दाङ चैत १२ गते । प्रदेश नम्बर ५ सरकारले दाङको बेलझुण्डीमा सञ्चालन गरेको कोरोना बिशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।
एक सय बेड क्षेमताको बनाउने गरि आज ३० बेडबाट उपचार सुरु गरिएको प्रदेश नम्बर ५ का आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिए । कोरोनाको आशंका गरिएका तथा संक्रमितहरुलाई यहाँ आइसोलेसनमा राखेर स्वाब परिक्षणका लागि काठमाण्डौ पठाउने गरी अस्पताल स्थापना गरिएको हो ।

आजदेखी नै कोरोनाको आशंका गरिएकाहरुलाई राख्न सुरु गरिएको अस्पतालले जनाएको छ । आयुर्वेद शिक्षण अस्पताललाई कोरोना बिशेष अस्पतालका रुपमा स्थापना गरिएको हो । यस अस्पतालमा प्रदेश सरकारले जनशक्तिको व्यवस्थापन गरेको जनाएको छ ।
आयुर्वेद शिक्षण अस्पतालमा रहेका बेडहरु यथावत राखी अन्य बेड थपेर प्रदेश स्तरको कोरोना अस्पताल निर्माण गरिएको हो । प्रदेश पाँच सरकारले यसअघी रुपन्देही र बाँकेमा ३ वटा कोरोना बिशेष अस्पताल सञ्चालन गरिसकेको छ ।
बेलझुण्डीमा स्थापना गरिएको अस्पतालमा काम गर्ने चिकित्सक सहितको टिमलाई सत प्रतिशत भत्ताको व्यवस्था गरिएको प्रदेश नम्बर ५ का आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले बताए । मन्त्री केसीले अहिलेसम्म प्रदेश ५ मा ३७ जनामा कोरोनाको परिक्षण गरिएकोमा सबै नेगेटिभ भेटिएको जानकारी पनि दिए । यो संगै प्रदेश सरकारले ५ नम्बर प्रदेशमा चारवटा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।