दाङ,१९ मंसिर । वाईवाई यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । कीर्तिपुरको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै लुम्विनी प्रदेशको टिमले उपाधि जित्न सफल भएको हो ।
जीतसँगै सात वर्षपछि आयोजना भएको प्रतियोगितामा प्रदेशगत रुपमा लुम्बिनी पहिलो पटक च्याम्पियन बन्न सफल भएको छ । पहिले टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा एक सय १२ रन बनाएर अलआउट भएको थियो । देव खनालको कप्तानीमा रहेको लुम्बिनीले सुरुवात राम्रो गर्न नसकेपनि उसका दुई खेलाडीले अर्धशतकीय पारी खेल्दा टिम बलियो स्थितिमा पुगेको थियो ।
खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको लुम्बिनीले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेको थियो । ओपनर आकाश त्रिपाठीले खाता खोल्न सकेनन् । त्यसपछि प्रज्वल थापा २४ रनमा पेभेलियन फर्किए भने विराट भण्डारी पहिलो बलमा आउट भएपछि लुम्बिनीले ८० रन बनाउँदा तीन विकेट गुमायो । दवावमा परेको लुम्बिनीले सम्हालिएर खोल्यो ।
लुम्बिनीका लागि कप्तान देव खनालले उत्कृष्ट खेल्दै ७० रनको पारी खेले । जसमा उनले ९५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै विशालविक्रम केसीले ५१ रन बनाए । उनले ६९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुनील भण्डारी ६, वासिर अहमद ४, कमल वली १ रनमा आउट भएपछि लुम्बिनीले एक सय ९६ रन बनाउँदा आठ विकेट गुमाएको थियो । दुर्गेश गुप्ताले ३२ रन बनाए ।
बलिङमा आकाश चन्दले तीन तथा हेमन्त धामी, शेर मल्लले दुई दुई विकेट लिए भने नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए । २ सय १३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदुरपश्चिम भने शुरुवाती चरणबाटै लय समात्न सकेन । खराव ब्याटिङका कारण सुदुरपश्चिम प्रदेश २८ ओभर तीन बलमा मात्र ९९ रनमा अलआउट भयो ।
सुदुरपश्चिमका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । पाँचौ नम्बरमा ब्याटिङका लागि आएका लोकेश बमको २५ रन नै सर्वाधिक बन्न पुगेको थियो । त्यस्तै ओपनर तथा कप्तान खडक बोहोराले २१ र नारायण जोशीको ११ रन बनाए । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा दुर्गेश गुप्ताले ३, अजय चौहानले ५ र मोहमद्ध हुसेनले २ विकेट लिए ।
लुम्बिनी प्रदेशले उपाधि जितेसँगै खेलाडी छनोट समिति संयोजक कैलाश रोकाले छनौट प्रतियोगितामा गरेको प्रदर्शन र प्रोफाईलका आधारमा गरिएको छनौटले शतप्रतिशत काम गरेको प्रतिक्रिया दिएका छन् । खेलाडी छनौट गर्दा विभेद भयो कि भन्ने खालमा प्रश्न उठेपनि खेलाडीहरुको प्रदर्शनले त्यसको जवाफ दिएको बताए ।
प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । फाइनल खेलअघि दाङमा केही दिनअघि मृत्यु भएका क्रिकेट खेलाडी प्रभाकर कुवँरको सम्झनामा खेलाडीहरुले एक मिनेट मौन धारण गरेका थिए । कुँवरले प्रतियोगिताका लागि दाङको देउखुरीमा भएको लुम्विनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङबाट सहभागी भएर खेल खेलेका थिए ।