भूपेन्द्र सुवेदी
नेपालको न्यायालयको अबस्था, नेपालको सुरक्षा क्षेत्रको अबस्था, नेपालको स्वास्थ्य क्षेत्रको अबस्था, नेपालको शिक्षा क्षेत्रको अबस्था र नेपालको राजनीतिक दलहरुको छक्कापञ्जाको खेती राजनीतिका ब्यापारको प्रबन्धको सेरोफेरोमा चक्कर लगाई राखेको अबस्था र आ–आफ्नै पार्टी पार्टीभित्रैबाट फुट र गुटको भजन मण्डलीको कारण अध्यनै नभएको बिषयको जिम्मेवारी बोकाउँदा नेपालमा भइरहेको ब्युरोक्रेसीको अबस्था र ब्यबहारको कारण र राजनीतिको सच्चा सिपाही हौँ भन्नेहरुले अबको समयमा राजनीतिबाटै डेरा सार्दैछन् र नयाँ डेराको सुरुवात यो समयमा सबै पार्टीभित्र बिखण्डनको भुसको आगो सल्किएको छ ।
तर बाहिरी देखावटीमा म तेरै त हुँ भन्ने तर भित्रभित्र दोश्रो पक्षको समर्थन गर्दै हिँडेको ब्यबहारको कारण आज बिश्वसामु नेपालको न्याय क्षेत्र र सुरक्षा क्षेत्रलगायतका सार्बजनिक महत्वको बारेमा नेपाल अन्तर्राष्ट्रिय सामु निरीह छ । यसैको अवसर छोपी भारतीय सरकारले नेपालको सिमा क्षेत्रका जंगे पिलर रातारात गायब गर्दै नेपालको सिमानामा पिल्लर बनेर बसेका स्थानीय जनतालाई घरमै आएर धम्काउने उनीहरुले पालेका खसी चौपाय जबर्जस्ती आफ्नै मनोमानीले खरिद गरेको बहानामा गन्ने गरेको कालापानी र लिपुलेख, लिम्पीयाधुराको क्षेत्रको नजिक बसोबास गर्नेहरुको समस्या आजदेखि होइन, बिगतदेखि नै आफ्नो हैकम जमाउँदै आएको थियो ।
आजको समयमा झनै नेपाल सरकारलाई कत्ति पनि नपत्यार नेपालको भूमी अरु पूर्ब सर्दै कब्जा गर्ने नियतले आफ्नो नक्साभित्र पारिसकेको अबस्थामा अब पनि नेपाल सरकार हिजैको आनीबानी, हिजैको भारतीयसँगको लम्पसारबादी सोच गरिरहने हो भने अब भारतले सिधै नेपाली भूमिमा आफ्नो झण्डा गाड्नेछ । नेपाली राजनीतिककर्मी नेताको चरीत्रको पहिचान उसले पाइसकेको कारण दिनप्रतिदिन नेपालप्रति भारतले गर्दै आएको हेपाहा प्रबृत्तिको बिकास हुँदै आएको छ, किनभने नेपालका राजनेताहरु खाली आफ्नो कुर्सीको लागि मात्र आ–आफ्नो पार्टीपार्टी बीचको द्वन्द्व श्रृजना गरी आ–आफैबीचको द्वन्द्व फुटको कारण पार्टीहरु पालैपालो आफ्नै बहुमतको सरकार बिघटन गरी बिपक्ष पार्टीको समर्थन खोज्दै सरकारमा पुगेको हाम्रो देशको ईतिहास भारतले बुझिसकेको कारण नेपाली एक हुन सक्दैनन्’ यही मौकामा आफ्नो स्वार्थ पूरा गर्नुपर्छ भन्नेमा उसको उद्देश्य रहेको छ ।
भनिएको छ, द्वन्द्व निरुपण, एबं शान्ति प्रक्रियामा सफलता हासिल गरेको नेपालले संक्रमणकालीन न्यायलाई निचोडमा पुराउन अझ थप सुरुवात गर्नुपर्ने आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय उच्च तहका अधिकारीले बताउँदै आएको अबस्था छ । न्युओर्कमा ७४औ महासभा बैठकमा राष्ट्रसंघ महासचिबका प्रबक्ताले शान्ति प्रक्रियालाई दिगो एबं परिणाममुखी बनाउन संक्रमणकालीन न्याय टुंगोमा पुग्नैपर्ने धारणा राखेको हाम्रा नेपालका राज्य सञ्चालक हरुले नबुझेका पनि होइनन् तर न्यायको प्रक्रियालाई सफलतामा पुराउन बिभिन्न संघ सस्थाहरुले शान्ति स्थापनाको बास्तबिक शर्त हो ।
संक्रमणकालीन न्यायको निरुपण गरेको उल्लेख गरेको छ तर यहाँ आफ्नै देशको भूमि छिमेकी मित्र राष्ट्र ठहरिएको भारत सरकारले कब्जा गर्दासमेत आजको नेपाल सरकारले भारतसँग कस्तो योजनाका साथ कदम चाल्ने हो यो तत्काल आम नागरिकले बुझ्ने भाषामा कारबाही अघि बढाएको हेर्न चाहेका छन् । आम नागरिकहरुले अब सिमामा बास्तवमा नेपाल सरकारले नेपाली सुरक्षा निकाय, त्यसमध्यको अब्बल मानिएको नेपाली सेनाको पूर्ण अधिकार रहने भनी नेपाली सेनालाई सिमा सुरक्षाको प्रमुख जिम्मेवारी दिएर परिचालन गरिएन भने भविष्यमा भारतले महाकालीको कालापानी मात्र होइन् पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्म कब्जा गर्नेछ । नेपालमा हुँदै आएका बिभिन्न राजनीतिक घटनाक्रमको बिश्लेषण गर्छु भन्नेहरु नेपालमा कमी छैनन् तर नेपालको सिमाना भारतले रातारात सार्दासम्म हामी आफै सधै निदाएर बसेका छौँ, किन वास्ता गरोस् अन्य राष्ट्रले ?
