मुहार फेर्दै तुलसीपुरका सडक

बालाराम खड्का
तुलसीपुर, २० मंसिर । हरेक बर्ष टालटुलबाट क्षतविक्षत बनेको तुलसीपुर मुख्य बजारको क लाइन सडक प्रिमिक्स प्रविधिबाट पुनः कालोपत्रे थपिएको छ । सडक कालोपत्रे भएको करीब ३८ बर्षपछि बल्ल यो सडक पूर्णरुपमा फेरी कालोपत्रे थपिएको स्थानीयबासीले बताएका छन् । पक्की सडकमा पुरै एक लेयर थपी कालोपत्रे गरेसँगै स्थानीयवासी खुसी देखिएका छन् ।

‘मलाई याद भएसम्म यो सडक पहिलोपटक पूर्णरुपमा मर्मत हुँदैछ, यसअघि सडक डिभिजन कार्यालयले ठेक्का लगाएर कहिल्यै यसरी मर्मत गरेको थिएन’, तुलसीपुरकाके विपीचोकस्थित एग्रीनेपाल प्रालिका सञ्चालक माधव केसीले गोरक्षलाई भने । सडक समय–समयमा मर्मत नहुँदा किनाराहरु पनि घट्दै जानुका साथै बीचबीचमा खाडलै खाडल हुन थालेको थियो । ‘हामी अहिलेको मर्मतप्रति आशावादी देखिएका छौं’, तुलसीपुरका युवा व्यवसायी तथा नेपाली कांग्रेसका नगर सचिव विमल पौडेल भन्छन्– ‘सडक मर्मत नहुँदा निकै सास्तीमा हामीहरु थियौं ।’

सडक क्षतविक्षत हुँदा समेत विषयगत कार्यालय डिभिजन सडक कार्यालयले ध्यान नदिँदा सडकको अवस्था बेहाल भएको थियो । बर्षेनी पक्की भागसमेत साँघुरिँदै जाँदा फुटपाथमा हिँड्ने यात्रुहरुलाई समेत सास्ती खेप्नुपरेको थियो । कहिलेकाहिँ तुलसीपुर उपमहानगरपालिकाले टालटुल पार्ने गरे पनि यो गुणस्तरीय नहुँदा टालटुल पारेको केही दिनमै सडक भत्कने गरेको थियो । अहिले भने डिभिजन सडक कार्यालयले कम्तीमा पनि २ इन्च बाक्लो मिक्स हालेर सडक पूरै मर्मत गर्न थालेको छ । कतिपय स्थानमा सडक केही चौडासम्म पनि कालोपत्रे गरिएको तुलसीपुरबासीले बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको अमिलिया हुँदै तुलसीपुर र सल्यान रुकुम तथा रोल्पालाई समेत जोड्ने यो राजमार्ग पछिल्लो समयमा निकै व्यस्त सडकका रुपमा छ । यो राप्ती अञ्चलको व्यापारिक ट्रान्जिट तुलसीपुरलाई जोड्ने मुख्य सडक पनि हो । तुलसीपुर बजारको मुख्य कालोपत्रे सडक मर्मत केही सातादेखि जारी रहेको छ । सडक कालोपत्रे गर्नका लागि उपयुक्त मौसम पनि भएकाले कालोपत्रे केही बर्ष ढुक्क टिक्ने सडक प्राविधिकहरुले दावी गरेका छन् । स्मार्ट सिटीभित्रको मुख्य खाल्डाखुल्डी परेको सडक मर्मत सँगै चिटिक्क देखिएपछि नगरबासी पनि हौसिएका छन् ।

कतिपय स्थानीयबासीले चुनाव नजिकिँदै गएकाले नगरपालिकाले देखाउन यो काम थालेको पनि टिप्पणी गरेका छन् । तर यो काम तुलसीपुर उपमहानगरपालिकाले नभएर संघीय मातहतको डिभिजन सडक कार्यालयले थालेको हो । सडकभरी खाडल हुँदा कुरुप देखिएको बजारको सौन्दर्यसमेत यसले थपेको नगरवासीहरु बताउँछन् । उपमहानगरभित्रको मुख्य सडक कसले मर्मत गर्ने भन्ने यसअघि जहिले पनि समस्या हुने गरेको थियो ।

राजमार्ग वा सहायक राजमार्ग डिभिजन सडक मातहत र नगरस्तरीय सडकहरु उपमहानगरपालिकाको स्वामित्वमा रहन्छन् । त्यसैले यो सडक बर्षौदेखि अलपत्र जस्तै थियो । सडकले यसमा ध्यान दिन सकेको थिएन । व्यापक जनगुनासोपछि मात्रै सडकले यो अभियान थालेको नगरबासीहरुले बताएका छन् ।

सडक जीर्ण हुँदा विभिन्न समयमा यातायात सञ्चालनमा सकस हुने गरे पनि हाल भने सो सडकमा खाल्डाखुल्डीसँगै कालोपत्रे थपेका कारण सडक चिटिक्क भएको स्थानीयहरु बताउँछन् । सडक डिभिजन कार्यालय तुलसीपुरको बीरेन्द्र चोकदेखि सडकमा कालोपत्रे थप्न सुरु गरेको छ । ‘क’ लाइनको दुवैतर्फ अहिले निर्माणको काम भइरहेको छ ।

सडक मर्मत भएसँगै यातायात सञ्चालनमा सहज भएको चालकहरु बताउँछन् । ‘जीर्ण सडक मर्मत हुँदा सहज भएको छ, घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे सडक टलक्क भएको छ’, स्थानीयवासी शंकर शर्माले बताए । उनले जहिले पनि कुरुप देखिने सडक अहिले भने राम्रो भएको बताए । यसअघि सडकमा परेका खाल्डा खुल्डीहरु मात्र पुर्ने काम भए पनि सडक डिभिजन कार्यालयले यस बर्ष भने सबै कालोपत्रे सडकमा कालोपत्रे हालेर लेवल मिलाएका कारण सडक चिटिक्क देखिएको छ । सडक डिभिजन कार्यालयले तुलसीपुर बजार सँगसँगै सल्यान अमिलिया सडकखण्डदेखि सल्यानको सिमानासम्म सडक मर्मतको काम सुरु गरेको जनाएको छ ।

विभिन्न ६ फेजमा मर्मतका काम सुरु भएको डिभिजन कार्यालयले जनाएको छ । ‘सल्यानको चोरखोला सिमानासम्म सडक मर्मतका काम सुरु भएको सडक डिभिजन कार्यालयका इन्जिनियरले अमित सुवेदीले भने । सोहीअन्तर्गत तुलसीपुरमा सडक मर्मतको काम सुरु भएको उनले बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि बजारका विभिन्न सडक मर्मतको काम सुरु गरेको छ ।

बजारका विभिन्न स्थानमा जीर्ण सडकहरु मर्मतको काम सुरु भएको बताएको छ । ‘क’ लाइनको कालोपत्रे सडक सडक डिभिजन कार्यालयले गर्दैछ, अन्य नगरका सडकहरु भने पालिकाले मर्मत तथा कालोपत्रे गरिरहेको छ’, इन्जिनियर पवन योगीले भने । तुलसीपुर उपमहानगरपालिकाभित्रका अन्य सडकहरु सघन शहरी कार्यालयमार्फत पनि मर्मत हुन थालेपछि तीन दशकदेखि मर्मतको प्रतिक्षामा रहेका तुलसीपुरका सडकहरुले मुहार फेर्दैछन् ।