दाङ, २५ मंसिर । नेकपा एमाले दाङले दंगाली कम्युनिस्ट आन्दोलन तथा संस्थापक सदस्य मणिकलाल गौतमको प्रथम स्मृति दिवस मनाएको छ । स्मृति दिवसमा बोल्ने वक्ताहरुले गौतमले पार्टी र संगठनमा पु¥याएको योगदानको चर्चा गर्दै उनका अधुरा सपना पूरा गर्न सिंगो पार्टी र संगठनले तदारुकता दिनुपर्नेमा जोड दिएका थिए ।
पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले स्व.गौतमले हिजोका दिनमा जिल्लामा पार्टी र संगठनमा खेलेको भूमिकाकै कारण दाङमा कम्युनिस्ट आन्दोलन सम्भव भएको बताएका थिए ।
सबै वर्ग र समुदायका बीचमा सम्बन्ध स्थापित गर्दै दूरदराजका नागरिकहरुको आवाज बनेर असमानता र विभेदका विरुद्ध सशक्त भूमिका खेलेकै कारण स्व. गौतम सबैका नेता बन्न सफल भएको भन्दै स्मरण गरिएको थियो । स्व.गौतमको ९३ वर्षको उमेरमा २०७७ मंसिर २४ गते निधन भएको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य गिरिराज केसीले स्व गौतम सबैका अभिभावक रहेको बताए । उनको अभिभावकत्कै कारण दाङमा अहिले हजारौँ कम्युनिस्ट जन्मन सफल भएको बताए । कार्यक्रममा स्व. गौतमका परिवारका तर्फबाट छोरा विकिरण गौतमले विचार राखेका थिए । सो अवसरमा जिल्ला अध्यक्ष खड्काले स्व. गौतमले समाजवादका धेरै उदाहरणीय काम गरेको भन्दै उनले अघि सारेको आन्दोलनलाई निरन्तर लैजान पार्टी गम्भीर बन्नुपर्ने बताए ।
जिल्ला उपाध्यक्ष हुकुम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए ।