दर्शनको गलत व्याख्या भयो : न्यायाधीश पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, १९ मंसिर । उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोख्रेलले दर्शनलाई उल्टो व्याख्या गर्दा गलत अर्थ लाग्ने गरेको बताएका छन् । व्याख्याकारले गहिरो अध्ययन गरी सही व्याख्या गर्नुपर्ने समेत उनले सुझाव दिए ।

राधा माधव समिति नेपाल तुलसीपुरको ११औँ वार्षिकोत्सव कार्यक्रम शनिवार तुलसीपुरमा सम्बोधन गर्दै न्यायाधीश पोख्रेलले न्याय निरूपणका सन्दर्भमा समेत कार्यविधिलाई सही ढङ्गले व्याख्या गर्न सकेन भने न्याय पाउने व्यक्ति र समुदायले अन्यायको भागेदार बन्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पूर्वीय दर्शनमाथिको चिन्तन, योग, ध्यान र पूर्वीय ज्ञानको पुनर्जीवन गराउनुपर्ने अवस्था आइपुगेको बताए । हाम्रा ज्ञान रैथाने भएकाले पनि यिनको महत्व झनै बढ्दै गएको बताए ।

राप्ती प्रदेश अस्पताल तुलसीपुरका अध्यक्ष पदमप्रसाद न्यौपाने सम्पत्ति आर्जनका नाममा प्रतिस्पर्धा र द्वन्द्व बढ्दै गएको बताए । पश्चिमी शैलीले प्रश्रय पाएको बताउँदै न्यौपानेले आचरण र व्यवहारलाई सुधार गर्नुपर्नेमा जोड दिए । राधा माधव समितिका केन्द्रीय सदस्य विष्णु पन्थीले आध्यात्मिक तत्वको खोजी भइरहेको बताए । तत्वज्ञान प्राप्तिका लागि जगतगुरु कृपालु महाराजका प्रचारक हरिदेव स्वामीले हाम्रो समुदायमा पनि संतसँग सुरु गरेको बताए ।

बालबालिकालाई कूलतबाट बचाउने उद्देश्यले डिभाइन क्लवमार्फत् सत्सङ्ग दिने गरेको बताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति एवं पत्रकार सुशील बस्नेतले समुदायमा नैतिकवान भन्दा चरित्रहीन मौलाउने हो कि भन्ने चिन्ता व्यक्त गरे । त्यसका लागि राधा माधव समितिले सञ्चालन गरेको नैतिक शिक्षा र व्यवहारले योगदान दिने बताए ।

उच्च अदालत बारका सचिव मधुसूदन गौतमले सबैलाई आध्यात्मिक ज्ञानको आवश्यक रहेको बताए । ज्ञान हराउँदै गएको र खराब आचरण बढ्दै गएको बताए । राधा माधव समितिको विद्वत समितिका संयोजक दिनेश डाँगीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन सत्रमा विद्वत समाज दाङका सहसंयोजक निर्मल नेपालीले कृपालु महाराज र उनकका प्रचारक स्वामी हरिदेवका बारेमा चर्चा गरेका थिए । राधा माधव समिति दाङको तुलसीपुरमा २०६८ सालदेखि सञ्चालनमा आएको छ ।