दाङ, ५ मंसिर । देशमा गम्भीर प्रतिगमनको खतरा रहेको नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बताएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिका कारण गम्भीर खालको प्रतिगमनको खतरा देखिएको बताएका हुन ।
प्रगतिशील पत्रकार संघ दाङले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले केपी ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताए । उनले २०१७ र २०५९ साल राजाबाट भएको जस्तै प्रतिगमनको खतरा अहिले ओलीका गतिविधिका कारण निम्तिने खतरा बढेको बताए । त्यसको पुष्टि केपी शर्मा ओलीका पछिल्ला गतिविधिहरुबाट देखिएको उनको तर्क थियो ।
कम्युनिष्ट पार्टीको अध्यक्षले २÷२ पटक संसद भंग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरुले उनी नेपाललाई हिन्दुराष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रष्य दिने काम गरिरहेको आरोप लगाएका हुन् । मध्याअवधि निर्वाचनको बहानामा संसद भंग गर्ने देखावटी खेल मात्र भएको उनको भनाइ थियो ।
‘मध्याअवधि निर्वाचनको बहानामा संसद भंग गर्ने देखावटी खेल मात्र हो । भित्री रहस्य हिन्दु राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’, महामन्त्री सिंहले भने– ‘त्यसको पुष्टि दुई–दुई पटक संसद भंग गर्ने, पशुपतिनाथ मन्दिरमा सुन चढाएर पूजा गर्नेदेखि चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका सक्रियताले पुष्टि गर्छ ।’ उनले केपी शर्मा ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दु राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको बताए । उ
नका गतिविधिले गणतन्त्रसँगै धर्मनिरपेक्ष राष्ट्र खतरामा परेको महामन्त्री सिंहको भनाइ थियो । कार्यक्रम प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको थियो । बसन्त पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कृष्ण आचार्यले गरेका थिए ।