कहिले हो नेपाल सरकारले बिश्वसामु बिश्वलाई बिश्वस्त पार्न सक्ने आफ्नो देशका नागरिक मात्र नभएर नेपालमा आउने अन्य देशका पर्यटक पाहुनासमेत हामी अब नेपालमा सुरक्षित छौँ भन्ने आधार तयार पार्ने ? नेपालमा अब के हुँदैछ किन न्यायालयको अधिकार खोसिँदैछ ? किन सुरक्षा निकायको जिम्मेवारी बोकेको डिउटीमा खटिएका पक्षलाई आफ्नो संगठनको नीति र बिधिबाट आफ्नै हैसियत लिएर बिबेक प्रयोग गर्दा स्वयं नेपालका नेता नै तगारो बनेका छन् ?
प्रहरी सामु साविती बयान दिएको अभियुक्त हरुलाई किन मुद्दा चलाउन दिइँदैन र उल्टो प्रहरीले कारबाही गरेन भन्ने आम नागरिकको सामु खाली प्रहरीको मात्र कमजोरी देखाइन्छ ? बिश्वले शान्ति सुरक्षा र अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरीलाई आफ्नै सरकारले किन कमजोर बनाइँदैछ ? यस्ता प्रश्नको उत्तर कोसँग माग्ने नेपाली नागरिकले ? नेपालको ब्युरोक्रेसी, सुरक्षा निकाय, न्यायालय सबैलाई अपांग बनाएको अबस्थामा अब किन पत्याओस् भारत सरकारले र किन नमिचोस् नेपालको भूमि ? सिमानामा खटाएका सुरक्षा निकायको अधिकार खोसेर सांसद सदस्यको हातमा पारिएको छ यही परिणाम आजको भारतको हेपाहा प्रबृत्ति हाबी हुनुको कारण ।
नेपालको न्याय क्षेत्र र सुरक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र स्वतन्त्ररुपमा आ–आफ्नो जिम्मेवारी पाएका ब्युरोक्रेसीहरुलाई स्वतन्त्र रुपमा कार्यसञ्चालन गर्न दिऔ गलत गर्ने कर्मचारी वा जिम्मेवारी पक्षलाई सिधै सेवाबाट बर्खास्त गर्ने नियमको पालना गरौँ, सबै मेरै हातमा लिन्छु भन्ने भाबना नेपाल सरकारका राज्य सञ्चालक र आजको न्याय मूर्तिहरु सर्बाेच्चको हाताभित्रै कुस्ती खेलेको अबस्थामा जनताले कस्तो न्याय पाउलान् नेपालमा राजनेताहरुले आज सर्वोच्च अदालतको प्रधानन्यायाधीशको अधिकार, प्रहरी प्रमुखको अधिकार, स्वास्थ्य प्रमुखको अधिकार, शिक्षा प्रमुखको अधिकार, कृषि प्रमुखको अधिकार र अन्य सार्बजनिक सुरक्षाको सबै अधिकार सरकारका प्रधानमन्त्रीहरुले कब्जा गरेको परिणाम आज निर्मला पन्तसमेतका कयौँ बालिकाहरुको बलात्कारपछि हत्या, अहिले हुँदै आएको श्रृंखलाबद्ध अपराध, सुनकाण्डजस्ता धेरै जघन्य अपराध स्वयं सरकारकै कारण बन्धकमा पारिँदै आएको छ, किनभने सुरक्षाको जिम्मेवारीमा बसेको सुरक्षा क्षेत्रले बोक्ने हतियार उसको हातको लाठी, उसले पालना गर्नुपर्ने नीति र उसको हैसियत सबै खोसिएको छ ।
दात निकाली दिएको सापले टोक्न सक्दैन, खुट्टा भाँचिदिएको मृग दगुर्न सक्दैन, सबै प्रकारको अधिकारहीन बनाएको अबस्था छ सुरक्षा कर्मीहरुलाई कसरी कसको आधारमा भोलीको काम कारबाहीको तालिका तयार पर्ने हो आफ्नो सिद्धान्त लागू गर्न नसकेको आरोप आफ्नै सहकर्मीहरुले भोग्दै आएका छन् भने नेतृत्वले आलोचना खेप्न बाध्य छन् । नेपालमा हुँदै आएको कानुनी ब्यबस्थाको बारेमा अन्तर्राष्ट्रिय अदालतको धारणा बाहिरिएको नेपालका कानुनबिद न्यायमूर्ति भनिनेहरु किन मौन रहन बाध्य छन् ?
