित छानबिन प्रक्रिया भएको अभिव्यक्ति दिएका थिए ।