जिल्ला फुटबल नकआउट प्रतियोगितामा बडहरा विजयी

दाङ,२६ मंसिर । एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले आयोजना सुरु भएको जिल्ला फुटबल नकआउट प्रतियोगितामा घोराही–१३ को बडहरा युवा क्लवले विजयी शुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा आईतबार भएको पहिलो खेलमा मेघा स्पोट्र्स क्लवलाई ४—२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै क्लवले दोश्रो हाफमा गोल गरेका थिए । बडहरालाई जीत दिलाउन रविकिरण बुढाले २ गोल गर्दा उपेन्द्र पुन र सन्दीप थारुले १—१ गोल गरे ।

मेघा स्पाट्र्स क्लवका तर्फबाट मनिष चौधरी र अभियान थापाले १–१ गोल गरेपनि हार टार्न सकेनन् । एन्फाको कार्यक्रम अनुसार जिल्ला फुटबल नकआउट प्रतियोगिता पहिलो पटक जिल्लामा सुरु भएको दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले बताए । महासचिव पुनका अनुसार पहिलो पटक भएको प्रतियोगितामा ७ वटा क्लबले भाग लिएका छन् । क्लवहरुलाई दुई पोलमा विभाजन गरेर खेलहरु सुरु गरिएको छ ।

प्रतियोगितामा टरीगाउँ युवा क्लब, ज्ञानज्योति इनोभेटिभ एकेडेमी, सक्रिय युवा क्लब बबई, हापुरको अटल युवा क्लब, कपासीको मेघा स्पोर्ट्स युवा क्लब र घोराही १३ को बडहरा युवा क्लब सहभागी रहेका छन् । सोमबारको खेलमा घोराही एफसी र अटल युवा क्लवबीच प्रतिष्पर्धा हुने भएको छ ।

उक्त खेल दिउँसो १२ बजेबाट शुरु हुने प्रतियोगिता संयोजक भीम चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने २ वटा क्लबले जिल्ला फुटबल लिगमा स्थान बनाउने छन् । दाङमा जिल्ला फुटबल संघमा हाल १० वटा क्लब आवद्ध छन् ।

यसैविच जिल्ला फुटबल नकआउट प्रतियोगिताको घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमु्ख भरत अर्यालले उदघाटन गरेका हुन । जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धि पुनको अध्यक्षतामा प्रतियोगिताको उदघाटन गर्दै कार्यवाहक अध्यक्ष अर्यालले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने बताए ।

स्थानीय सरकारकातर्फबाट प्रतिभावान खेलाडी उत्पादन गर्न थुप्रै खेलकुदका कार्यक्रम रहेको बताउँदै आगामी दिनमा आफु र पालिकाको तर्फबाट सहयोग गर्न समेत तयार रहेको बताए थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश फुटबल संघका कार्यसमिति सदस्य शिवकुमार श्रेष्ठ, नवलपुर फुटबल एकेडेमीका दीपक पुन, राप्ती क्लकका बसन्त पुरी, सन्देश श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव नरेन्द्र पुनले गरेका थिए ।