अमरारज आचार्य
दाङ, १६ मंसिर । घोराही उपमहानगरका नागरिकले सहज रूपमा सेवा लिनसक्ने वातावरण बनाउन सुझाव दिएका छन् । उपमहानगरपालिका भएको लामो समय भए पनि सेवासुविधामा सुधार आउन नसकेको उनीहरूको भनाइ थियो । घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा आर्थिक वर्ष २०७८÷०७९ को प्रथम चौमासिक सार्वजनीक सुनुवाइ कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै विनोद केसीले विकास निर्माणका काम गर्दा योजना अनुसार काम गर्नुपर्ने बताए । सडक पिच गरेर नाला बनाउने कार्य भइराखेको हुँदा नाला बनाउँदा सडक फेरि बिग्रने भन्दै पहिला नाला बनाएर मात्र सडक कालोपत्रे बनाउनुपर्ने उनको सुझाव थियो । त्यसका लागि उपपहानगरपालिकाले विशेष ध्यान दिन आवश्यक रहेको बताए । ‘योजना छनोट गर्दा बस्ती स्तरसम्म पुगेर योजना छनोट गरिनुपर्छ’, उनले भने ‘तर त्यसो हुनसकेको छैन ।’
भवन निर्माण गर्दा नक्सा पास गर्नका लागि नागरिकले धेरै रकम तिर्नुपर्ने गरेको बताए । यसलाई सबै नागरिकको पहुँचसम्म पु¥याउन सस्तो बनाउनुपर्ने उनको भनाइ थियो । नगरका स्वास्थ्य संस्थामा समयमै औषधी पठाउने व्यवस्था मिलाउन समेत उनले आग्रह गरे । समयमै औषधी नपठाउँदा नागरिकले धेरै समस्या भोग्नु परेको उनको भनाइ छ । टोल विकास संस्थाहरूलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
सानुनारायण अधिकारीले उपमहानगरपालिकाबासी भए पनि नागरिकले सहज रूपमा सेवा पाउन नसकेको बताए । ‘उपमहानगर भए पनि नागरिकले उपमहानगरपालिकाबाट पाउनुपर्ने सेवासुविधा पाउन सकेनन्’ उनले भने ‘नगर क्षेत्रमा रहेका खाडलका कारण दुर्घटना हुँदा धेरै नागरिकले ज्यान गुमाउनु परेको छ ।’ नगर क्षेत्रमा रहेका खाडल पुर्नका लागि नगरपालिकाले ध्यान दिनुपर्ने बताए । जनप्रतिनिधिहरूले आफूले चुनावमा गरेका वाचा पूरा गर्न नसकेको अधिकारीले बताए ।
‘चुनावी घोषणापत्रमा भएका कुरा कार्यान्वयन हुन सकेनन्’, उनले भने, ‘विकास निर्माणका कार्यले गति लिन नसकेको भन्दै विकासमा कामलाई तीव्रता दिनुपर्छ ।’ घर निर्माण गर्दा सडकमा सामग्री राखेर बाटोमा अवरोध गर्ने कार्य भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न उपमहानगरपालिका लाग्नुपर्ने उनले बताए ।
नागरिक समाज दाङका हरिप्रसाद पाण्डेले सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको सहभागिता कम भएको बताए । सार्वजनिक सुनुवाइमा नागरिकको सहभागिता उल्लेख्य हुनुपर्ने उनको भनाइ थियो । दाङलाई मरभूमिकरण हुनबाट बचाउन खोलाहरूमा हाइड्याम निर्माण गरिनुपर्ने बताए । नगरपालिका हुँदा सुरु गरिएको चक्रपथलाई नयाँ सिमाङ्कन सहित अगाडि बढाउन समेत उनले आग्रह गरेका थिए । यो कार्यले उपमहानगरपालिकालाई ग्रामीण बस्तीलाई सहरसम्म जोड्न सहयोग पु¥याउने उनले बताएका थिए ।
घोराही–१८ का सुरेश बुढा मगरले बिग्रिएको गाडीमा तेल हालेको विषयको बाहिर आएको समाचारका बारेमा यर्थाथ जानकारी गराउनु पर्ने बताए । नगरबासीले तिरेको करको दुरुपयोग हुन नहुने भन्दै दोषीलाई कारबाही गर्न माग गरे । घोराही उपमहानगरपालिका वडा नं १८ को कार्यालय निर्माण सम्पन्न भए पनि वडा कार्यालयबाट सेवा सुरु हुन नसकेको भन्दै तत्काल वडा कार्यालयबाटै कार्यवाही सञ्चालन गरिनुपर्ने बताए । ‘हामी कहिलेसम्म अरुको वडामा गएर सेवा लिनबाट छुटकारा पाउँछौँ ?’ उनले भने ।
घोराही–१४ का अनील शेर्पाइलीले व्यवसायीहरूले तिर्नुपर्ने दोहोरो कर अन्त्य हुनुपर्ने बताए । घोराही–१० सौँरीका शोभाराम चौधरीले बाटो पिच गर्दा पोल नसारिँदा समस्या भएको बताए । बाटो बनाउने ठेक्दार तथा विद्युतले पोल नसार्दा समस्या हुने गरेको बताए । कार्यक्रममा बोल्ने अन्य सहभागीहरूले ग्रामीण स्तरसम्म पुग्ने सडक मर्मत गर्न उपमहानगरपालिकाले ध्यान दिनुपर्ने, नागरिकको आवश्यकताको आधारमा योजना छनोट गरिनुपर्ने, नागरिकलाई सूचना सहज रूपमा प्रदान गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
नागरिकबाट आएका प्रश्नको उत्तर दिँदै कार्यवाहक उपप्रमुख सीता सिग्देल न्यौपानेले योजनाको माग धेरै तर बजेट कम हुँदा समस्या हुने गरेको बताइन् । ‘सबैको आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले थोरै–थोरै भए पनि बजेट विनियोजन गर्ने गरेका छौँ’, उनले भनिन् । सम्पूर्ण नगरबासीको सहयोगले नै नगरको विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले टुक्रे योजनाहरू हुँदा काम गर्न समस्या हुने गरेको बताए । टुक्रे योजनाभन्दा पनि योजना बनाएर विकास गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिइने समेत उनले बताए । बिग्रिएको गाडीमा तेलको प्रयोग बारेका बढी चर्चा भएको बताए । एक महिना मात्र उक्त गाडी सञ्चालन हुन नसकेको बताए । कुपन बुझ्नेले गल्ती गरेको केसीले बताए । दोषीलाई कारबाही हुने उनले प्रतिबद्धता समेत जनाए । त्यस अवसरमा वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगी, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेललगायतले आ–आप्mनो विषयगत प्रश्नको उत्तर दिएका थिए ।
कार्यक्रममा नागरिकबाट सर्भेक्षण गरेर ल्याइएको प्रतिवेदन ग्रामीण उत्थान केन्द्रका पैरबी अधिकृत शिवा चौधरीले प्रस्तुत गरेकी थिइन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म गरेका कार्यका बारेमा सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी गराएका थिए । बासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् ।