विवाहले व्युँझाएको बजार

खेमराज रिजाल
दाङ, १६ मंसीर । ‘आज मलाई तीनवटा विवाहको निम्तो थियो, भिङ्ग्रेली भिलेजमा एक आफन्तको विवाहको निम्तो मानेर अर्को बिहेमा अमराईको फनपार्कमा जाँदै छु’, गत सोमवार घोराहीमा भेटिएका केशवकुमार शर्माले भनेका थिए । त्यो दिन मात्रै भिङ्ग्रेली भिलेज होटलमा ५ वटा विवाहका कार्यक्रमहरू थिए ।

निम्तालुलाई आफ्नो स्थान पहिल्याउनै मुस्किल थियो । तुलसीपुर उपमहानगरपालिकाका टोपबहादुर डाँगीले पनि सोही दिन ३ वटा विवाहको निम्तो मान्न भ्याए । ‘हामी सबै परिवार बाँडिएर विवाहको निम्तो मान्न फरक–फरक ठाउँमा पुगेका थियौँ’—डाँगीले गोरक्षसँगको भेटमा भनेका थिए । ‘लाग्थ्यो सायद हरेक नागरिकका हातमा त्यो दिन कुनै न कुनै आफन्तबाट विवाहको निम्तो आएको थियो, विवाहका धेरै कार्यक्रम सम्पन्न गर्नका लागि स्पेश अभावका कारण हामीले कतिपय पार्टीहरूको अर्डर समेत लिन सकेका थिएनौँ’, तुलसीपुर दोघरे स्थित मेट्रो लजका सञ्चालक इन्द्र शाहले भने ।

दोघरेकै तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल भरिभराउ थियो । घोराहीको सिटी प्लाजादेखि मालाइन होटलसम्म विवाहका कार्यक्रम तथा भोजहरू चलिरहेका थिए भने धारापानीदेखि अम्बिकेश्वरी मन्दिरसम्म दर्जनौँ विवाहका कार्यक्रमहरू थिए । अम्बिकेश्वरी मन्दिरमा त सबैभन्दा बढी वैवाहिक कार्यक्रमहरू थिए । सडक किनारामै टेण्ट टाँगेर विवाह सम्पन्न गर्नेहरू पनि धेरै देखिएका थिए । ‘एकिन तथ्याङ्क त कतै पाइँदैन तर सम्भवतः दुइ वर्षपछि विवाहको सबैभन्दा बढी रमझम भएको सायद सोमवारकै लगन थियो’, भिङ्ग्रेली भिलेजका एक जना कर्मचारीले भने ।

लगातार दुई वर्षसम्म भयावहकै रूपमा रहेको कोरोना भाइरसको संक्रमण मत्थर भएपछि जिल्लामा विवाहका कार्यक्रमहरू धमाधम हुन थालेका छन् । संक्रमणकैबीच केही विवाह सम्पन्न भए पनि भोजभतेर गरेरै विवाह गर्ने चाहनामा रहेकाहरूलाई यो एउटा उचित मौसम बनेको छ । कोरोना संक्रमणका कारण जारी लकडाउनमा विवाहलाई कुनै रोकतोक नभए पनि सरकारले २५ जनाभन्दा बढी भोजभतेरमा सहभागी हुन रोक लगाएपछि भोजभतेर गर्नुपर्ने खालका विवाहहरू अहिले खुल्दै छन् । विवाहका लागि सबैभन्दा उपयुक्त हुने मंसिर महिनाभर जिल्लाका सबै होटल तथा पार्टी प्यालेसहरू अग्रिम बुक भइसकेको सञ्चालकहरूले बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनले थलिएको बजार पछिल्लो समयमा विवाहकै कारण व्युँझन थालेको अनुभव व्यवसायीहरूले सुनाए । सुनचाँदी व्यवसायी, कपडा व्यवसायी, फेन्सी व्यवसायीदेखि कस्मेटिक्स र सौन्दर्भ प्रसाधन व्यवसायीहरू पनि यो चहलपहलले उत्साहित भएका छन् । उनीहरूले करिब दुई वर्ष कोरोनाका कारण निदाएको बजार क्रमशः व्युँझन थालेको अनुभूति गरेका छन् ।