किन प्रश्न उठाउन सकेका छैनन् ? त्यो हो नमक खाएपछि नमकको सोझो हुनैपर्दछ, त्यो हो आफ्नै बलबुंताबाट आ–आफ्नो बिभागको प्रशासन क्षेत्रबाट दक्षता हासिल गरेर सम्बन्धित क्षेत्रको जिम्मेवारीमा पुगेका छन् भने दक्षता र कार्य कुशलतामा सफल हुन्छन र सबै पक्षमा जानकार हुन्छन तर आज सबै नेताको झोले सबै बिभागमा यस्तै रोग पसेको छ । न्यायाधीशहरुले पार्टीको झण्डामुनि बसेर कस्तो न्याय दिन्छन् ? सुरक्षा प्रमुख त्यस्तै राजनीतिभक्त हुँदा कस्तो र कस्को मन जित्लान् र सुरक्षामा सफलता हासिल गर्ला र आम जनमानसको विश्वास लिन सक्लान् ? आज बाहिरबाट देख्नेले प्रहरी प्रशासन असफल भयो भन्नु हाम्रो मुर्खता हो किनभने आज प्रहरी प्रमुखहरुले आफ्नो क्षमता र योग्यताको आफै कदर गर्न सकेको अबस्था छैन ।
आफनो क्षमता हुँदा–हँुदै पनि प्रमोसनको लागि प्रधानमन्त्रीहरुलाई बृफकेस बुझाउन नसक्नेको कारण पदोन्नति भएको छैन भन्नेहरुको एउटा तप्काको जमातले भन्ने गरेको छ । जसले रिसवत बुझायो उसैको मात्र उन्नति हुन्छ तर त्यसको नैतिकता र दक्षता, इमानदारीताको कदर हुँदैन, मूल्यांकन हुँदैन पैसा भए पुगेको हुन्छ र आफूले बढुवा दिएको जुनै पनि बिभागको प्रमुखले आफूले भनेको मान्नैपर्ने बाध्यता परेको हुन्छ । त्यही बाध्यताको परिणाम हो आज सुरक्षा र न्याय क्षेत्रले र अन्य सबै क्षेत्रले आलोचना खेप्नुपरेको । परिणाम आज सम्बन्धित बिभागीय प्रमुख हरुले भोग्न बाध्य छन् र बदनामीको पगरी हात लागेको छ र नेपाल सरकारको काम कारबाहीको बारेमा बिश्वको जुनसुकै कुनामा रहेको नेपालीले नेपालले गरेको कमी कमजोरीको बफवाई सुन्न परेको छ ।
आजको नेपालको समसामायिक बिषयबस्तुको तुलना गर्नुपर्दा नेपालको आफ्नो धरातलाई स्वयं हामी नेपालीले छाडेको परिणाम नेपालको संस्कार संस्कृति, धार्मिक, शैक्षिक, आर्थिक, हाम्रो रीति–रिवाज, खानपान, फेसन, सबै पक्षमा धावा बोल्दैछ पश्चिमाहरुले । यी सबैमा असफल बनाउने यहाँको युवा जनशक्ति सबेै नेपालबाट बिदेशिन बाध्य पारेर नेपालमा खाली आफ्नो अधिकार स्थापित गराउने उद्देश्य लिएको छ भने छिमेकी भनाउँदाहरुले नेपालको सिमाना क्षेत्रमा आफूले कब्जा गर्ने निहित दैनिक रुपमा आफ्नो निरन्तरता दिँदै आएको छ ।
नेपालमा भारतले गर्दा सिमानाको अबस्था कहालीलाग्दो छ । सिमानामा बसोबास गर्ने नेपाली नागरिक आफै सिमा स्तम्भ भएर खडा हुँदाको परिणाम भारतीय सरकारको सुरक्षा फौजको गोली खाने र सिमाबिरुद्ध बोलेकोमा आफ्नो ज्यानको बलिदान दिएका छन् तापनि आफ्नो नागरिक आफ्नो देशको भूमि अर्काले कब्जा गर्दा त्यसको बिरुद्धमा बोल्ने नागरिकको नेपाल सरकारले कस्तो मूल्यांकन गर्नुपर्ने हो उसैलाई पत्तो छैन । भनिन्छ जो सरकार आउँछ बिगतलाई दोष दिन्छ, आफ्नो जिम्मेवारीबाट आफू पन्छिने गरेका कारण र सिमाबिद्हरुको सुझाबको वास्ता नगर्नुको कारण आजको अबस्था आएको हो ।