गोरक्ष समाचारदाता
दाङ, १६ मंसिर । राप्ती इन्जिनियरिङ कलेजमा ‘गुणात्मक शैक्षिक वृद्धिमा विद्यार्थीको भूमिका’ विषयक कार्यशला सम्पन्न भएको छ । डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इन्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल
इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूका लागि कार्यशला सम्पन्न भएको हो । राप्ती इन्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक भीमसेन गिरीको सभापति तथा घोराही उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
वडाध्यक्ष डिसीले राप्ती इन्जिनियरिङ कलेज यस वडाको प्राविधिक शिक्षा प्रदान कलेज भएकोले यस कलेजमा प्राविधिक शिक्षा अध्ययन गर्न आउने सम्पूर्ण विद्यार्थीहरूलाई वडा कार्यालयले दिने सहयोग सधैँभरि रहिरहने बताए । उनले राप्ती इन्जिनियरिङ कलेजले विद्यार्थीहरूको समग्र विकास गरी रोजगारीको सिर्जना गरेको र अबको वर्षहरूमा बजारमुखी गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।
राप्ती इन्जिनियरिङ कलेजका डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङका विभागीय प्रमुख इ. सन्तोष पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्रशासकीय अधिकृत धनेश्वर चौधरीले गरेका थिए । सो अवसरमा योगगुरु रवीन्द्र बस्नेतले विद्यार्थीमा हुनुपर्ने गुण, अनुशासन समाज र देशको लागि विद्यार्थीले कलेजप्रति गर्नुपर्ने कर्तव्य, दायित्वलगायतको बारेमा प्रशिक्षण दिएका थिए ।