‘औषत व्यापारभन्दा मंसिर महिनामा कम्तिमा ६० प्रतिशत व्यापार माथि उक्लेको छ’, तुलसीपुर स्थित अरुण वस्त्रालयका सञ्चालक अनुपकुमार श्रेष्ठ (रामु)ले गोरक्षलाई भने । खुला सीमा नाकाका कारण अधिकांशको किनमेल भारतीय सीमा बजारमा हुने गरे पनि केही व्यापार भने जिल्लामै बढेको उनको अभिव्यक्ति थियो । यसले आफूहरूमा व्यापार फेरि चलायमान हुने आशा पलाएको उनको अभिव्यक्ति थियो ।

‘हामी दुई वर्षदेखि बन्द प्रायः थियौं, बल्ल कोरोना मत्थर भएपछि हाम्रो व्यवसाय केही चलायमान हुन थालेको छ’, तुलसीपुरको एक व्युटिपार्लरकी सञ्चालिका भन्छिन्, ‘कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित सौन्दर्य व्यवसायीहरू भएका थिए ।’ अन्य व्यापार व्यवसाय सामाजिक दूरी कायम गरेर सञ्चालन भइरहे पनि सौन्दर्भ व्यवसाय (व्युटिपार्लरहरू) भने पूरै दुई वर्ष ठप्प रहेको व्यवसायीहरूले बताएका छन् ।

सुनचाँदी तथा गहना पसलहरूमा पनि उल्लेख्य मात्रामा भीड बढेको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष विवाहको सिजनमा कारोबार राम्रो भएको सुनचाँदी व्यवसायीहरूले बताएका छन् । ‘कोरोनाको अवधिमा भन्दा हामी २५ प्रतिशतले कारोबार बढाएका छौँ, यद्यपि हामी पिक व्यापारको अवस्थामा भने छैनौँ’, तुलसीपुर स्थित न्यू विजय सुनचाँदी पसलका सञ्चालक लोकबहादुर स्वर्णकारले भने । बजारमा विवाहका कारण अत्यधिक भीड बढे पनि सुनचाँदीका पसलहरूमा भने त्यस्तो उत्साहजनक भीड नरहेको उनको अभिव्यक्ति थियो ।

लयमा फर्कन थाल्यो बजार

सुनचाँदी, शृंगार, कपडा पसल र होटल पार्टी प्यालेस मात्र नभएर पछिल्लो समयमा बजार लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन् । मुलुकका आधाभन्दा बढी नागरीकले कोरोना भाइरस विरुद्धको दुवै डोज भ्याक्सिन लगाइसकेको र विश्वबाटै कोरोना भाइरसको संक्रमण न्यून भएका कारण बजार लयमा फर्कन थालेको हो ।

होटल, रेष्टुरेण्ट, फुटसल, जिमखाना, सिनेमा हल, स्विमिङ पुल, पर्यटन, धार्मिक स्थलहरू, विद्यालयहरू, सार्वजनिक यातायात सबै सञ्चालनमा आएसँगै मुलुकको बजार क्रमशः लयमा फर्कन थालेको छ । यद्यपि नागरिकको क्रय शक्ति माथि उक्लन अझै केही समय लाग्न सक्ने व्यवसाय विश्लेषकहरूले बताएका छन् ।

‘हामी आशावादी त छौँ तर बजार पूर्ववत रूपमा लयमा फर्कन अझै कम्तिमा एक वर्ष कुर्नुपर्ने छ’, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसी भन्छन्, ‘किनकि हाम्रो क्रयशक्ति कमजोर भइसकेको छ ।’ यदि फेरि संक्रमण फैलिएर लकडाउनको सामना गर्नु परेन भने बल्ल अर्थतन्त्र लयमा फर्कन एक वर्ष लाग्ने उनको अनुमान थियो । पहिलेको व्याकप सकिइसकेको अवस्थामा बजारलाई लयमा फर्काउन अझै केही समय धैर्य गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो । हरेक नागरिकहरूको क्रय शक्ति वृद्धि नहुँदासम्म व्यापारिक महोत्सव, मेला, पर्यटकीय महोत्सव तथा विवाह भोजभतेरले खासै अर्थ नराख्ने पनि उनले बताए ।